Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगरिब नेपालीको विलासी जीवनशैली

गरिब नेपालीको विलासी जीवनशैली

सात महिनामा २४ अर्बको मोबाइल र १५ अर्बको सुन आयात


काठमाडौँ ।
प्रतिव्यक्ति वार्षिक आम्दानी सरदर सवा लाख रुपैयाँ पनि नभएको नेपालमा सुन, मोबाइलजस्ता विलासी सामान र नेपालले नै उत्पादन गर्ने चामल र भटमासको तेल आयातमा नयाँ रेकर्ड कायम गर्न थालेको छ । यसले नेपालीहरु काम गर्न छाडेर रेमिट्यान्सको भरमा जीवनशैली विलासीतर्फ उन्मुख गराउँदै लगेको संकेत गरेको छ ।

तथ्यांक विभागले गत फागुन १९ गते सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालीले कुल आम्दानीको आठ दशमलव नौ प्रतिशत मात्र बचत गरेर उपभोगमा मात्रै ९१ दशमलव एक प्रतिशत खर्च गर्ने गरेको तथ्यांक सार्वजनिक गरेलगत्तै अर्थ मन्त्रालयले चैत पहिलो साता सार्वजनिक गरेको माघ महिनासम्मको तथ्यांक समेटिएको अर्थ बुलेटिन २०७७ मा सुनजस्ता विलासी वस्तुको आयातमा अर्बौँ रुपैयाँ खर्च भइरहेको तथ्यांक सार्वजनिक भएको हो ।

भन्सार विभागको आयातको तथ्यांक र तथ्यांक विभागको उपभोगमा खर्च हुने रकमको तथ्यांकले नेपालीहरु अनुत्पादक क्षेत्रमा विकसित मुलुकका नागरिकका जसरी प्रतिस्पर्धा गरेर खर्च गर्न लागेको देखिएको छ ।तथ्यांक विभागले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) का बारेमा तथ्यांक निकालेर नेपालीले ९१ प्रतिशतभन्दा बढी आम्दानी उपभोगमै खर्च गर्ने तथ्यांक सार्वजनिक गरेको केही दिनपछि नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल कार्यक्रमको उद्घाटन भाषणमा प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक उपभोग्य र औद्योगिक कच्चा पदार्थ आयातमा मात्र जोड दिन व्यवसायीहरुलाई आग्रह गरेका थिए ।

तर, प्रधानमन्त्रीको आग्रहविपरीत भन्सार विभागले निकालेको तथ्यांकमा सुनजस्ता अनुत्पादक क्षेत्रमा नेपालीले आफ्नो कमाइको ठूलो रकम खर्च गरेको देखाएको छ ।अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्म नेपालमा २४ अर्ब छ करोड ८२ लाख रुपैयाँको मोबाइल मात्र आयात भएको छ । गत साल सोही अवधिमा १३ अर्ब तीन करोड २७ लाख रुपैयाँको मात्र मोबाइल फोन आयात भएको थियो । चालू आवको उक्त आयात अघिल्लो आवको सोही अवधिको तुलनामा ८४ दशमलव सात प्रतिशत बढी हो ।

यस्तै, चालू आवको सात महिनामा नेपालीले सुन आयातमा मात्रै १५ अर्ब एक करोड ८३ लाख रुपैयाँ खर्च गरेका छन् । नुन खान धौधौ पर्ने नेपालीले वार्षिक अर्बौँ रुपैयाँको सुन केका लागि आयात गर्छन् भन्नेबारे अर्थ मन्त्रालय नै चकित छ । ‘नेपालीले सुन लगाउँछन् । तर, जुन रकमको सुन आयात गरिरहेका छन्, त्यो स्वाभाविक छैन’, अर्थका एक अधिकारीले भने, ‘सुनमा जसरी पैसा खर्च गरिएको छ यसले नेपाली धेरै सम्पन्न छन् भन्ने देखाउँछ । तर, नेपालीको वास्तविक अवस्था हेर्दा त्यति धेरै सुन खपत गर्ने देखिँदैन ।’

नेपालीले महंगा मोबाइल फोन खरिदमा पनि त्यत्तिकै पैसा फ्याँकिरहेका छन् । यसले नेपालमा अनुत्पादक क्षेत्रमा खर्च गरेर आत्मनिर्भर हुने बाटो बन्द गर्नलागेको देखाएको छ । सहरी जीवनशैली अपनाउने वृद्धि हुँदा गाउँका खेतबारी बाँझो देखिनथालेका छन् । खेती गर्ने युवाहरुको अभाव हुँदा नेपालले धानको सिजनमै अर्बौँ रुपैयाँको चामल आयात गरिसकेको छ । अर्थ मन्त्रालयका अनुसार नेपालले चालू आर्थिक वर्षको सात महिनाको अवधिमा १७ अर्ब ३० करोड दुई लाख रुपैयाँको चामल र २० अर्ब ९८ करोड ९३ लाख रुपैयाँको भटमासको तेल आयात गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा एक सय १७ दशमलव दुई प्रतिशत बढी हो ।

फलामको औद्योगिक कच्चा पदार्थ आयात पनि केही बढाएको छ । तर, अन्य खर्चको तुलनामा कच्चा पदार्थ आयात अत्यन्त न्यून छ । नेपालीले उपभोग्य वस्तुमा खर्च गरिरहे पनि आर्थिक वृद्धिदर ऋणात्मक देखिने तथ्यांक विभागले अनुमान गरेको छ । अघिल्लो आवको आर्थिक वृद्धिदर एक दशमलव ९९ प्रतिशतले ऋणात्मक देखिएको तथ्यांक विभागले केही दिन अगाडि पत्रकार सम्मेलन गरेर जानकारी नै दिएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया