Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआपराधिक गतिविधि रोक्न सीमा क्षेत्रमा सीसीटीभी जडान

आपराधिक गतिविधि रोक्न सीमा क्षेत्रमा सीसीटीभी जडान


बीरगञ्ज ।
सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न प्रदेशभित्रका सबै जिल्लामा सीसीटीभी क्यामरा जडान गर्न थालेको छ । छिमेकी मुलुक भारतीय सीमासँग जोडिएको प्रदेश २ को सप्तरीदेखि पर्सासम्म चार सय ६४ किलोमिटर जोडिएको खुला सीमामा हुने आपराधिक गतिविधि तथा चोरी तस्करीलाई रोकथाम तथा नियन्त्रण गर्न सीमा क्षेत्रमा करिब दुई सय सीसीटीभी क्यामरा जडान गर्न लागिएको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले जानकारी दिए ।

उनका अनुसार बारा जिल्लाको सीमाक्षेत्रमा १४ वटा सीसी क्यामरा सञ्चालन रहेको छन् । पाँचवटा क्यामराको सामान उपलब्ध भए पनि त्यो अहिले सञ्चालमा आएको छैन  । यसैगरी पर्सा जिल्लामा २५ वटा क्यामरा जडान गर्ने लक्ष्य रहेको डीआईजी गौतमले बताए । ती जडान भएका सीसीटीभी क्यामराको सशस्त्र प्रहरीको जिल्ला कार्यालय तथा प्रदेश २ को मुख्यालयबाट सीमा क्षेत्रको गतिविधि हेर्न सकिने व्यवस्था गरिएको छ । यसैगरी सीमाक्षेत्रमा रहेका सशस्त्र प्रहरीले आचरणविपरीत काम गरेको भन्दै प्रदेश २ भरि आठ सशस्त्र अधिकृतसहित ६० भन्दा बढीलाई कारबाही गरेको गौतमले जानकारी दिए ।

यस्तै सशस्त्र प्रहरीले भारतबाट नेपाल भित्रिने तथा नेपालबाट भारततर्फ तस्करी हुनलागेका विभिन्न सामग्रीलगायतका सामानहरू बरामद गरी १२ करोड ६५ लाख रूपैयाँ पछिल्लो ३ महिनामा राजस्व दाखिला गराएको छ । बाहिनीले अवैधरूपमा भित्रिएका पशु चौपाया, सवारीसाधन र सवारीसाधनको एक करोड ३६ लाख र अन्य सामानहरूको सात करोड २० लाख २२ हजार आठ सय ९५ सहित तीन महिनामा १२ करोड ६५ लाख ६१ हजार पाँच सय २५ रूपैयाँ राजस्व दाखिला गरेको बाहिनीले जनाएको छ ।

छिन्नमस्ता बाहिनी मुख्यालयको माहतमा रहेको ६ नम्बर गण सप्तरी, ७ नम्बर गण सिरहा, ८ नम्बर गण धनुषा, ९ नम्बर गण महोत्तरी, १० नम्बर गण सर्लाही, ११ नम्बर गण रौतहट, १२ नम्बर गण बारा र १३ नम्बर गण पर्साले दुई सय ६० केजी गाँजा, दुई हजार १८८ वटा डाइजेपाम, दुई हजार तीन सय ३३ वटा फेनार्गन, दुई सय पत्ता नाइट्रोभेटलगायतका लागुऔषध बरामद गरेको छ भने यसबीचमा नक्कली पेस्तोल एक नाल, कुटुवा पेस्तोल दुई नाल, सेमी अटोमेटिक पेस्तोल एक नाल र दुई राउन्ड म्याग्जिन बरामद गरेको छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र डीआईजी चन्द्रप्रकाश गौतमले जनाकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया