Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१४ मुलुकका २९ वायुसेवा कम्पनी नेपालमा उडान भर्दै

१४ मुलुकका २९ वायुसेवा कम्पनी नेपालमा उडान भर्दै


प्रवीण राउत
काठमाडौं, पुस २५
भारतको विस्तार र कुवेतको जजिरा एयरवेजले उडान भरेसँगै नेपालमा उडान भर्ने वायुसेवा कम्पनीको संख्या २९ पुगेको छ । नेपालसहित विश्वका १४ मुलुकका २९ वटा एयरलाइन्सले नेपालमा उडान भर्दै आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार भारतको विस्तार र कुवेतको जजिरा एयरवेजले नोभेम्बरदेखि नेपालमा उडान भरेसँगै नेपालमा उडान भर्ने एयरलाइन्सको संख्या बढेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कुवेतको जजिरा एयरलाइन्सले नोभेम्बर र भारतको विस्तारा एयरलाइन्सले जनवरीमा उडान अनुमति पाएका हुन् ।

प्राधिकरणका सूचना अधिकारी एवं उपनिर्देशक त्रिलोचन पौडेलले जजिरा एयरलाइन्सले नोभेम्बर १५ तथा विस्तारा एयरलाइन्सले जनवरी १५ देखि नेपालमा उडान अनुमति पाएको बताए । जजिरा एयरलाइन्सले अनुमति पाँएसँगै खाडी मुलुक कुवेतमा काम गर्न जाने नेपाली श्रमिकलाई सहज हुने उनले बताए । ‘वैदेशिक रोजगारीको क्रममा कुवेत जाने र उताबाट नेपाल फर्किने युवाहरुलाई सहज हुनेछ’, उनले भने, ‘कुवेतबाट नेपाल आउने चाहने विदेशीलाई समेत सहज हुनेछ । जसले गर्दा नेपालमा पर्यटकको संख्या समेत वृद्धि हुन मद्दत पुग्छ ।’

जजिराले कुवेत–काठमाडौं, काठमाडौं–कुवेत सिधा उडान भर्नेछ । ‘जजिराले काठमाडौं कुवेत सिधा उडान साढे तीन घण्टामा भर्छ ट्रान्जिट विन्दु छैन’, उनले भने, ‘जसले गर्दा यात्रुहरुको समयको बचत हुन्छ ।’ भर्खरै मात्र उडान अनुमति पाएको भारतको विस्तारा एयरलाइन्सले भने नयाँ दिल्ली–काठमाडौं र काठमाडौं–नयाँ दिल्ली सिधा उडान भर्ने प्राधिकरणले जानकारी दिएको छ ।

नेपालबाहेक १३ वटा मुलुकका २६ वटा एयरलाइन्सले नेपालमा उडान भर्दै आएका छन् । १३ वटा मुलुकमा छिमेकी मुलुक भारत र चीनसहित भुटान, बंगलादेश, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दक्षिण कोरिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमन, टर्की रहेको उनले बताए । यसमध्ये सबैभन्दा बढी चीनको छवटा, भारत र युएईको क्रमशः तीन/तीनवटा एयरलाइन्सले नेपालमा उडान भर्ने गरेका छन् । निर्देशक पौडेलका अनुसार चीन र भारतसँगै थाइल्याण्ड, ओमन, भुटानका क्रमशः दुई/दुईवटा एयरलाइन्स र बंगलादेश, दक्षिण कोरिया, कुवेत, कतार, सिंगापुर, टर्कीको एउटा एयरलाइन्सले नेपालमा उडान भर्ने गरेका छन् ।

उनले चीनको एयर चाइना, क्याथे ड्रागन, चाइना इस्टर्न, चाइना साउदर्न एयरलाइन्स, सिचुवान एयरलाइन्स, तिब्बत एयरलाइन्स र भारतको एयर इन्डिया, इन्डिगो (इन्टर ग्लोब एभिएसन लिमिटेड), विस्तारा (टाटा साई एयरलाइन्स लिमिटेड) र युएईको एयर अरेबिया, इत्तेहाद एयरवेज र फ्लाई दुबईले नेपालमा उडान भर्दै आएको बताए ।

यस्तै भुटानको रोयल भुटान एयरलाइन्स र भुटान एयर, ओमानको ओमान एयर, सालामा एयर र थाइल्याण्डको थाई एयरवेज इन्टरनेशनल, थाई लायन तथा बंगलादेशका विमान बंगलादेश, दक्षिण कोरियाको कोरियन एयर, कुवेतको जजिरा एयरवेज, सिंगापुरको सिल्क एयर, मलेसियाको मलेसिया एयरलाइन्स, मालिन्दो एयर, कतारको कतार एयरवेज र टर्कीको टर्किस एयरलाइन्सले नेपालमा उडान भर्ने गरेको प्राधिकरणले जानकारी दिएको छ । नेपालको हकमा भने नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरलाइन्सले नेपालका साथै विभिन्न मुलुकमा उडान भर्दै आएका छन् ।

उनले यसरी धेरै मुलुकसँग नेपाल हवाइ यातायातमा जोडिनु मुलुकलाई फाइदाको विषय भएको बताए । ‘रेल र स्थलमार्गको सम्भव नहुँदा नेपालमा आउजाउ गर्न चाहने स्वदेशी तथा विदेशीको एकमात्र विकल्प भनेको हवाइ यातायात हो’, उनले भने, ‘जसले गर्दा हवाइ यातायातमार्फत नेपाल आउन चाहने पर्यटक तथा नेपालीलाई राहत मिलेको छ । नेपाल, भारत, चीन र तिब्बतसँग मात्र स्थलमार्ग अर्थात् सडक यातायातबाट जोडिएको छ । अन्य मुलुकहरुसँगको यात्रा भनेको हवाइ यातायात मात्र हो । यसले गर्दा अन्य मुलुकका विदेशीहरुका लागि हवाइ यातायात अनिवार्यजस्तो रहेको छ ।

मन्त्रालयका सह–सचिव सुरेश आचार्यले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नयाँ एयरलाइन्सलाई नेपालमा उडान अनुमति दिएको बताए । ‘नेपालमा युरोप, अमेरिकादेखि लिएर अफ्रिका तथा एसियाली मुलुकका पर्यटक आउने भनेको हवाइ यातायातमार्फत हो’, उनले भने, ‘त्यसैले नेपाल हवाइ यातायातमार्फत विभिन्न मुलुकसँग जोडिँदा पर्यटकको संख्यामा वृद्धि हुने हामीले अपेक्षा राखेका छौं । जसले गर्दा मुलुकलाई आर्थिक लाभ हुने देखिन्छ ।’

उनले नेपालमा उडान भर्न चाहने एयरलाइन्सका लागि वर्षमा दुई पटक निवेदन दिनका लागि सूचना जारी गर्ने गरेको बताए । ‘उडान भर्नका लागि हिउँद र ग्रीष्मयाममा उडान भर्न चाहनेका लागि निवदेन आह्वान गर्छौं’, उनले भने, ‘प्राप्त निवेदनलाई अध्ययन गरी मापदण्ड पूरा गरेमा उडान अनुमति दिन्छौँ ।’

सरकारले नेपाललाई हवाइ यातायातमार्फत विश्वलाई जोड्न चाहे पनि युरोपेली संघ (ईयु)को कालोसूचीको कारण त्यो सम्भव देखिएको छैन । नेपाली पक्षले भने युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सीसँग नेपालको हवाइसेवालाई कालोसूचीबाट हटाउन माग गर्दै आएका छन् । प्राधिकरणका अनुसार ईयूले विविध कारण देखाउँदै नेपालको हवाइ सेवालाई युरोपका २८ मुलुकमा उडान भर्न दिएको छैन । पछिल्लो समय भने नेपाल एयरलाईन्सले नयाँ गन्तव्यको रुपमा जापान तथा विदेशी लगानी रहेको हिमालय एयरलाइन्सले भने चीनमा उडान गर्दै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया