Techie IT
×
गृहपृष्ठbreakingएक अर्ब लगानीमा रबरका सामान उत्पादन गर्ने उद्योग खुल्दै

एक अर्ब लगानीमा रबरका सामान उत्पादन गर्ने उद्योग खुल्दै


काठमाडौं ।
निजी क्षेत्रले रबरका सामग्री उत्पादनमा चासो राखेको पाइएको छ । निजी क्षेत्रले रबरहरूको टायर टयुब, फुटवेयर (जुत्ता)को सोल, म्याट, बेलुनलगायतका सामग्री उत्पादन गर्नेभन्दा एक अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी समेत गरेका छन् ।

उद्योग विभागका अनुसार आठवटा कम्पनीले एक अर्ब तीन करोडभन्दा बढी लगानीमा वार्षिक ४६ हजार मेट्रिक टनबराबरको परिमाणमा रबरका सामग्री उत्पादन गर्ने लक्ष्य लिएका छन् । यसरी रबरका सामग्री उत्पादन गर्ने भन्दै लगानी गर्न तयार हुनेमा मोदी रबर प्रालि, जय नारायणी रबर उद्योग, पारमाउन्ट रबर फर्म, लुम्बिनी रबर उद्योग, अन्नपूर्ण रबर उद्योग, हिमालयन रबर कोअपरेसन, त्रिवेणी रबर उद्योग र कन्काई रबर उद्योग रहेका छन् ।

रबरका सामग्री उत्पादन गर्ने उद्देश्य राखेकामध्ये त्रिवेणीले ३० करोड, लुम्बिनीले २५ करोड, कन्काईले २० करोड, हिमालयनले १४ करोड ९५ लाख, अन्नपूर्णले सात करोड ६५ लाख, मोदीले दुई करोड ६९ लाख, जय नारायणीले एक करोड ६५ लाख र पारामाउन्टले एक करोड ४८ लाख रबर उद्योगमा लगानी गर्ने जनाएका छन् ।

काभ्रेपलाञ्चोक, बारा, सुनसरी, रुपन्देही, नवलपरासी र झापामा आफ्नो उद्योग स्थापना गर्ने र रबरका सामग्री उत्पादन गर्ने बताए पनि सबै उद्योगहरू भने स्थापना हुनसकेका छैनन् । रबर उद्योगमा जसरी निजी क्षेत्रको आकर्षण देखिन्छ । यदि त्यसलाई पूर्णता दिएको खण्डमा भने रबर आयातमा जाने अर्बौँ रुपैयाँ जोगिने विभागका अधिकारीहरूको भनाइ छ ।

यता निजी क्षेत्रका अधिकारीहरू भने रबर उद्योगमा आफूहरूको आकर्षण भए पनि कच्चा पदार्थको अभावमा अघि बढ्न नसकेको बताएका छन् । पछिल्लो समय भने झापा घैलाडुव्वा ७ मा अवस्थित कन्काई उद्योग भने सञ्चालनको अन्तिम तयारीमा छ भने अन्य उद्योगहरू पनि स्थापना हुने क्रममा रहेको बताइएको छ । उद्योगलाई चाहिने कच्चा पदार्थको उच्पादन भने पछिल्लो समय बढेको पाइन्छ ।

झापा, सुनसरी, मोरङ तथा सप्तरी क्षेत्रमा किसानहरूले रबर खेती सुरु गरेका छन् । उनीहरूले करिब आठ सय हेक्टर क्षेत्रफलमा रबर खेती गरेका हुन् । नेपालमा गरिने रबर खेती भनेको शतप्रतिशत प्राकृतिक हुँदा यसको उत्पादन पनि गुणस्तरीय हुनेछ ।

रबर उद्योगको कुरा गर्दा सर्वप्रथम मुलुकमा सो क्षेत्रमा सरकारले नै लगानी गरेको थियो अर्थात् सरकारी तवरबाट २०४१ सालमा गोरखकाली रबर उद्योग स्थापना भएको थियो । स्थापना भएको नौ वर्षपछि अर्थात् २०५० देखि उद्योगले व्यावसायिक उत्पादन थालेको थियो । वार्षिक ८० हजार ट्रक टायर तथा ४० हजार अन्य टायर उत्पादन गर्ने गरेको उक्त उद्योग दूषित राजनीतिको कारण २०७१ चैतमा बन्द हुनपुगेको थियो ।

गोरखा, मझुवा देउराली ९ मा अवस्थित गोरखकाली रबर उद्योग बन्द भएसँगै भने निजी क्षेत्रले रबर तथा टायर उत्पादनमा चासो दिएका छैनन् । यसरी सरकारी र निजी क्षेत्र दुवैले रबर तथा रबरजन्य उत्पादनमा ध्यान नदिँदा वार्षिक अर्बौँ रुपैयाँबराबरको रबरजन्य सामग्री आयात गर्नुपरेको अवस्था छ ।

भन्सार विभागको तथ्यांकअनुरुप गत आर्थिक वर्षमा करिब छ अर्बबराबरको सवारीसाधनमा प्रयोग हुने टायर आयात गरिएको छ । नेपालमा आयात गरिने टायर भारत, चीन, भियतनाम, टर्की, बेलायत अमेरिकालगायतका दर्जनभन्दा बढी मुलुकबाट आउने गरेको तथ्यांकले देखाएको छ । यस्तै टायर मात्र नभई तेस्रो मुलुकबाट नेपालमा पेटी, जुत्ता, जुत्ताको सोल, म्याट, बेलुनलगायतका रबरजन्य सम्पूर्ण सामग्री आयात हुने गरेको छ । यदि निजी क्षेत्रले मुलुकमा रबरका सामग्री उत्पादन गरेमा रबर आयातबापत जाने वार्षिक अर्बौँ रुपैयाँ जोगिने देखिन्छ ।


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया