Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा असाधारण ढंगले सडक पूर्वाधारको विकास

नेपालमा असाधारण ढंगले सडक पूर्वाधारको विकास


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा असाधारण ढंगले सडक पूर्वाधारको विकास भएको बताएका छन् । प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको आइतबार शुभारम्भ गर्दै उनले पूर्वाधार विकासमा तीव्रता आएको बताए । साथै उनले आगामी दिनमा पनि मानिसलाई विश्वासै गर्न गाह्रो हुनेगरी पूर्वाधार विकास गरिने दाबी गरे ।

संघीय, प्रादेशिक वा स्थानीय तहका सडकलाई सुरक्षित सडकको रूपमा विकास गर्न अबदेखि पक्की र सुरक्षित सडक निर्माणमा जोड दिइने उनले बताए । बाटो लम्बाइ बढाउने मात्र नभई त्यसमा पक्की भित्तो र छेउतर्फ सुरक्षित पर्खाल वा बारका साथै दायाँबाया कुलेसा पनि अत्यावश्यक रहेको उनको भनाइ थियो । ‘अहिले पहाडमा बनेका बाटाहरू बहादुर गोर्खालीले मात्र सवारी हिँडाउन सक्ने खालको छ’, उनले भने, ‘अब त्यसलाई सबैले हिँडाउन सक्ने बनाउनुपर्ने भएको छ ।’ यसैगरी दुर्गम क्षेत्रमा एक वडामा कम्तीमा एक हेलिप्याड र एक पोखरी हुनुपर्ने उनले बताए । ‘

दुर्गम क्षेत्रबाट सुत्केरी महिलाको उद्धार गर्दा कतिपय स्थानमा हेलिप्याड नभएका कारण समस्या हुने भएकोले हेलिप्याड चाहिन्छ, अर्कोतर्फ पहाडमा पोखरीहरू खनेर जनावर र चरा चुरुंगीलाई पानी र जमिनको पुनर्सिँचन दुवै हुनसक्छ’, उनले भने । प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहसँग केन्द्र जोड्ने सडक निर्माण र मर्मतको प्रस्ताव पेश गर्न आह्वान गरेको थियो । त्यसका लागि तीन सय ९२ स्थानीय तहले सडक निर्माण र मर्मतको प्रस्ताव पेश गरेका थिए । त्यसमध्ये आवश्यकता र औचित्यका आधारमा दुई सय १० सडक छनोट भएका थिए ।

आयोजना कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको कार्यविधिअनुसार १० किलोमिटरसम्मको सडक निर्माणका लागि संघीय सरकारले ६५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले २५ प्रतिशत योगदान गर्नेछन् । यस्तै १० किलोमिटरदेखि २० किलोमिटरसम्म लम्बाइ भएका सडक निर्माणमा संघले ७० प्रतिशत, प्रदेशले १० प्रतिशत र स्थानीय तहले २० प्रतिशत योगदान गर्नेछन् । २० किलोमिटरभन्दा लामो सडक बनाउन संघीय सरकारले ७५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले १५ प्रतिशत रकम साझेदारी गर्नेछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया