Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकेराउ, मरिचका साथै महंगा सवारीसाधन आयात बन्देज फुकुवा

केराउ, मरिचका साथै महंगा सवारीसाधन आयात बन्देज फुकुवा


काठमाडौं ।
सरकारले केराउ, नधुल्याएको मरिचका साथै महंगा सवारीसाधनको आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले केराउ, मरिच, सुपारी, छोकडा र महंगा सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्नको लागि गरेको आग्रह मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै ती वस्तुहरु आयात गर्न सकिने भएको हो ।

सरकारले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै केराउ, मरिच, सुपारी, छोकडा र महंगा सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको जानकारी सार्वजनिक गरेको हो । ‘केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७/०७८ अवधिको लागि कुल ८० हजार मेट्रिक टन परिमाणमा ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिने गरी परिमाणात्मक बन्देज लगाइएको छ ।

मरिचको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आव ०७७/०७८ अवधिको लागि कुल १५ हजार मेट्रिक टन परिमाणमा ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिने गरी परिमाणत्मक बन्देज लगाइएको छ’, राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘सुपारीको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आव ०७७/७८ अवधिको लागि कुल २५ हजार मेट्रिक टन परिमाणमा ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिने गरी परिमाणात्मक बन्देज लगाइएको छ तथा छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आव ०७७/७८ को लागि कुल पाँच हजार मेट्रिक टन परिमाणमा ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिने गरी परिमाणत्मक बन्देज लगाइएको छ ।’

यस्तै छोकडाको हकमा भने ०७६ चैत १६ गतेअगाडि नै चलान (सिपिङ) भइसकेको तर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको स्वीकृति नलिएका छोकडाको हकमा सम्बन्धित भन्सारस्थित विभागको कार्यालयले गुणस्तर प्रमाणीकरण गरी उपयुक्त देखिएको सिफारिस गरेमा त्यस्तो छोकडा पैठारी गर्न स्वीकृति दिने भएको छ । यस्तै राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अमेरिकी डलर ५० हजारभन्दा बढी मूल्यको सवारीसाधनको पैठारीमा लगाइएको पूर्ण बन्देज हटाइएको बताएको छ ।

सरकारले २०७६ चैत २४ गते केराउ, सुपारी, छोकडा, नधुल्याएको मरिच र महंगा सवारीसाधान आयातमा पूर्ण रुपमा बन्देज लगाएको थियो । यस्तै सोही समयमा तयारी मदिरा आयातमा समेत प्रतिबन्ध लगाएको थियो । कोरोना महामारीका कारण गरिएको बन्दाबन्दीको समयमा अति आवश्यक नपर्ने ती वस्तुहरुको आयातमा सरकारले प्रतिबन्ध लगाएको थियो । निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी केराउ, सुपारी, महंगा सवारीसाधनलगायतको आयातमा पूर्ण बन्देज लगाइएको थियो भने सोही ऐनमा टेकी सरकारले ती वस्तुहरुको आयात फुकुवा गरेको हो ।

मन्त्रालयले फागनु २५ गते केराउ, मरिच, सुपारी, छोकडा र महंगा सवारीसाधनको आयात फुकुवा गर्ने प्रस्ताव मन्त्रिपरिषद् लगेको थियो । यसैबीच सरकारले महंगा सवारीसाधनको आयात फुकुवा नगर्दैको अवस्थामा भने महंगा सवारीसाधन आयात भएको पाइन्छ भने आयात बन्देज भएकै अवस्थामा टेस्लालगायतका महंगा सवारीसाधान नेपाल भित्रिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया