Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकम्पनीको संख्या वृद्धिसँगै कम्पनी दस्तुरबापत ४५ करोड संकलन

कम्पनीको संख्या वृद्धिसँगै कम्पनी दस्तुरबापत ४५ करोड संकलन


काठमाडौँ ।

कम्पनी रजिष्ट्रार कार्यालयले कम्पनी दस्तुरबापत ४५ करोडभन्दा बढी रकम संकलन गरेको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षकोे छ महिनाको अवधिमा कम्पनी दस्तुरबापत ४५ करोड ७४ लाख संकलन गरेको हो । कार्यालयले नयाँ कम्पनी दर्ता, पुँजीवृद्धि, नामसारी, खारेजी लगायतका काम गरेबापत दस्तुर लिने गरेको छ भने कम्पनी ऐन, २०६३ ले उक्त अधिकार प्रदान गरेको छ ।

रजिष्ट्रार प्रदीपराज अधिकारीले बन्दाबन्दी हटाएसँगै नागरिकहरू आफ्नो व्यवसाय सञ्चालनमा अग्रसर हुँदा कम्पनीको संख्या बढेको हो । ‘पब्लिक, प्राइभेट, मुनाफा वितरण नगर्ने तथा विदेशी कम्पनीभन्दा पनि समग्रमा कम्पनीको संख्यामा वृद्धि भएको छ’, उनले भने, ‘त्यसैले गर्दा कोरोना महामारी र बन्दका कारण यति रकम उठ्नु भनेको प्रगति गरेको भन्न सकिन्छ ।’ उनले बन्दाबन्दी तथा यस आवको सुरुदेखि नै नियमित सेवा प्रवाह गरेको कारण कम्पनीको काम उत्साहजनक देखिएको बताए ।

गत आवको सोही अवधिमा भने ४४ करोड तीन लाख दस्तुर संकलन भएको थियो । यसैबीच चालू आवको छ महिनामा सबैभन्दा बढी कम्पनी दस्तुरबापत असोजमा नौ करोड ९० लाख संकलन भएको छ । यस्तै पुसमा नौ करोड ४२ लाख, मंसिरमा आठ करोड ६० लाख, साउनमा आठ करोड ३० लाख, कात्तिकमा छ करोड ३० लाख र भदौमा तीन करोड २० लाख दस्तुर संकलन भएको छ ।

यस्तै गत आवको सोही अवधिमा भने सबैभन्दा बढी भदौमा १० करोड ८४ लाख, साउनमा आठ करोड ७९ लाख, मंसिरमा सात करोड १० लाख, पुसमा छ करोड ५९ लाख, असोजमा छ करोड ३२ लाख र कात्तिकमा चार करोड ३७ लाख दस्तुर संकलनभएको थियो ।

यस्तै चालू आवको सोही अवधिमा २८ वटा पब्लिक कम्पनी दर्ता भएका छन् भने साउनमा पाँचवटा, भदौमा आठवटा, असोज, कात्तिक र पुसमा क्रमशः चार÷चार वटा र मंसिरमा तीनवटा कम्पनी दर्ता भएका हुन् । यस्तै प्राइभेटतर्फ भने १४ हजार चार सय ३४ वटा दर्ता भएकामध्ये साउनमा दुई हजार पाँच सय ९२ वटा, भदौमा एक हजार तीन सय चार वटा, असोजमा तीन हजार चार सय १८ वटा, कात्तिकमा एक हजार नौ सय ५३ वटा, मंसिरमा दुई हजार चार सय २६ वटा र पुुसमा दुई हजार सात सय ४१ वटा कम्पनी रहेका छन् ।

मुनाफा वितरण नगर्ने कम्पनीहरू भने छ महिनाको अवधिमा दुई सय ८७ वटा दर्ता भएका छन् जसमध्ये साउनमा ५२ वटा, भदौमा ३४ वटा, असोजमा ७१ वटा, कात्तिकमा ३६ वटा, मंसिरमा ५० वटा र पुसमा ४४ वटा कम्पनी दर्ता भएका छन् ।

यस्तै विदेशी कम्पनीहरू भने सोही अवधिमा २२ वटा दर्ता भएका छन् जसमध्ये साउनमा चारवटा, असोजमा छवटा, कात्तिकमा पाँचवटा, पुसमा छवटा, मंसिरमा एउटा दर्ता भएको छ । चार प्रकारको गरेर १४ हजार सात सय ७१ वटा कम्पनी दर्ता भएका छन् । कार्यालयका अनुसार कम्पनी दर्ता उत्साह देखिए पनि कम्पनी चलायमान हुन नसक्दा दर्ता भएकामध्ये ७० प्रतिशतभन्दा बढी कम्पनीहरू बन्द हुने गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया