Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारऔषधि व्यवस्था कार्यालयका कर्मचारी घुससहित पक्राउ परेपछि प्रमुख र अधिकृत पनि शंकाको घेरामा

औषधि व्यवस्था कार्यालयका कर्मचारी घुससहित पक्राउ परेपछि प्रमुख र अधिकृत पनि शंकाको घेरामा


विराटनगर ।
गत फागुन १३ गते औषधि व्यवस्था कार्यालय विराटनगरबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरी सुनसरीले भर्खरै सरकारी सेवा प्रवेश गरेका २५ वर्षीय फार्मेसी अधिकृतलाई दुई लाख रूपैयाँ घुससहित पक्राउ गरेपछि अहिले औषधि व्यवस्था कार्यालयमा हुने कमिसन र मोलमोलाइका सम्बन्धमा खोजी सुरु भएको छ । औषधि व्यवस्था कार्यालय विराटनगरमा केही समय पहिला मात्र करारमा भर्ना भई कार्यरत मोरङ उर्लाबारी–५ निवासी फार्मेसी निरीक्षक सरोज सुबेदीलाई दुई बिटा हजार दरका नोटसहित पक्राउ गरेको थियो ।

करारमा जागिर खाएर सरकारी सेवामा प्रवेश गर्नेबित्तिकै सुवेदीले कार्यालय प्रमुख सञ्जीव शर्मा कट्टेलको सहमतिबेगर यतिका रकम घुस माग्न नसक्ने अनुमान गर्नथालेपछि पछिल्लो समय यो घुस प्रकरणले बृहत् रुप लिने अनुमान गर्न थालिएको छ । पैसासहित पक्राउ परेका सुवेदी र सोही कार्यालयमा कार्यरत अधिकृत दिपेन्द्र खड्का एउटै फाँटमा रहेका कारण पनि यो घुस प्रकरणले थप आशंका जन्माएको छ । खड्का भने औषधि व्यवस्था कार्यालयको स्थायी कर्मचारी भएको कुरा थाहा भएको छ ।

पक्राउ परेका करार कर्मचारी सुबेदीले बन्द रहेको फार्मेसी खोल्न मद्दत गर्ने सर्तमा सेवाग्राहीबाट विराटनगर–३ दूध फारमस्थित एक होटलमा गएर रकम लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो । लामो समयदेखि बन्द रहेको तेह्रथुमको मेनछ्यायम गाउँपालिका–५ को समृद्धि फार्मेसीका सञ्चालक पुष्पराज ढुङ्गानाबाट सुबेदीले सो रकम लिएको दाबी अख्तियारले गरेको छ ।

पक्राउ परेका कर्मचारीले गोजीमा दुई बिटा नोट हाल्नेबित्तिकै अख्तियारका कर्मचारीले उनलाई पक्राउ गरेर नोट कसको भनेर सोध्दा जवाफमा सुबेदीले आफूलाई थाहा नभएको भन्दै जवाफ दिएका कारणले पनि उक्त रकम कार्यालयकै अन्य कर्मचारीको निर्देशनमा सुबेदीलाई प्रयोग गरी लिन लगाएको दाबी समाचारस्रोतले गरेको छ ।

घुस दिन ढुङ्गानासँगै गएका उनका भान्जा सुमन भट्टराईले गत वैशाख ५ गते तेह्रथुमको मेनछ्यायमका एक व्यक्तिको मृत्यु भएपछि औषधि व्यवस्था कार्यालयले उक्त फार्मेसी बन्द गराइएको थियो । मृतकका आफन्तले समृद्धि फार्मेसीबाट खरिद गरेको औषधि खाएपछि मृत्यु भएको आरोप लगाएपछि ढुङ्गानालाई प्रहरीले पक्राउ गरी २६ दिन थुनामा समेत राखेर छोडेको घट्ना अहिले खुलेको छ ।

बन्द फार्मेसी खोल्ने र नखोल्नेबारे सरकारी वकिलको कार्यालय तेह्रथुमले औषधि व्यवस्था कार्यालय विराटनगरसँग राय/सुझाव माग गरेपछि व्यवसायी ढुङ्गाना औषधि व्यवस्था कार्यालयको सम्पर्कमा आएको र व्यवसाय खोलाउन घुस दिएको आरोप लागेको छ । फार्मेसी खोल्न सहमति दिने अधिकार औषधि व्यवस्था कार्यालयका प्रमुख कट्टेललाई मात्र रहेको थाहा भएको छ । यो कानुनी व्यवस्थाका कारणले पनि यो प्रकरणमा कार्यालय प्रमुख कट्टेल र अधिकृत खड्का समेतको मिलीभगत नै भएको दाबी स्रोतले गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया