Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजारमा सुनको चरम अभाव सुनचाँदी महासंघका पदाधिकारी नै सुन तस्करीमा संलग्न रहेको आशंका

बजारमा सुनको चरम अभाव सुनचाँदी महासंघका पदाधिकारी नै सुन तस्करीमा संलग्न रहेको आशंका


काठमाडौँ ।

कोरोना कहरपछि विस्तारै उठ्ने क्रममा रहेको नेपालको सुनचाँदी बजारमा कच्चा सुनको चरम अभाव देखिनथालेको छ । कोरोनाको कारण करिब एक वर्ष पसल बन्द गरेर बसेका व्यवसायीहरु व्यापार हुने सिजनमा समेत सुन नपाएपछि सरकारसँग रुष्ट बनेका छन् । सुनको कोटा बढाइदिन सरकारसँग पटक–पटक आग्रह गर्दा समेत व्यवसायीको मागलाई सरकारले व्यवस्था गरेपछि व्यवसायीहरु आन्दोलनको तयारीमा छन् ।

‘सरकारले सुन आयातको कोटा नबढाइदिँदा व्यवसायीहरु अर्डर लिन नसकेर ग्राहक आउँदा पनि व्यापार गर्न नसक्ने अवस्थामा छन्’, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले भने, ‘सुनको अभाव चरम सीमामा पुगेको तर सरकार कोटा बढाउँछु मात्र भनेर बसेको र आयातको व्यवस्था नगरेकोले गम्भीर समस्या भएको छ ।’ विवाहको महिना नजिकिनु र सुनको मूल्य समेत सस्तो भएपछि गहना बनाउन आउनेहरु बढ्नथालेका छन् तर आएको अर्डरमा पनि व्यवसायीहरुले गहना बनाउन नसक्ने भन्दै फर्काउनुपरेको शाक्य दाबी गर्छन् । हाल बजारमा दैनिक २५ देखि ३० किलो सम्म सुनको माग रहेको छ तर आयात दैनिक १० केजी मात्रै हुनेगरेको छ ।

त्यसमा पनि बैंकहरुले दैनिक आयात नगरिदिँदा सुनको चरम अभाव भएको व्यवसायीहरु दाबी गर्छन् । लकडाउनअघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन व्यवसायीले पाउने गरेका थिए ।

केही महिनापहिले एक लाख नाघेको सुनको मूल्य घट्नथालेपछि सुनका गहना बनाउने बढेपछि बजारमा सुन ‘सर्टेज’ भएको हो । विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले दैनिक २० किलो सुन आयातको कोटा घटाएर दश किलोमा झारेको थियो । अर्थतन्त्रमा भार परेको निष्कर्षसहित सरकारले विलासी वस्तुको आयातमा अंकुश लगाएको थियो ।

अभाव हटाउने सरकारी आश्वासनअहिले व्यापार व्यवसाय पुरानो अवस्थामा फर्किन थालेपछि व्यवसायीहरु सुन आयातको कोटा बढाउन माग गर्दै विभिन्न सरकारी निकाय धाउनथालेका छन् तर सम्बन्धित निकाय कानमा तेल हालेर बसिरहेको उनीहरुको आरोप छ । सुनको कोटा निर्धारणको जिम्मा पाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले कोटा निर्धारणको निर्णय गर्ने गर्छ ।

अहिले भइरहेको सुनमा पनि नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका पदाधिकारीले आफू र आफूनिकटका व्यवसायीहरुलाई मात्रै बढी वितरण गर्ने गरेको सुनचाँदी व्यवसायीहरुको आरोप छ । उनीहरुले दुवै महासंघको मिलेमतोमा मनोमानी वितरण भई माथिसम्म पहुँच नहुने व्यवसायीले सुन कालोबजारीमा किन्नुपरेको दाबीसमेत गरे ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले त सुनको कोटा आफ्नो कब्जामा पार्न विभिन्न जिल्लामा नामको मात्रै संघ स्थापना गरी त्यो संघको नाममा छुट्याइएको सुन आफूले नै प्रयोग गर्ने गरेको व्यवसायीहरुको आरोप छ । महर्जनलगायतका केही पदाधिकारीले महासंघका जिल्लामा रहेका नामका मात्र सदस्यहरुको कोटामा सुन पारेर खरिद गरी भारतमा पु¥याउने समेत गरेको व्यवसायीहरु नै बताउँछन् । यसरी भारतमा सुन लगेर बेच्दा राम्रो फाइदा हुने व्यवसायीको भनाइ छ ।

सुन महासंघमार्फत नभई व्यवसायीले सिधै बैंकबाट किन्ने नियम नबनाउँदासम्म सुनमा ‘मोनोपोली’ भइरहने नाम उल्लेख नगर्ने शर्तमा एक व्यवसायीले बताए । अहिले सुनचाँदी व्यवसायी महासंघले अन्य संघहरुसँग सुन सिफारिसको लागि शुल्क लिने गरेका छन् । यो शुल्क तिर्न व्यवसायीहरुलाई बाध्य पारिएको छ । हाल महासंघको सिफारिसमा मात्रै सुन खरिद गर्न पाइनेनियम छ ।

यसरी महासंघले सुन सिफारिस शुल्क लिनु गलत भएको र यो गैरकानुनी रुपमा उठाइएको नेपाल राष्ट्र बैंक स्रोतले बताएको छ । यसरी महासंघले उठाएको अवैधानिक रकमको कुनै हिसाबकिताब नभएकोले यसको छानबिन हुनुपर्ने पनि व्यवसायीहरुले माग राखेका छन् । यो विषयमा आफ्नो भनाइ राख्न नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष महर्जनलाई पटक–पटक सम्पर्क गर्दा पनि उनी केही समयमा कुरा गर्छु भन्दै तर्किए र यसबारेमा केही बोल्न मानेनन् ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार

तपाईको प्रतिक्रिया