Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकर्जाको पुनर्तालिकीकरण गरिसक्नुपर्ने अवधि आगामी असार मसान्तसम्म

कर्जाको पुनर्तालिकीकरण गरिसक्नुपर्ने अवधि आगामी असार मसान्तसम्म


काठमाडौं ।
कर्जाको पुनर्तालिकीकरण गरिसक्नुपर्ने अवधि आगामी असार मसान्तसम्म तोकिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सञ्चालनमा रहेका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु समेतको नाउँमा परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम बुझाउन नसकेको कारणले २०७७ पुस मसान्तसम्म कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न असमर्थ ऋणीहरुबाट शर्तहरुको अधीनमा रही बुझाउनुपर्ने ब्याजको पाँच प्रतिशत रकम असुलउपर गरी २०७८ असार मसान्तभित्र कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न उपर्युक्त व्यवस्थाले बाधा पुगेको नमानिने परिपत्रमा भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिएका कर्जामध्ये कोभिड–१९ बाट अति तथा मध्यम प्रभावित क्षेत्रमा प्रदान गरिएको कर्जाको हकमा ऋणीको परियोजना वा व्यवसायमा परेको प्रभाव तथा वित्तीय अवस्थाको मूल्यांकन गरी ऋणीको लिखित कार्ययोजनाअनुसार भविष्यमा उद्योग व्यवसाय सञ्चालनमा आई ऋण चुक्ता हुनसक्नेमा बैंक तथा वित्तीय संस्था आश्वस्त भएमा सम्बन्धित ऋणीको अनुरोधमा एक पटकको लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असुलउपर गरी शर्तहरुको अधीनमा रही कर्जाको पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सकिने व्यवस्था रहेको थियो ।

यस्तो पुनर्तालिकीकरण वा पुनर्संरचना २०७७ पुस मसान्तभित्र गरिसक्नुपर्ने, यसरी पुनर्तालिकीकरण वा पुनर्संरचना गर्दा २०७६ पुस मसान्तमा सक्रिय कर्जाहरुको लागि न्यूनतम पाँच प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गरी असल वर्गमा वर्गीकरण गर्न सकिने, यसरी कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका स्पष्ट आधारहरु प्रत्येक कर्जा फाइलमा संलग्न हुनुपर्ने, स्पष्ट आधारविना पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएको पाइएमा सोहीअनुसार कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था रहेको समेत परिपत्रमा उल्लेख छ ।

परिपत्रअनुसार संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट बढीमा पाँच प्रतिशतसम्म विद्युतीय कारोबार प्रवद्र्धनका लागि खर्च गर्नुपर्नेछ । परिपत्रअनुसार कुनै महिनामा ब्याजदर अन्तरको सीमा नाघेमा सोही तीन महिनासम्ममा सीमाभित्र ल्याउनुपर्नेछ ।

ब्याजदर अन्तरको सीमा उल्लङ्घन गर्ने संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार कारबाही गर्ने समेत परिपत्रमा उल्लेख छ । परिपत्रअनुसार वाणिज्य बैंकले स्वीकार गर्ने स्वदेशी मुद्राको कल निक्षेपको अंश कुल स्वदेशी निक्षेप दायित्वको १० प्रतिशत र विकास बैंक र फाइनान्स कम्पनीहरुले स्वीकार गर्ने कल निक्षेपको अंश कुल निक्षेप दायित्वको १५ प्रतिशतभन्दा बढी कायम गर्न पाइनेछैन ।

आज आठ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिक्री हुने : नेपाल राष्ट्र बैंकले आज सोमबार पुनः आठ अर्ब १३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि यही फागुन १० गते पनि राष्ट्र बैंकले दुई अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति फागुन १८ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सहभागी हुन पाउनेछ । बिक्री गरिने कुल ट्रेजरीमध्ये २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको तीन अर्ब १३ करोड रुपैयाँ रहेको छ । यी ट्रेजरीको परिपक्व हुने अवधि भने क्रमशः २०७७ चैत १७ गते र २०७८ जेठ १८ गते तोकिएका छन् । राष्ट्र बैंकका अनुसार आज बिक्री हुनलागेको सबै ट्रेजरी पुरानो नवीकरणअन्तर्गतको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया