Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसन्तोषी निर्माण कम्पनीका सञ्चालक केशवराज कँडेलद्वारा दुई करोड ८२ लाख राजस्व छली

सन्तोषी निर्माण कम्पनीका सञ्चालक केशवराज कँडेलद्वारा दुई करोड ८२ लाख राजस्व छली


काठमाडौं
सन्तोषी निर्माण सेवा प्रालिका सञ्चालक एवं प्रबन्ध निर्देशक केशवराज कँडेलले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी दुई करोड ८२ लाख रूपैयाँ राजस्व छली गरेको पाइएको छ । कँडेलको निर्माण कम्पनीले अन्य दुई निर्माण कम्पनीसँग मिलेर सर्वसाधारण व्यक्तिहरूको नागरिकता र सहीछाप दुरूपयोग गरी उनीहरूको नामबाट फर्महरू खडा गरी वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूअकर बिजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर चुहावट गरेको पाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

विभागले भरतपुर महानगरपालिका वडा नं. २ स्थित सन्तोषी निर्माण सेवा प्रालि (स्थायी लेखा नं. ३०००११३१७)का सञ्चालक, सन्तोषी/लोहनी जेभी (स्थायी लेखा नं. ६०३४४४०३८) र सन्तोषी/रौताहा जेभी (स्थायी लेखा नं. ६०३२८६३५९)का लिड पार्टनर एवं मुख्य कारोबारी केशवराज कँडेलसहित तीन जनाविरुद्ध दुई करोड ८२ लाख चार हजार छ सय दुई रूपैयाँ राजस्व छली गरेको अभियोगमा मुद्दा दायर गरेको छ । उक्त तीनवटै कम्पनीका मुख्य सञ्चालक केशवराज कँडेल, उज्वलराज कँडेल र लक्ष्मीकुमारी कँडेल रहेका छन् ।

विभागका अनुसार सन्तोषी/लोहनी जेभी र सन्तोषी निर्माणले मूअ करतर्फ ६७ लाख ९५ हजार छ सय ५६ रूपैयाँ र आयकरतर्फ एक करोड २१ लाख ३१ हजार चार सय ५७ रूपैयाँ गरी एक करोड ८९ लाख २७ हजार एक सय १२ रूपैयाँ राजस्व चुहावट गरेको छ । त्यस्तै सन्तोषी/रौताहा जेभी र सन्तोषी निर्माणले मूअ करतर्फ ३३ लाख ३१ हजार २२ रूपैयाँ र आयकरतर्फ ५९ लाख ४६ हजार चार सय ६८ रूपैयाँ गरी ९२ लाख ७७ हजार चार सय ९० रूपैयाँ राजस्व चुहावट गरेको विभागले जनाएको छ ।

विभागले सन्तोषी/लोहनी जेभी, सन्तोषी/रौताहा जेभी र सन्तोषी निर्माणका सञ्चालक एवं मुख्य कारोबारी केशवराज कँडेल, सञ्चालहरू उज्वलराज कँडेल र लक्ष्मीकुमारी कँडेललाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) तथा सोही ऐन (पहिलो संशोधन–२०७६) को दफा २३(१), २३(१) को खण्ड (घ) र २३ (४) वमोजिम विभागले सन्तोषी/लोहनी जेभी र सन्तोषी निर्माणलाई एक करोड ८९ लाख २७ हजार एक सय १२ रूपैयाँ र सन्तोषी/रौताहा जेभी र सन्तोषी निर्माणलाई ९२ लाख ७७ हजार चार सय ९० रूपैयाँ बिगो रकम असुलउपर गरी जरिबाना र कैद सजाय माग दाबी गरी मंगलबार उच्च अदालत पाटनमा छुट्टाछुट्टै मुद्दा दायर गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया