Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्यात व्यापारमा सामान्य वृद्धि

निर्यात व्यापारमा सामान्य वृद्धि

निर्यातजन्य वस्तुमा सोयाबिन तेल र अलैँची बढी


काठमाडौं ।
मुलुकको निर्यात व्यापारमा वृद्धि भएको छ । कोरोना महामारीका बीच पनि सरकारले सम्पूर्ण क्षेत्र अर्थात् सेवा, उद्योगलगायतका क्षेत्रहरु सञ्चालनका लागि खुला गरेसँगै मुलुकको व्यापार चलायमान भएको हो । योसँगै पछिल्लो समय निर्यात व्यापारमा वृद्धि भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार चालू आर्थिक वर्ष (०७७/७८) को आठ महिनाको अवधिमा निर्यात व्यापार ७.८४ प्रतिशतले वृद्धि हुँदा ८० अर्ब ७७ करोड ८८ लाख पुगेको छ । गत आव (०७६/७७)को सोही अवधिमा भने निर्यात व्यापार ७४ अर्ब ९० करोड ७९ लाखको थियो ।

निर्यातजन्य प्रमुख सामग्रीमा भने सोयाबिन तेल र त्यसपछि क्रमशः अलैँची, चिया लगायतका सामग्री रहेका छन् । आठ महिनाको अवधिमा २३ अर्ब १२ करोडको सोयाबिन तेल, चार अर्ब ९१ करोडको अलैँची, चिया दई अर्ब ६६ करोड, दुई अर्ब ५० करोडको कार्पेट, बिरालो र कुकुरको खाना एक अर्ब तीन करोड र ९५ करोडको सूर्यमुखी तेल निर्यात गरिएको विभागले जनाएको छ । यसका साथै नेपालबाट विभिन्न मुलुकमा अदुवा, जुट, जुस, फूलजन्य सामग्री, ऊनीजन्य कपडालगायतका सामग्री निर्यात हुने गरेको छ । यस्तै पछिल्लो समय उद्योगधन्दा, कलकारखाना सम्पूर्ण क्षेत्र सञ्चालनमा आएसँगै उत्पादनमा वृद्धि भई निर्यात व्यापारमा सुधारको भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

विभागका अनुसार मुलुकको निर्यात व्यापार मात्र नभई आयात व्यापार समेत बढेको छ । आठ महिनाको अवधिमा आयात २.१४ प्रतिशतले वृद्धि हुँदा नौ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । यस्तै गत आवको सोही समयमा मुलुकको आयात व्यापार नौ खर्ब २४ अर्ब २४ करोडको रहेको थियो । निर्यातको तुलनामा आयातजन्य सामग्री संख्यात्मक र मात्रात्मक रुपमा समेत धेरै हुने गरेको छ । यसैबीच आठ महिनाको अवधिमा नेपालमा सबैभन्दा बढी मूल्यको १९ अर्ब २६ करोडको पेट्रोल, ४७ अर्ब ३९ करोडको डिजेल र दुई अर्बको हवाइ इन्धनको आयात गरिएको छ ।

यस्तै सोही अवधिमा व्यापारघाटा समेत बढेको छ । व्यापारघाटा आठ महिनाको अवधिमा १.६३ प्रतिशतले बढ्दा आठ खर्ब ६३ अर्ब २० करोड रुपैयाँ रहेको छ । गत आवको सोही समयमा भने आठ खर्ब ४९ अर्ब ३३ करोड रहेको छ । आयात उच्च र निर्यात न्यून हुँदा व्यापारघाटा हरेक महिनामा बढेको पाइन्छ । यद्यपि बन्दाबन्दीको अवस्थामा भने व्यापार घाटा सुधारोन्मुख रहेको थियो । फागुन मसान्तसम्ममा कुल वैदेशिक व्यापार भने २.५६ प्रतिशतले बढ्दा १० खर्ब २४ अर्ब ७६ करोड पुगेको छ ।

यस्तै कुल वैदेशिक व्यापार गत आवको सोही समयमा नौ खर्ब ९९ अर्ब १५ करोड रहेको थियो । आयातनिर्यात दुवै बढेसँगै मुलुकको व्यापार भने पहिलेकै अवस्थामा आइपुगेको छ । बन्दाबन्दी अघि अर्थात् गत फागुनसम्ममा आयात नौ खर्ब २४ अर्बको र निर्यात ७४ अर्बको रहेको थियो । यसैबीच विभागका अधिकारीहरुले पनि मुलुकको व्यापार सामान्य स्थितितर्फ लागेको बताएका छन् । बन्दाबन्दी अघिकै रकममा आयातनिर्यात हुनथालेकोले गर्दा व्यापार पहिलेकै अवस्थामा पुगेको भन्न सकिने अधिकारीहरुको भनाइ छ ।

मन्त्रालयले ‘कोभिड–१९ ले उद्योग क्षेत्रमा पारेको प्रभाव’को अध्ययनमा लघु उद्यम तथा घरेलु उद्योग १७ वटा, साना उद्योग आठवटा, मझौला उद्योग चारवटा र ठूला उद्योग आठवटा रहेकामध्ये १० दशमलव ८१ प्रतिशत उद्योग व्यवसाय पूर्ण बन्द भएको तथा ८९ दशमलव १९ प्रतिशत उद्योग व्यवसायहरु आंशिक रुपमा सञ्चालन भएको पाएको थियो । यस्तै पूर्ण बन्द भएका उद्योगहरुमा लघु तथा घरेलु उद्योगको संख्या ७५ प्रतिशत रहेको छ । अध्ययनमा कुल ३७ वटा उद्योग व्यवसायहरुको सहभागिता रहेको थियो ।

यस्तै अध्ययनको क्रममा उद्योगहरुको उत्पादन क्षमतामा उल्लेख्य रुपमा गिरावट आएको समेत बताइएको थियो तर पछिल्लो समय भने सरोकारावाला निकायका अनुसार कच्चापदार्थ ढुवानी, श्रमिकहरुको उपस्थिति, यातायातको उपलब्धता सामान्य अवस्थामा पुगेको कारण उद्योगधन्दा सञ्चालन गर्न समस्या नभएसँगै मुलुकमा रहेका करिब शतप्रतिशत उद्योगधन्दा सञ्चालनमा आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया