Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारथप आठ सय ४१ घरपरिवार भूकम्पको लाभग्राही सूचीमा

थप आठ सय ४१ घरपरिवार भूकम्पको लाभग्राही सूचीमा


काठमाडौँ, पुस २४
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप २१ हजार ६ सय जना भूकम्पपीडितको गुनासो सम्बोधन गरेको छ । बुधबार बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले उनीहरुको गुनासो सम्बोधन गरेको हो । प्राधिकरणका अनुसार आठ सय ४१ पुनर्निर्माण लाभग्राहीमा समावेश भएका छन् । त्यस्तै, आठ सय ३६ घर परिवार भूकम्पपीडित प्रवलीकरण लाभग्राहीमा सूचीकृत भएका छन् भने १८ हजार दुई सय घरपरिवारको गुनासोलाई गैरलाभग्राही कायम गर्ने निर्णय प्राधिकरणले गरेको छ ।

प्राधिकरणका अनुसार स्थलगतरुपमा प्राप्त तथ्याङ्कलाई प्राधिकरणले तोकेको मापदण्डका आधारमा विश्लेषण गरी पुनर्निर्माण, प्रबलीकरण लाभग्राही वा गैरलाभग्राही कायम गर्ने काम गरेको हो । प्राधिकरणका अनुसार यसअघि तीनपटक बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले एक लाख १३ हजार गुनासो सम्बोधन गरी नतिजा निकालेको थियो । त्यसमा ११ हजार पाँच सय ९९ गुनासोकर्ता पुनर्निर्माण लाभग्राही र पाँच हजार ६८५ गुनासोकर्ता प्रवलीकरण लाभग्राही कायम भएका थिए ।

दोस्रो चरणको छुट तथा पुनः जाँच सर्भेक्षणअन्तर्गत एक लाख ८९ हजार गुनासो सङ्कलन गरिएको थियो । त्यसमध्ये बाँकी ५४ हजार गुनासोको इञ्जिनीयरले विश्लेषण गरिरहेको प्राधिकरणले जनाएको छ । विश्लेषण सकिएपछि ती गुनासो पनि प्राधिकरणले सम्बोधन गर्नेछ । गुनासो विश्लेषणका लागि ५० इञ्जिनीयर परिचालन गरिएको छ । दोस्रो चरणको छुट तथा पुनःजाँचअघि तीन लाख छ हजार आठ सय ५८ गुनासो दर्ता भएका थिए । ती सबैको पुनरावलोकन भइसकेको छ । प्राधिकरणले गरेको निर्णयमा चित्त नबुझे गुनासोकर्ताले पुनरावेदन समितिमा उजुरी गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्राधिकरणका अनुसार यसअघि नै आठ लाख १६ हजार चार सय ७१ घरपरिवार लाभग्राही सूचीमा परिसकेका छन् । तीमध्ये चार लाख ८१ हजार ६८ घर परिवारले निर्माण सम्पन्न भएको प्रमाणपत्र लिइसकेका छन् । छ लाख ७३ हजार सात सय साठी घर निर्माणाधीन अवस्थामा रहेको पनि प्राधिकरणले जनाएको छ । निर्माणाधीन घरमध्ये आधाजसो सम्पन्नको चरणमा पुगेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x