Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपेट्रोलियम अपचलन गर्ने एक हजार ट्यांकरमाथि कारबाही

पेट्रोलियम अपचलन गर्ने एक हजार ट्यांकरमाथि कारबाही


काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजारभन्दा बढी ढुवानीकर्तालाई कारबाही गरेको छ । निगमसँगको करार सम्झौतामा सञ्चालनमा रहेका ट्रक तथा ट्यांकरले लकिङ तथा फिटिङमा कैफियत गरेको पाइएपछि पछिल्लो तीन महिनामा उनीहरूलाई कारबाही गरिएको हो ।

निगमको १ नं प्रादेशिक कार्यालय विराटनगरले तोकिएको मापदण्डभन्दा बढी क्षति गर्ने ५३ ट्रक तथा ट्यांकरलाई कारबाही गरेको छ । लकिङ तथा फिटिङ चेक गर्दा गलत ढङ्गले पाइपलाइन ट्यांकीमा जडान गरिएको पाइएपछि उक्त ट्रकलाई प्रहरी हिरासतमा राखी कारबाही अगाडि बढाइएको १ नं प्रादेशिक कार्यालयले जनाएको छ ।

ट्यांकीको ताला काटिएको अवस्थामा फेला परेका ती ट्यांकरलाई तीन महिनाका लागि पेट्रोलियम पदार्थको आपूर्तिमा रोक लगाइएको छ । यस्तै पछिल्लो तीन महिनामा २ नं प्रादेशिक कार्यालयले पनि १ सय ५० वटा ट्रक तथा ट्यांकरलाई कारबाही गरेको जनाएको छ । कार्यालयका अनुसार उनीहरूलाई १५ दिनसम्मका लागि ढुवानीमा निलम्बन गरिएको छ । निगमकै इतिहासमा यो सबैभन्दा ठूलो कारबाही भएको बताइएको छ ।

कार्यालयले पाँच चालक/सहचालकलाई कालोबजारी मुद्दा दायर गरी आजीवन निगमको कुनै पनि डिपोमा प्रवेश गर्न नपाउने गरी निषेध गरेको छ । अनुगमनको क्रममा मिसावट र चोरी गरेको भेटिएपछि पाँच ट्यांकरलाई छ महिनाको लागि ढुवानी गर्न निलम्बन गरिएको छ । निगमले पछिल्लो तीन महिनामा अनियमितता गर्ने तीन सय ट्यांकर तथा ट्रकलाई कारबाही गरेको छ । निगमले जरिबानाबापत ती ट्रक तथा ट्यांकरबाट १० हजार संकलन गरेको छ ।

महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले निगम सुधारको रणनीति योजनाअन्तर्गत रहेर कालोबजारीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताए । ‘निगमको कदमले गैरकानुनी काम गर्ने निरुत्साहित हुनेछन्, यो निगमकै इतिहासमा एक महत्वपूर्ण कारबाही हो’, उनले भने । अनियमित गर्ने ट्यांकरमाथि कारबाही गरेसँगै पेट्रोलियम पदार्थको चोरी र मिसावट नियन्त्रणमा आउने निगमले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया