Techie IT
×
गृहपृष्ठbreakingबैंकिङ कसुरका श्रेष्ठ र लामा पक्राउ

बैंकिङ कसुरका श्रेष्ठ र लामा पक्राउ


काठमाडौं ।
बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरु ललितपुर जिल्लाको ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने धनकुटा नगरपालिका–६ घर भएका ६३ वर्षीय महेन्द्र नारायण श्रेष्ठ र काठमाडौं बूढानीलकण्ठ नगरपालिका–९ बस्ने ५८ वर्षीय लाक्पा लामालाई पक्राउ गरेको हो ।

सीआईबीकी प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितहरुलाई झुक्यानमा पारी नेपाल बैंक लिमिटेड र एनआईसी एसिया बैंकका विभिन्न रकमका चेकहरु काटी दिएको घटनामा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर भएको थियो । उनीहरुमध्ये श्रेष्ठलाई उच्च अदालत पाटनको २०७७ माघ ९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा चार दिन कैद र २० लाख रुपैयाँ जरिवाना तथा लामालाई उच्च अदालत पाटनको २०७७ माघ ५ गतेको फैसलाले बैंकिङ कसुरमा चार दिन कैद र १० लाख ४५ हजार रुपैयाँ जरिवना ठहर भएको थियो । अदालतको उक्त फैसलासँगै फरार भएका श्रेष्ठ र लामालाई सीआईबीबाट खटिएको प्रहरीले श्रेष्ठलाई बुधबार ललितपुर र लामालाई काठमाडौं बूढानीलकण्ठबाट बिहीबार पक्राउ गरेको प्रवक्ता पन्तले बताइन् ।

पक्राउ श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर तथा लामालाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रवक्ता प्रहरी उपरीक्षक पन्तले जानकारी दिएकी छिन् । प्रवक्ता पन्तका अनुसार श्रेष्ठविरुद्ध पेशल राज पोखरेल र लामाविरुद्ध प्रकाश खड्काले जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा भएको फैसलामा उनीहरु दोषी ठहर भएका थिए । यसैगरी सीआईबीले सरकारी र सार्वजनिक लिखत कीर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका–१८ घर भई हाल सोही महानगरपालिका–२५ भैँसेपाटी बस्ने ४१ वर्षीय रविन्द्र महर्जनलाई पनि पक्राउ गरेको छ ।

भ्याली कन्स्ट्रक्सन प्रालिले ललितपुर पुल्चोक श्रीमहलस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको लेटरप्याड कीर्ते गरी चपुर–९ स्थित बहुतले अस्पताल भवन, मेडिटेसन हल, कक्षाकोठा र कम्पाउन्ड वाल समेत २०७१ भदौ २४ गते निर्माणकार्य सुरु गरी भ्याटबाहेक ४३ करोड ३७ लाख ५५ हजार छ सय नौ रुपैयाँ ८८ पैसा २०७३ असोज ८ गते सम्पन्न गरी संस्थालाई हस्तान्तरण गरेको प्रमाणित गरिन्छ’ भन्ने व्यहोरा उल्लेख गरी संस्थाका योजना अधिकृत गंगा कुमारी गुरुङ र शाखा अधिकृत दीर्घ कुमारी गुरुङको हस्ताक्षर भएको विभिन्न छवटा पत्रहरु कीर्ते गरेको खुल्न आएको छ । ती पत्रहरू विभिन्न मिति र समयमा नेपाल सरकारका विभिन्न निकायहरुद्वारा आह्वान गरिएका बोलपत्रहरुमा भाग लिने क्रममा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको अनुभवको प्रमाणित पत्र समेत संलग्न गरी सरकारी र सार्वजनिक लिखत कीर्ते गर्ने कार्यमा समेत उनी संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ परेका महर्जनको साथबाट एक थान मोबाइल, दुई थान ल्यापटप, दुुई थान कम्प्युटरको सीपीयू, सात थान मागी गुम्बा समिति संस्थाको छापसहितको खाली लेटरप्याड, एक थान मागी गुम्बा समिति संस्थाको छाप, मागी गुम्बा समिति संस्थासँगको सहमतिपत्र र बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको थप रकम निकासासम्बन्धी लेखिएको चिठ्ठिको छायाँप्रति, २३ थान रकम समेत लेखिएको विभिन्न बैंकहरुको चेकलगायतका कागजपत्र प्रहरीले बरामद गरेको छ । पक्राउ महर्जनउपर लिखतसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान भइरहेको सीआईबीकी प्रवक्ता पन्तले जानकारी दिइन् ।


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया