Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचीनसँगका दुई नाकाबाट सामान आयात मात्रै

चीनसँगका दुई नाकाबाट सामान आयात मात्रै


काठमाडौं ।
उत्तरी छिमेकी देश चीनसँगको व्यापार पुनः एकतर्फी अर्थात् आयातमुखी मात्र रहेको छ । कोरोना महामारीपछि आयातमुखी हुँदै आएको उत्तरतर्फका दुईवटा (तातोपानी/रसुवागढी) नाका पछिल्लो समय सञ्चालनमा आएसँगै पनि एकतर्फी व्यापार हुँदै आएको छ ।

पछिल्लो समय भने चिनियाँ ल्होसारको कारण नाका बन्द भएको थियो । यसअघि भने भदौमा पहिरोका कारण नेपाल–चीन व्यापारिक नाका बन्द हुनपुगेको थियो । कोरोना त्यसपछि पहिरो, चिनियाँ नयाँ वर्ष तथा ल्होसारको कारण देखाउँदै दुईवटै नाका बेलाबेलामा बन्द हुने गरेको छ । नाका खुले पनि सीमित मात्र कारोबार हुने गरेको छ । अझ पछिल्लो समयमा त उत्तरका नाकाबाट नेपाल सामान आयात मात्र भएका छन् । नेपालबाट चीनतर्फ सामान निर्यात ठप्पजस्तै छ । अहिलेको कारोबार हेर्दा नेपालको चीनतर्फको व्यापार पनि घाटामै चल्ने संकेत मिलेको छ ।

यसैबीच यसै सातादेखि दुवै व्यापारिक नाकाबाट सामग्री आयात भएको छ । नाका सञ्चालनमा आएसँगै निर्माण सामग्रीदेखि तयारी पोशाक नेपाल भित्रिएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए । दैनिक करिब एक दर्जन कन्टेनर निर्माण सामग्री, जलविद्युत् आयोजनाका सामग्री, तयारी पोशाक लिएर कन्टेनर नेपाल भित्रिएको उनले जानकारी दिए । तर, नेपालबाट भने सामान नै चीनतर्फ गएको छैन । चिनियाँ व्यापारीले सामान नमगाएको कारण नेपालतर्फबाट सामान नगएको हो ।

यस्तै रसुवा भन्सार कार्यालयका अनुसार रसुवा नाकाबाट भने बढी मात्रमा रासायनिक मल भित्रिएको छ । सरकारले दक्षिणको साथै उत्तरी नाकाबाट पनि परीक्षणको रुपमा मल आयात गरिरहेको छ । अब दुवै नाकामा चिनियाँ पक्षको अवरोध नभए दैनिक कन्टेनर भित्रिनेछ भने यस विषयमा भने कुनै ठोस निर्णय भने नभइसकेको अधिकारीहरुले बताएका छन् । त्यसैले गर्दा पुरानै लयमा अर्थात् दुवै नाकाबाट आयातनिर्यात सहज होला भन्ने विषयमा भने सरोकारावालाहरु विश्वस्त हुनसकेका छैनन् । यसैबीच कोरोनाबाट नेपाली पक्ष सुरक्षित भए पनि चिनियाँ पक्ष भने कोरोनाकै कारण देखाउँदै नाका सुचारु गर्न सहमत नभएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए ।

चिनियाँ केन्द्रीय सरकारको नीतिअनुसार नै नाकामा कडाइ भएको बताइएको छ । चिनियाँ नाका सञ्चालन गर्ने/नगर्ने विषयमा भने नेपालस्थित चिनियाँ दूतावासले कुनै पनि जानकारी बाहिर ल्याएको छैन । यसरी चीनको एकतर्फी निर्णयले गर्दा नेपाली व्यवसायीहरु मारमा पर्दै आएका छन् । यसअघि भदौ पहिलो सातामा रसुवा तथा तातोपानी क्षेत्रमा गएको पहिरोका कारण दुवै नाका सञ्चालन हुनसकेको थिएन ।

नेपाल हिमालय सीमापार वाणिज्य संघले कोरोना, पहिरोलगायतका कारण देखाउँदै यसअघि चीनले नेपालमा सामान नपठाएको बताएको छ । पछिल्लो समय नाका सञ्चालनमा आए पनि निर्यात भने हुनसकेको छैन । सामान्य अवस्थामा उत्तरतर्फको नाकाबाट विशेष गरी कृषिजन्य उपभोग्य सामग्रीहरु आयात गर्ने गरेको पाइन्छ । स्याउ, लसुन, प्याजलगायतका सामग्रीहरु ठूलो परिमाणमा चीनबाट आयात हुने गरेको छ । पछिल्लो समय भने मास्क, स्यानिटाइजरलगायतका औषधिजन्य सामग्री व्यवसायीहरुले आयात गरेको पाइन्छ ।

नेपाबाट चीनमा भने हस्तकला, चिया, दूधजन्य सामग्री, खाद्यान्न, फुटेवयरलगायतका सामग्री निर्यात हुने गरेको छ । तर, कोरोनापछि त्यसरी निर्यात हुने सामान पनि नगन्य नै छ । ती नाकाबाट नेपाली व्यवसायीले चाहेअनुसार सामान आयात गर्न पनि पाएका छैनन् । ‘उत्तरी नाकाबाट आयात पनि त्यति सहज छैन’, रसुवाका एक व्यवसायीले भने, ‘चीनमा खरिद गरेको ओखर अहिले भारतीय नाकाबाट नेपाल भित्र्याउन गरेको छ । यसले लागत पनि बढाएको छ । आयात नै गर्न कठिन छ भने निर्यातको सम्भावनै देखिन्न ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया