Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२५ मुलुकसँगको व्यापारमा नेपाललाई नाफा

२५ मुलुकसँगको व्यापारमा नेपाललाई नाफा


काठमाडौं ।
बेलायतसँग नेपालको व्यापार स्थिति नाफामा देखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार विकसित मुलुक बेलायतसँग मात्र नभई आइसल्याण्ड, डेनमार्क, लेबनान, मौरिसस, कंगो, सुडानलगायतका मुलुकसँग समेत नेपालको व्यापार नाफामा रहेको छ । चालू आर्थिक वर्षमा करिब एसिया, युरोप, अफ्रिकी र ओसिनिया मुलुक गरेर करिब चार दर्जन मुलुकसँगको व्यापारमा नेपाल नाफामा रहेको छ ।

चालू आवको फागुन मसान्तसम्म नेपालले बेलायतसँग ३१ करोड ४४ लाख रुपैयाँको नाफाको व्यापार गरेको छ । जुन सबैभन्दा धेरै हो । नेपाल–बेलायतबीचको व्यापारमा आठ महिनाको अवधिमा एक अर्ब ७० करोड ४५ लाखको निर्यात तथा एक अर्ब ३९ करोड आयात भएको भन्सार विभागले जनाएको छ ।

यस्तै आठ महिनाको अवधिमा नेपालले लेबनानसँग १८ करोड तीन लाख, डेनमार्कसँग १५ करोड ७० लाख, सुडानसँग सात करोड ६७ लाख, आइसल्याण्डसँग एक करोड छ लाख, यमनसँग ८७ लाख, होन्डुरससँग १४ लाख ७१ हजार, बोस्निया एण्ड हर्जगोभिनियाँसँग ११ लाख ६५ हजार, मौरिसससँग १० लाख १३ हजारको नाफाको व्यापार गरेको छ । यस्तै मुलुकले सोही अवधिमा ट्युनिसियासँग सात लाख ५४ हजार, इस्टोनियासँग पाँच लाख २६ हजार, आर्मेनियासँग चार लाख ३७ हजार, कंगोसँग तीन लाख ७६ हजार, मोन्टेनेग्रोसँग तीन लाख ३९ हजार, टिर्निडो एण्ड टोब्याकोसँग दुई लाख ६५ हजार, मालीसँग ३१ हजारको नाफाको व्यापार गरेको छ ।

सो अवधिमा मुलुकले लेबनानमा १८ करोड ९८ लाख निर्यात तथा ९४ लाख ७६ हजार आयात, डेनमार्कमा ३५ करोड ५५ लाखको निर्यात तथा १९ करोड ८५ लाखको आयात, सुडानमा सात करोड ७९ लाख निर्यात तथा ११ लाख ४४ हजार आयात, आइसल्याण्डमा एक करोड १२ लाख निर्यात तथा पाँच लाख १९ हजारको आयात, यमनमा ९३ लाख ३४ हजार निर्यात तथा पाँच लाख आयात, होन्डुरसमा १४ लाख ८९ हजारको निर्यात तथा १८ हजारको आयात, बोस्निया एण्ड हर्जिगोभनियामा १५ लाख ४९ हजारको निर्यात र तीन लाख ८४ हजार आयात, मौरिससमा ३९ लाख ९२ हजार निर्यात तथा २९ लाख ७९ हजार आयात गरी आयातनिर्यातको व्यापार गरेको छ ।

यस्तै मुलुकले ट्युनिसियामा १२ लाख निर्यात तथा चार लाख ५३ हजार आयात, इस्टोनियामा निर्यात ४५ लाख ८५ हजार निर्यात तथा ४० लाख ५९ हजार आयात, आर्मेनियामा चार लाख ४७ हजारको निर्यात तथा १० हजारको आयात, टिर्निडो एण्ड टोब्याकोमा २९ लाख २१ हजार निर्यात तथा दुई लाख ६२ हजार आयात, मालीमा दुई लाख २७ हजार निर्यात तथा एक लाख ९६ हजार आयात अर्थात् आयातनिर्यातको व्यापार गरेको छ । यस्तै कंगो र मोन्टेनेग्रोमा भने क्रमशः तीन लाख ७६ हजार र तीन लाख ३९ हजारको निर्यात व्यापार मात्र गरेको छ ।

यसका साथै अजरबैजन, बहामास, डोमिनिका, लिक्टेन्सटाइन, मोनाक्को, मोन्टेनेग्रो, न्यु क्यालेडोनिया, वालिस र फुटुनासँगको व्यापारमा नेपाललाई लाखौँ रुपैयाँकोे नाफाको व्यापार भएको छ । नेपाली व्यवसायीहरुले निर्यात व्यापारमा विशेष गरी तयारी सामग्रीहरु अर्थात् धागो, कार्पेट, गलैँचा, पस्मिना, फुटवेयर, मञ्जन, आयुर्वेदिक औषधि, चाउचाउ, पास्ता, हस्तकला उत्पादन, झोला तथा गहना निर्यात गर्छन् । यस्तै उनीहरुले भटमासको तेल, पाल्म तेल, अदुवा, चिया, मुसुरो समेत निर्यात गरेको पाइन्छ ।

यसैबीच अफ्रिका तथा ओसिनिया लगायतका मुलुकमा भएको एकतर्फी व्यापार भने व्यक्तिगत प्रयोजनको लागि भएको व्यापार विभागका सूचना अधिकारी शिशिर घिमिरले बताउँदै आएका छन् । यति धेरै मुलुकसँग नाफाको व्यापार गर्ने सफल नेपाली उद्योगी तथा व्यवसायीले यसलाई बढोत्तरी तथा निरन्तरता दिन सक्छन्÷सक्दैनन् भन्ने विषय गौण रहेको पाइन्छ । निर्यात व्यापारमा वृद्धि भएको खण्डमा भने मुलुकको अर्थतन्त्र धनात्मक बन्दै जाँदा आर्थिक स्तर सुदृढ हुनेछ ।

कोरोनाका कारण उद्योगहरु बन्द हुनपुग्दा निर्यात व्यापारमा असर परेको पाइन्छ । मन्त्रालयले गरेको अध्ययनअनुरुप बन्दाबन्दीमा लघु उद्यम तथा घरेलु उद्योग १७ वटा, साना उद्योग आठवटा, मझौला उद्योग चारवटा र ठूला उद्योग आठवटा रहेकामध्ये १० दशमलव ८१ प्रतिशत उद्योग व्यवसाय पूर्ण बन्द छन् भने ८९ दशमलव १९ प्रतिशत उद्योग व्यवसायहरु आंशिक रुपमा सञ्चालमा छन् ।

पूर्ण बन्द भएका उद्योगहरुमा लघु तथा घरेलु उद्योगको संख्या ७५ प्रतिशत रहेको छ । अध्ययनमा कुल ३७ वटा उद्योग व्यवसायहरुको सहभागिता रहेको थियो । सर्वेक्षणमा सहभागी उद्योगहरुमध्ये ५४ प्रतिशत उद्योगहरुको ७५ प्रतिशतसम्म उत्पादन गिरावट आएको छ । अध्ययनमा सहभागीहरुमध्ये २३ दशमलव ५२ प्रतिशत लघु घरेलु उद्योगको उत्पादन क्षमता ७५ प्रतिशतले घटेको पाइएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया