Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवीरगञ्ज–जितपुर–सिमरा करिडोर परियोजना छिट्टै अघि बढ्ने

वीरगञ्ज–जितपुर–सिमरा करिडोर परियोजना छिट्टै अघि बढ्ने


काठमाडौं ।
एसियाली विकास बैंकको सहयोगमा वीरगञ्ज–जितपुर–सिमरा करिडोर परियोजना छिट्टै अघि बढ्ने भएको छ । सरकारले मुलुककै प्रमुख व्यापारिक केन्द्र वीरगञ्जमा महत्वपूर्ण करिडोर परियोजना सञ्चालनको तयारी गरेको हो ।

उक्त परियोजना सफल भए त्यस क्षेत्रको आर्थिक विकासमा कायापलट हुने सरोकारवालाहरुको भनाइ छ । ‘करिडोर योजनाको पहिचान र विकास’ सम्बन्धमा काठमाडौंमा आयोजित एकदिने कार्यशाला गोष्ठीमा सरोकारवाला निकायका प्रतिनिधिहरुले तीन तहकै सरकारबीच समन्वय गरेर उक्त परियोजनालाई सफल बनाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सहरी नीति २०६४ ले लिएको उद्देश्यलाई आधार मानी तयार गरिएको राष्ट्रिय सहरी विकास रणनीतिमा प्राथमिकतासाथ राखिएको करिडोर रणनीतिक कार्यक्रमलाई नेपाल सरकारले समावेश गरेको छ ।

१५औँ योजनामा समेत सरकारले यो परियोजनालाई रुपान्तरकारी योजनाको रुपमा प्राथमिकताका साथ अघि सारेको छ । कार्यक्रममा सहरी विकासमन्त्री प्रभु साहले वीरगञ्ज मुलुककै प्रमुख आर्थिक केन्द्र भएकाले त्यस क्षेत्रको विकासलाई अघि बढाउनसके मात्र समग्र मुलुकको विकासमा थप टेवा पुगी समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुने बताए । वीरगञ्ज–जितपुर–सिमरा करिडोर परियोजनालाई योजनाबद्ध ढंगले अघि बढाउन जरुरी रहेको भन्दै उनले त्यसका लागि केन्द्र सरकार आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले उक्त करिडोरको विकासले नै मुलुकको समग्र आर्थिक विकासलाई प्रोत्साहित गर्ने भएकाले यसको सफलताका लागि सबै पक्षको सहयोग र समन्वय महत्वपूर्ण हुने बताए । स्थानीय सरकारसँग साझेदारी नगरेसम्म कुनै पनि परियोजना सफल हुन नसक्ने भन्दै उनले तीन तहकै सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

पोखरिया नगरपालिकाका मेयर दीप नारायण रौनियारले सडक पुर्वाधारको विकाससँगै नागरिकको सामाजिक र आर्थिक विकासमा पनि ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । यस्तै निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालले करिडोरको सीमांकन गर्दा स्थानीय पालिकाहरुबीच समन्वय गर्नुपर्ने बताए । जितपुर सिमराकी उपप्रमुख सरस्वती देवी चौधरीले भविष्यमा हुनसक्ने सवारी चापलाई मध्यनजर गरी करिडोर निर्माणको योजना बनाउन सुझाव दिइन् ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले सबैको अपनत्व हुने गरी परियोजना सञ्चालनको खाकालाई मूर्तरुप दिइने बताए । महानिर्देशक प्याकुरेलले सरोकारवाला निकायबाट आएका सुझावलाई समेटेर कार्ययोजना तयार पारिने जानकारी दिए । सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक कुमार घिमिरेले सबै पक्षको सहयोगले मात्र कार्यक्रम कार्यान्वयनमा लैजान सकिने बताए । सहरी विकास तथा भवन निर्माण विभाग, क्षेत्रीय आयोजना समन्वय कार्यालयले उक्त कार्यक्रममा आयोजना गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया