Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘मलको अभावमा हुने अवस्था सकियो’

‘मलको अभावमा हुने अवस्था सकियो’

२ लाख मेट्रिक टन मल बफर स्टक रहने


काठमाडौं ।
कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले अब किसानलाई मलको अभाव हुने अवस्थाको अन्त्य भएको दाबी गरेकी छिन् । मलको अभावमा उत्पादन घट्ने अवस्था सदैका लागी अन्त्य गरेर सरकारले ठुलो उपलब्धि हासिल गरेको उनले बताइन् ।

तत्कालीन समाधानको रुपमा अहिले मल पर्याप्त व्यवस्थापन गरिएको, मध्यकालीन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपूर्ति र दीर्घकालीन समाधानका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने गरी मन्त्रालय अगाडि बढेको उनले बताइन् ।

मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मलको भण्डारणको व्यवस्था गरिने समेत जानकारी दिइन् । मलको आपूर्ति अनुमानको आधारमा नभएर आवश्यकताका आधारमा गर्ने गरी सबै प्रदेशसँग त्यहाँको आवश्यकता माग गरिएको उनको भनाइ थियो ।

चालू आर्थिक वर्षमा व्यवस्था गरिएको ११ अर्ब बजेटबाट पाँच लाख मेट्रिक टन (युरिया मल दुई लाख ८२ हजार पाँच सय, डीएपी दुई लाख दुई हजार पाँच सय र पोटास १५ हजार) आयात गर्ने मन्त्री अर्यालले जानकारी दिईन् । जसमध्ये एक लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइसकेको उनले बताइन् । एक लाख ६२ हजार मेट्रिक टन मल स्टक रहेको र अन्य भित्रिने क्रममा रहेको उनले जानकारी दिईन् ।

उनका अनुसार गत वर्ष जम्मा तीन लाख ९४ हजार छ सय मेट्रिक टन मल बिक्री भएको थियो । यस आवको आयातबाट जम्मा दुई लाख मेट्रिक टन मल आगामी धान सिजनका लागि मौज्दात (बफर स्टक) रहने उनले बताइन् । पछिल्ला तीन वर्षहरुको बिक्रीको आधारमा साउनदेखि असोजसम्म जम्मा एक लाख तीन हजार मेट्रिक टन मल खपत हुने अनुमान गरिएको छ । जुन यस आर्थिक वर्षकै बाँकी मलबाट पूर्ति हुने उनले बताइन् ।

आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुने गरी प्रथम चौमासिक अवधिमा करिब तीन लाख मेट्रिक टन मल आपूर्तिको लागि यही महिनाबाट आयात प्रक्रिया सुरु गरिने समेत मन्त्री अर्यालले जानकारी दिइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया