Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार४१ करोड विदेशी लगानी फिर्ता

४१ करोड विदेशी लगानी फिर्ता

यो आवमा फिर्ता लाने प्रक्रियाले पूर्णता प्राप्त भएकोले बढी फिर्ता लगेको देखिएको हो : अधिकृत खनाल


काठमाडौं ।
विदेशी लगानीकर्ताहरुले नेपालबाट ४१ करोड रुपैयाँभन्दा बढी लगानी फिर्ता लगेका छन् । चालू आर्थिक वर्षको मंसिरको पहिलो सातासम्ममा विदेशी लगानीकर्ताहरुले नेपालको उद्योग क्षेत्रबाट ४१ करोड १२ लाख रुपैयाँ फिर्ता लगेको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अधिकारीका अनुसार विदेशी लगानीकर्ताहरुले लगानी, लाभांश फिर्ता लैजानु तथा सेयरखरिद बिक्री गर्नु एउटा नियमित प्रक्रिया हो । उद्योग विभागले नै विदेशी लगानीकर्ताहरुले लैजाने नाफा, लाभांश तथा लगानी स्वीकृतिको जानकारी राष्ट्र बैंकलाई गर्ने गर्छ ।

यसैबीच विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका शाखा अधिकृत रुपेश खनालले स्वतन्त्र बजारको अवधारणाअनुरुप नै नेपालको उद्योग क्षेत्रमा लगानी आउने तथा जाने गरेको बताए । ‘चालू आवको मंसिरसम्म सो रकम फिर्ता लगे पनि पहिलेदेखि नै लगानी फिर्ता लैजाने प्रयासस्वरुप सो समयमा देखिएको हुनसक्छ’, अधिकृत खनालले आर्थिक दैनिकसँग भने, ‘यसलाई सामान्य रुपमा बुझ्नुपर्छ । सो समयमा उनीहरुले लगानी स्वीकृत पनि गराएका छन्, लगानी फिर्ता पनि लगेका छन् । त्यसैले यसलाई स्वतन्त्र बजारको अवधारणाअनुरुप चलेको एउटा प्रक्रिया मान्न सकिन्छ ।’

उनले चालू आवको सोही समयमा भने विदेशी लगानीकर्ताहरुले नेपालको उद्योग क्षेत्रमा लगानी गर्ने भन्दै १९ अर्ब ७६ करोड लगानी स्वीकृत गराएको बताए । ‘कोरोना महामारीको पछिल्लो विश्व परिस्थितिमा पनि नेपालमा विदेशी लगानी बढ्दो ग्राफमा भएको हुँदा उत्साहजनक नै छ’, उनले भने, ‘त्यसैले लगानी स्वीकृति र लगानी फिर्ता दुवै पक्षको लागि एउटा नियमित अभ्यास हो ।’

विभागका अनुसार कोरोना महामारीका कारण तथा नेपालभन्दा अन्य मुलुकमा उद्योगलाई दिने सहुलियतका कारण पनि लगानी फिर्ता तथा नाफा लगेको हुनसक्छ । ‘नेपालमा आएका विदेशी लगानी भने लामो समयसम्म टिकिरहेको पाइन्छ’, उनले भने, ‘त्यसैले गर्दा विदेशी लगानीलाई उपयुक्त वातावरण छैन भन्ने अवस्था भने छैन ।’

राष्ट्र बैंकका अनुसार चालू आवको सोही समयमा भने १८ अर्ब २३ करोड नाफा फिर्ता लगेका छन् । विभागले लगानी स्वीकृत र लगानी फिर्ता एकै समयको तथ्यांकलाई भने तुलना गर्न नसकिने जनाएको छ । नाफा तथा लगानी फिर्ता लैजानको लागि लगानीकर्ताहरुले अघिल्ला वर्षदेखि नै प्रयास गरेको हुनसक्छन् । अहिले आएर त्यसको प्रक्रिया पूरा भई रकम फिर्ता लगेको हुन्छ तर लगानी स्वीकृत भने जुन समयमा गरेको त्यही समय आउँछ । त्यसैले गर्दा लगानी स्वीकृत र लगानी फिर्ता लगेको समय एउटै भए पनि स्वीकृत लगानी नै फिर्ता भयो भन्न नसकिने अधिकृत खनालको भनाइ छ ।

सोही समयमा विदेशी लगानीकर्ताहरुले पर्यटनजन्य उद्योगमा १४ अर्ब १० करोड, सेवाजन्यमा चार अर्ब ६५ करोड, उत्पादनजन्यमा ३६ करोड, कृषिजन्यमा ३५ करोड र सूचना तथा प्रविधिजन्यमा ३० करोड लगानी विभागबाट स्वीकृत गराएका छन् । उनीहरुले एक सय एकवटा उद्योग स्थापना गर्न सो लगानी स्वीकृत गराएका हुन् ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा २० अनुरुप विदेशी लगानीकर्ताहरुले लगानी फिर्ता, नाफा लैजाने तथा सेयर खरिदबिक्री गर्न सक्नेछन् । यसैबीच विभागले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकहरुको विदेशी लगानीकर्ताहरुलाई राखिएको प्रावधानमा धेरै फरकपन नपाउने जानकारी गराउँदै उनीहरु नेपालमा लगानी गर्नबाट भने भागेको अवस्था नरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया