Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारम्याद गुज्रिएको दाल बेच्ने जैसानीलाई जरिबाना

म्याद गुज्रिएको दाल बेच्ने जैसानीलाई जरिबाना


विराटनगर ।
बजार अनुगमनका लागि निस्किएको टोलीले म्याद गुज्रिएको रहर दालको प्याकेटमा नयाँ लेबल टाँसेर बिक्री गर्ने स्थानी एउटा फर्मलाई तीन लाख रूपैयाँ जरिबाना गरेपछि अहिले बजारमा तरङ्ग आएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले एक्कासि विराटनगर बजारमा अनुगमन गर्दा जैसानी ट्रेड कर्न्सनले म्याद गुज्रिएको झण्डै ४० टन रहर दाल भण्डारण गरिएको अवस्थामा फेला परेपछि अनुगमन टोलीले गोदाममा सिलबन्दी समेत गरेको छ । दालको बोरामा म्याद गुज्रिने मिति सन् २०१५ उल्लेख गरिएको अवस्थामा उक्त परिमाणको दाल फेला परेको थियो ।

उक्त दाल आयातकर्ता जैसानी ट्रेड कन्सर्नका सञ्चालक निखिल जैसानीले म्याद गुज्रिएको दालको बोरामा सन् २०२० मा प्याकिङ भई सन् २०२२ मा म्याद गुज्रिने भनी अर्को स्टिकर टाँसेर बिक्रेताहरूलाई बिक्री गरिरहेको उजुरीका आधारमा अनुगमन टोलीले अनुगमन गर्दा ठूलो परिमाणको म्याद गुज्रिएको दाल फेला परेको अनुगमन टोलीले दाबी गरेको छ । स्रोतका अनुसार वाणिज्य कार्यालयले विराटनगर–११ स्थित नयाँ गुद्रीको ओम शान्ति किराना पसलमाबाट नक्कली स्टिकर टाँसेर व्यवसायी जैसानीले म्याद गुज्रिएको दाल बिक्री गराएको सूचनाका आधारमा उक्त दाल फेला परेको हो ।

बजार अनुगमनका क्रममा म्याद गुज्रिसकेको मिति उल्लिखित प्रतिबोरा १५ किलोका दालको प्याकिङ बोरा बिक्रीवितरण गरेकाले वाणिज्य कार्यालयले दाल आयात कर्ता निखिल जैसानीलाई तीन लाख रूपैयाँ जरिबाना गरेको छ । कारबाही प्रक्रिया पूरा नहुँदासम्मका लागि भन्दै वाणिज्यले दाल भण्डारण गरिएको गोदामको सटरमा सिलबन्दी समेत गरेको छ । जैसानी ट्रेड कर्न्सनका नाममा सञ्चालक निखिल जैसानीले २०५७ सालमा नै ३००२१४५११ मा मुअकर दर्ता प्रक्रिया पूरा गरेको देखिएको छ । तर उक्त फर्मका सञ्चालक जैसानीले अहिलेसम्म पनि सरकारलाई एक पैसा पनि राजस्व समेत नबुझाएको अर्को रहस्य पनि सार्वजनिक भएको छ ।

चालू आर्थिक वर्षको पुस मसान्तमा उक्त फर्मका सञ्चालक जैसानीले आफनो कारोबार विवरणमा एक करोड सात लाखको व्यावसायिक कारोबार देखाएका छन् । उनले बुझाएको आय विवरणमा तीन लाख चार हजार मात्र करयोग्य आय भन्दै सरकारले चार लाखसम्म आयलाई कर छुटको व्यवस्था गरेको सुविधालाई प्रयोग गरी कर नबुझाई अवैध व्यापारमा गरिरहेका छन् । जैसानीले दाल तथा अन्य खाद्य सामग्रीका लागि प्रयोग गर्दै आएको ओमशान्ति किराना पसलका सञ्चालक समेत राजस्व ठगी प्रकरणमा सम्लग्न भएको हुनसक्ने भन्दै उक्त किराना पसल र त्यसका सञ्चालक पनि राजस्वको निगरानीमा रहेको स्रोतको दाबी छ ।

दाल आयातकर्ता जैसानी कन्सर्नलाई उपभोक्ता संरक्षण ऐनको दफा १६ (क) को (२) तथा १६ (ठ) बमोजिम पुराना वस्तुलाई नयाँ भनी बिक्रीवितरण गरेको तथा उपभोग गरिसक्नुपर्ने अवधि व्यतित भइसकेको उपभोग्य वस्तु वा उपभोग गर्न नमिल्ने वस्तुमा नयाँ लेबल लगाई बिक्रीवितरण गरेको आरोपमा कारबाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । साथै उनले गोदामलाई सिलबन्दी गरी सात दिनभित्र जरिबाना रकम बुझाउन वाणिज्य कार्यालयले आदेश दिएको छ ।

दाल प्रकरण सार्वजनिकपश्चात जैसानी अहिले राजस्वको निगरानीमा समेत परेका छन् । उनको अन्य व्यवसायका सम्बन्धमा समेत खोजी सुरु गरिनुपर्ने व्यवसायीहरूले बताएका छन् । पछिल्लो समय विराटनगर क्षेत्रमा सञ्चालनमा आएका व्यवसायबाट व्यवसायीले अपेक्षाअनुसारको राजस्व नबुझाएपछि त्यस सम्बन्ध व्यापक अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया