Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविभिन्न कार्यक्रम गरी सेनाले मनायो ‘महाशिवरात्रि तथा सेना दिवस’

विभिन्न कार्यक्रम गरी सेनाले मनायो ‘महाशिवरात्रि तथा सेना दिवस’


काठमाडौं ।
नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस विभिन्न कार्यक्रमको गरी मनाएको छ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा बिहीबार टुँडीखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमहरूको आयोजना गरी ‘महाशिवरात्रि तथा सेना दिवस–२०७७’ मनाइएको सेनाले जनाएको छ ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्री, विभिन्न संवैधानिक निकायका प्रमुखहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो । सेना दिवसको अवसरमा राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरेकी थिइन् । उक्त कार्यक्रममा नेपाली सेनाको हेलिकोप्टरद्वारा ‘महाशिवरात्रि तथा सेना दिवस –२०७७’ अंकित ब्यानर प्रदर्शन तथा पुष्पवृष्टि गरिनुका साथै षट्कोण फर्मेसन तथा नेपालको राष्ट्रिय झण्डाको आकृति समेत निर्माण गरी राइफल र तोपबाट महाशिवरात्रिको बडाइँ गरिएको थियो ।

कार्यक्रममा हेलिकोप्टरमार्फत उद्धारसम्बन्धी विशेष कलाको प्रदर्शन, मार्च पाष्ट, खुकुरी नृत्य, आइकिडो, कराँते खेल, विकास निर्माण, नेपाली सैनिक ब्याण्ड, विपत् व्यवस्थापन तथा प्रकृति संरक्षणसम्बन्धी विभिन्न हात-हतियार, भेहिकल तथा उपकरणहरूको प्रदर्शन, विशेष फौज बाहिनीबाट फ्रि–फल जम्पलगायत विभिन्न प्रदेशका संस्कृति झल्कने नाच एवं गतिविधि समेतको प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले ‘नेपाल एकीकरणको इतिहास (१८०१–१८७२)’, ‘नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय’ र ‘सिपाही वार्षिक–२०७७’ को विमोचन गर्नुको साथै फ्रि–फल जम्पमा प्रथम र द्वितीय हुने सैनिकहरूलाई पुरस्कार समेत वितरण गरेकी थिइन् ।

साथै सेना दिवसको अवसरमा प्रधानसेनापति प्रशंसा निशान तथा प्रधानसेनापति प्रशंसा पत्र बहालवाला तथा अवकाशप्राप्त रथीवृन्द १७ जना, अधिकृत दुई सय ११ जना, पदिक एक सय ९५ जना र अन्यदर्जा सात सय ७८ जना, ड्रिल प्रतियोगितामा प्रथम भएका पृतनाका सकलदर्जा ५६ जना, सैनिक श्रीमती संघका पदाधिकारीहरू आठ जना र गैरसैनिक ८२ जना गरी एक हजार तीन सय ४७ जनाले प्राप्त गरेका थिए ।

यस्तै कार्यक्रममा प्रधानसेनापति पुर्णचन्द्र थापाले नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरी र चिनिया राजदूत होउ यान्छीलाई कदरपत्र प्रदान गरेका थिए भने आफ्नो कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुन लागेका अमेरिकी राजदूतावासका सैनिक सहचारी कोल माट सोभालाई प्रधानसेनापति प्रशंसा निशानद्वारा सम्मान गरेका थिए ।

साथै सोही समारोहमा प्रधानसेनापति थापाले सैनिक आवासीय महाविद्यालयको कफी टेबल बुक ‘यात्रांकन’ पुस्तकको विमोचन गर्नुका साथै विभिन्न दर्ज्यानी चिह्न, ट्रफी तथा पुरस्कारहरू समेत वितरण गरेका थिए । उनले मानार्थ उपसेनानी पदमा पदोन्नति भएका ५४ जना पदिकहरूमध्ये उपत्यकाभित्र कार्यरत २३ जनालाई दर्ज्यानी चिह्न प्रदान गरे ।

यस्तै प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा गणतर्फ प्रथम र द्वितीय भएका क्रमशः कालीजंग गण र बटुकदल गण तथा गुल्मतर्फ गुरुगोरख गुल्म र शत्रुमर्दन गुल्मलाई प्रकृति संरक्षण ट्रफी, ईएमई गणको युद्धकार्य तथा पेसागत निरीक्षण २०७७ मा प्रथम हुने श्री पश्चिम पृतना ईएमई गणलाई पुरस्कार, शारीरिक तन्दुरुस्ती स्तर परीक्षामा प्रथम हुने अधिकृतलाई पुरस्कार प्रदान गरे ।

सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मानबाट सम्मानीत जमदार देबेन्द्रबहादुर तामाङ (अवकाशप्राप्त) लाई नगद तीन लाख रूपैयाँ प्रदान गर्नुका साथै प्रधानसेनापति उत्कृष्ट कृषक सम्मान, प्रधानसेनापति उत्कृष्ट उद्यमी सम्मान, प्रधानसेनापति उत्कृष्ट समाजसेवा सम्मान, प्रधानसेनापति सफल लघुवित्त उद्यमी सम्मान प्रदान गरे । यस्तै सेना दिवस देशभरका युनिटहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया