Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसचेत हुँदै विदेश जाने युवा

सचेत हुँदै विदेश जाने युवा


काठमाडौं ।
वैदेशिक रोजगार र ठगी पर्यावाची शब्द जस्तै भइसकेको छ । त्यसैले गर्दा होला पछिल्लो समय विदेश जान चाहने युवाहरु सरोकारावाला निकायमा गई वैदेशिक रोजगारीको विषयमा बुझ्ने गरेको पाइएको छ । यसैबीच गुल्मी, कालीगण्डकीका ३५ वर्षीय केशवराज पौडेलले इजरायल रोजगारीको बारेमा जानकारी लिनको लागि वैदेशिक रोजगार विभाग पुगे । इजरायल जानको लागि हाल केयरगिभर (स्याहारसुसार) तालिम लिइरहेका पौडेलले इजरायल रोजगारीमा तालिमको आवश्यकता, लाग्ने खर्चलगायतका विषयमा विभागका अधिकारीहरुसँग जानकारी लिए ।

‘हामीले पहिला तालिम लिइसकेकालाई इजरायल रोजगारीमा प्राथमिकतामा राखिन्छ, कहिलेदेखि इजरायल जान पाइन्छ, लागत कति हो लगायतका विषयमा विभागसमक्ष बुझन आएको उनले बताए । उनले इजरायल रोजगारी बुझने क्रममा विभागका निर्देशक टिकामणि नेउपानेसँग आफना भनाइहरु राखेका थिए । त्यसको जवाफमा उनले इजरायल रोजगारी हाललाई खुल्ला नभएको बताउँदै विभागको वेबसाइट तथा सरोकारावाला निकायसँग तथ्य जानकारी लिन आग्रह गरे ।

निर्देशक नेउपानेले इजरायलले रोजगारीमा युवाहरुको आकर्षण देखिए पनि इजरायल पठाउने विषय भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णयलाई पर्खेर बसेको बताए । इजरायल पठाउने विषयमा मन्त्रालयले कार्यविधि निर्माण गर्दै गरेको अवस्थाको कारण कहिलेदेखि खुला हुन्छ भन्ने विषय अहिले नै भन्न कठिन रहेको भन्दै सर्वपक्षीय जानकारी गराए ।

पौडेलजस्तै इजरायल रोजगारी बुझ्न आएका युवाहरुलाई उनले कसैले इजरायल पठाइदिन्छु भनेर तपाईंहरुसँग रकम माग गर्लान् त्यतातर्फ नलाग्न आग्रह गर्दै बरु विभाग वा मन्त्रालयअन्तर्गत रहेका विभिन्न निकायहरुमा सोधपोछ गर्नुहोला तर इजरायल पठाइदिन्छु भन्दै रकम माग गर्नेको विश्वास नगर्न आग्रह गरे । युवाहरुलाई विदेश जान हतार त्यहीमाथि इजरायल रोजगारी केही हदसम्म आर्थिक र सुरक्षाको दृष्टिकोणले पनि राम्रो भएको हुँदा युवाहरुको आकर्षण बढेको हुनसक्ने उनको अनुमान छ ।

पौडेलजस्तै गुल्मी कालीगण्डकीका ३२ वर्षीय नवराज ढकाल पनि स्वदेशमा काम नपाएको कारण इजरायल रोजगारीमा जाने सोच बनाएका छन् । सोही कारण उनी विभाग परिसरमा उपस्थित भएका थिए । स्वदेशको कमाइले आर्थिक स्तरोन्नति गर्न नसक्ने भन्दै उनी इजरायल जाने तयारीमा रहेको बताए । ‘स्वदेशको कमाइले एउटा घर पनि बनाउन सकिँदैन विदेशमा गई काम गर्दा आर्थिक स्तरोन्नति हुन्छ’, उनले भने,‘ त्यसैले गर्दा इजरायल जाने तयारी गर्दै छु हाल भने केयरगिभरको तालिम लिइरहेको छु ।’

पौडेल र ढकाल विदेशमा काम गरेर फर्केका व्यक्ति हुन् भने उनीहरु इजरायल रोजगारी राम्रो रहेको भन्दै त्यसतर्फ जाने तयारीमा लागेको बताउँछन् । इजरायल रोजगारी मात्र नभई मलेसिया, खाडी, रोमानिया लगायतका मुलुकको बारेमा समेत बुझ्नको लागि युवाहरु विभागमा आउने गरेका छन् । उनीहरु कहिले निर्देशक नेउपाने त कहिले विभागका महानिर्देशक कुमार प्रसाद दाहालको कार्यकक्षमा गई विभिन्न मुलुकको रोजगारीको विषयमा आवश्यक जानकारी लिइरहेका हुन्छन् ।

विभागका अनुसार दैनिक करिब १५ देखि ४० जना युवाहरु विभिन्न गन्तव्य मुलुकको रोजगारीको विषयमा बुझन आएको पाइन्छ । वैदेशिक रोजगारीको नाममा मुख्य रुपमा ठगी समस्या भएको हुदाँ रोजगारीको बारेमा बुझ्न आउने युवाहरु बढेको निर्देशक नेउपानेको भनाइ छ ।

यसैबीच, गत माघ दोस्रो साता नेपाली नागरिकलाई इजरायलमा रोजगारी दिने प्रोटोकलमा दुई मुलुकबीच सम्झौता भइसकेको छ । इजरायलको केयरगिभर क्षेत्रमा नेपाली नागरिकलाई रोजगारी दिने प्रोटोकलमा नेपालको तर्फबाट विभागका महानिर्देशक दाहाल र इजरायल सरकारको तर्फबाट नेपालका लागि इजरायलको राजदूत खनान गोडेरले हस्ताक्षर गरेका थिए । कार्यविधि तयार हुनासाथ पहिलो चरणमा पाँच सय जना कामदार इजरायले पठाउने विभागको तयारी रहेको छ । कामदारमाथि आर्थिक भार परेको भन्दै सन् २००९ देखि इजरायल रोजगारी रोकिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया