Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचिनियाँ लगानीका आयोजनाको बिजुली भारतले खरिद नगर्ने

चिनियाँ लगानीका आयोजनाको बिजुली भारतले खरिद नगर्ने


काठमाडौँ ।

भारतले नेपालमा चिनियाँ लगानीमा निर्माण भएका कुनै पनि जलविद्युत् आयोजनाका विद्युत् खरिद नगर्ने भएको छ । नेपालमा जलविद्युत्मा चिनियाँ लगानी बढिरहेको बेला भारतले चीनको लगानीमा उत्पादित विद्युत् खरिद नगर्ने कार्यविधि सार्वजनिक गरेको छ । अन्तर्देशीय विद्युत् व्यापारसम्बन्धी निर्देशिका कार्यान्वयन गर्न भारतले उक्त कार्यविधि सार्वजनिक गरेको हो ।

भारतले जारी गरेको कार्यविधिमा चीनको नाम उल्लेख नगरे पनि आफूसँग विद्युत् व्यापार सम्झौता भएका देशका लगानीकर्ताहरुले उत्पादन गरेको बिजुली मात्रै आफ्नो देशमा खरिद गर्न दिने उल्लेख छ । भारतले बंगलादेश, भुटान र नेपालसँग मात्र ऊर्जा सहकार्यको समझदारी गरेको छ ।

चीनसँग भारतको विद्युत् व्यापार सम्झौता छैन । त्यस्तै तेस्रो देशको व्यक्ति तथा कम्पनीको लगानी तथा नियन्त्रणमा रहेका परियोजनाबाट उत्पादित बिजुली पनि भारतले नकिन्ने प्रस्ट पारेको छ । भारतको उक्त नीतिको कारण नेपालका कैयौँ जलविद्युत् आयोजनाहरु भारतीय कम्पनीहरुलाई सुम्पिनुपर्नेछ । किनकि नेपालमा अहिले नै वर्षायाममा बिजुली खेर गइरहेको छ भने आगामी आर्थिक वर्षदेखि हिउँदमा पनि प्रशस्त बिजुली उत्पादन हुनेछ । नेपालले अब उत्पादित सबै बिजुली बिक्री गर्नुपर्नेछ ।

‘स्वदेशी खपत छैन’, नेपाल विद्युत् प्राधिकरणका एक अधिकारीले भने, ‘भारतलाई बिजुली बिक्री गर्नुको अर्को विकल्प छैन । तर, चिनियाँ लगानीका आयोजनाका बिजुली खरिद नगर्ने नीतिले भारत नेपालका जलविद्युत्मा जबर्जस्ती हात हाल्ने योजनामा रहेको प्रस्ट भएको छ । तर, भारतले जारी गरेको कार्यविधिले भने बिजुली बिक्री गर्न नेपाललाई बाटो भने खुलेको छ ।’

नेपालको बिजुलीलाई भारतीय पावर एक्सचेन्ज मार्केटमा प्रवेश दिने नेपाल र भारतको सहमति भएको दुई वर्षपछि भारतले उक्त कार्यविधि ल्याएको हो । नेपाल र भारतका ऊर्जा सचिवस्तरको २०७५ माघ ११ गते भएको बैठकमा उक्त सहमति भएको थियो । भारतले कार्यविधि नल्याउँदा सहमति कार्यान्वयन आउनसकेको थिएन ।नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतको नोडल एजेन्सी नटीपीसी विद्युत् व्यापार निगमसँग प्राधिकरणले बिजुली भारत पठाउने समझदारी गरिसकेको थियो ।

तर, कार्यविधि जारी नगर्दा रोकिएको थियो । नेपालले पटक–पटक कार्यविधि ल्याएर खेर गएको बिजुली ल्याउन भारतलाई आग्रह गर्दै आएको थियो । भारतमा गर्मीयाममा धेरै बिजुली चाहिन्छ भने नेपालमा गर्मीमा धेरै उत्पादन र जाडोमा कम उत्पादन हुन्छ । यसले गर्दा नेपालले गर्मीमा बिजुली निर्यात र हिउँदमा आयात गर्नुपर्ने बाध्यता छ ।भौगोलिकलगायतका कारणले नेपालले तत्काल चीनसँग विद्युत् व्यापार सम्झौता गर्नसक्ने अवस्था छैन । त्यही हेरेर भारतले नेपालसँगको बिजुली खरिदमा कडाइ गरेको थियो ।

भारतले यसअघि त योभन्दा पनि बढी कडाइ गर्दै आफ्नो देशबाहिरबाट बिजुली खरिद गरेर ल्याउँदा उक्त बिजुलीमा भारत सरकार वा भारतीय कुनै सार्वजनिक निकायको स्वामित्वमा रहेको वा उनीहरुले लगानी गरेको वा ५१ प्रतिशत वा सोभन्दा बढी स्वामित्व भएको कुनै निजी कम्पनीको बिजुली मात्र खरिद गर्ने उल्लेख गरेको थियो । उक्त प्रावधानभन्दा अहिलेको कार्यविधि केही नरम भए पनि चिनियाँ लगानी नेपालको जलविद्युत्मा हुन नदिने योजनामा भारत रहेको प्रस्ट देखिन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया