Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘कृषि क्षेत्र अब आधुनिक क्षेत्रमा प्रवेश’

‘कृषि क्षेत्र अब आधुनिक क्षेत्रमा प्रवेश’


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्र अब आधुनिक क्षेत्रमा प्रवेश गरेको बताएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै उनले यस प्रणालीमार्फत कुन किसानलाई कस्तो सहयोग गर्नुपर्ने सबै थाहा हुने बताए । साथै उनले सरकारले व्यावसायिक सीप विकासका लागि जिल्ला जिल्लामा तालिम सञ्चालन गर्ने बताए ।

कृषिमा आधारित उद्योग खोल्न राज्यले सहयोग गर्ने बताउँदै उनले किसानलाई कृषि पेसाबाट विस्थापित हुने समस्या सधैंको लागि अन्त्य भएको दाबी गरे । किसानलाई सामूहिक खेती प्रणालीमा संलग्न गराएर उत्पादनमा लगाउनुपर्ने उनको भनाइ थियो ।

कृषि क्षेत्रमा दिइने अनुदान नगदमा नभएर जिन्सी सामग्री खरिद गरेर दिनुपर्ने उनले बताए । साथै उनले हरेकको भान्सालाई अस्पतालको रूपमा विकास गर्न सकेमा स्वस्थ्य नेपाल निर्माण गर्न सकिने बताए । कृषिलाई जति बढी अर्गानिक बनाउन सक्यो त्यति बढी हाम्रो भान्सालाई अस्पताल बनाउन सकिने उनको भनाइ थियो । नेपाली कृषि प्रणालीलाई आधुनिकीकरण गर्नका निम्ति सरकारले प्रयास गर्दै आएको भन्दै उनले सहयोगी हाताहरूको सहयोग खेर नजाने बताए । कार्यक्रममा कृषि मन्त्री पद्माकुमारी अर्यालले अब सरकारबाट उपलब्ध हुने सेवा सुविधा वास्तविक किसानले पाउने बताइन् । किसानको नाममा राज्यको थुप्रै सम्पत्ति दुरूपयोग भए पनि अब सूचीकरण भएपछि यस्तो समस्या नआउने दाबी गरिन् ।

यो प्रणाली लागू भएसँगै वितरणमा भएको झमेला, संघ र प्रदेशले गरेका कार्यक्रममा हुने दोहोरोपनाको अन्त्य हुने उनको भनाइ थियो । कृषिको औद्योगिकीकरणका निम्ति सरकार लागिरहेको भन्दै उनले हिजोको कृषि र आजको कृषिमा फरक अनुभूति गर्नेगरी अगाडि बढेको बताइन् । समाजवादसम्म पुग्न सबै किसानलाई उत्पादनसँग जोड्नुपर्ने बताउँदै उनले ठूल्ठूला क्षेत्रमा उत्पादन गरेर कृषिमा आत्मनिर्भर हुनेतर्फ अगाडि बढेको दाबी गरिन् । पाँच वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर भई अन्य देशलाई निर्यात गर्ने समेत बताइन् ।

किसान सूचीकरण व्यवस्थापन प्रणाली कार्यक्रम सञ्चालन गर्नका निम्ति युरोपियन युनियनले सहयोग गरेको छ । यस प्रणालीमार्फत किसानका सूचना तथा विवरणहरू एकीकृतरूपमा व्यवस्थापन गरी किसानलाई पहिचान दिलाउन विद्युतीय प्रविधिमा आधारित तथ्याङ्क भण्डारण गर्ने प्रविधिको विकास गरिएको मन्त्रालयले जनाएको छ ।

सातै प्रदेशमा सञ्चालन हुने किसान सूचीकरण प्रणाली सातै प्रदेशका सबै पालिकामार्फत सञ्चालन हुनेछ । कृषि पेसा र व्यवसायमा संलग्न रहेका किसानले सरकारबाट उपलब्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागि किसान सूचीकरण संकेत नम्बर अनिवार्य रहेको छ । त्यसका लागि किसान सूचीकरण सफ्टवेयर प्रणालीमा आबद्ध हुनुपर्ने हुन्छ । किसान सूचीकरण प्राप्त गर्न तोकिएका संक्षिप्त विवरणहरू भर्नुपर्ने हुन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया