Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजनप्रतिनिधि र जग्गा दलालको मिलेमतोमा चन्द्रागिरि नगरपालिकाभित्र अवैध जग्गा प्लटिङ !

जनप्रतिनिधि र जग्गा दलालको मिलेमतोमा चन्द्रागिरि नगरपालिकाभित्र अवैध जग्गा प्लटिङ !


काठमाडौं ।
राजधानी काठमाडौंस्थित चन्द्रागिरि नगरपालिकामा स्थानीय जनप्रतिनिधिकै मिलेमतोमा अवैध रुपमा जग्गा प्लटिङ हुने गरेको पाइएको छ । चन्द्रागिरि नगरपालिका वडा नं. ३ मा जग्गा दलालहरुले नगरपालिका, नापी कार्यालय र मालपोत कार्यालयका कर्मचारीसँग मिलेर राजकुलो, जंगल, खोला मिचेर प्लटिङ्ग गर्दै बेच्दै गर्ने गरेका छन् । सरकारी जग्गामा प्लटिङ्ग गर्न चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरी, वडाध्यक्ष र कर्मचारीहरुले पनि कमिसनको लोभमा साथ दिएको स्थानीयको आरोप छ ।

यसअघि घुस रकमसहित नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत घुससहित पक्राउ पर्नुले पनि सरकारी जग्गा मिच्नुमा सरकारी कर्मचारीको पनि संलग्नता रहेको पुष्टि हुने स्थानीयको दाबी छ । अवैध रुपमा जग्गा प्लटिङ्ग मौलाउन थालेपछि स्थानीयले नगरपालिका, स्थानीय प्रहरीमा पटक–पटक उजुरी दिए । तर नगरपालिकाले उनीहरुको उजुरीको कुनै सुनुवाइ नगरेपछि स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका थिए ।

अख्तियारमा उजुरी परेसँगै आयोगले अवैध रुपमा भएको जग्गा प्लटिङबारे छनबिन गर्न निर्देशन दिएको छ । आयोगले छानबिन समिति नै बनाएर अनुगमन गर्न निर्देशन गरेको छ । अख्तियारले चासो देखाउन थाले पनि भने पछिल्लो समय चन्द्रागिरि नगरपालिकाले पनि अवैध रुपमा प्लटिङ्ग गरिएको जग्गामा भौतिक संरचना निर्माण गरिएकोले उक्त कार्य तत्काल रोक्न भन्दै परिपत्र जारी गरेको छ ।

नगरपालिकाले परिपत्रसहित निर्देशन गरे पनि काम भने रोकिएको छैन । जग्गा प्लटिङ्गसँगै यहाँ जग्गा खार्ने, माटो पुर्ने, रुख फडानी गर्ने कार्य तीव्ररुपमा भइरहेको छ । यहाँ जग्गा दलालहरुले नक्सामा तीन फिट मात्र भएको जग्गालाई फिल्डमा १३÷१४ फिट देखाई जग्गा बेच्ने गरेका छन् । फिल्ड र नक्साअनुसार कित्ताकाट गर्दा सबै जग्गा क्षेत्रफल कम हुने गरेको छ ।

चूडामणि गौतमलगायतका समूहले चन्द्रागिरि वडा नम्बर ७ को रहेको नेपाल आयल निगमभन्दा तलको विविरे खोला वरिपरिको जग्गा मिचेर प्लटिङ्ग गरेका हुन् । नियम विपरीत सरकारी जग्गा प्लटिङ्ग गर्नेहरुमा जग्गा दलालहरु चूडामणि गौतम, लिला विक्रम थापा, तिलक भण्डारी र ज्ञानेन्द्र ढुंगाना छन् । ढुंगाना नेपाली सेनाका पूर्वकर्मचारी रहेको र उनले सेनाभित्रकै अन्य व्यक्तिलाई समेत किनाएका छन् ।

उनीहरु वडा अध्यक्ष शम्भु केसीका निकट व्यक्ति भएका कारण यस्तो धन्दा भएको स्थानीयको आरोप छ । मालपोत कार्यालय कलंकीका कर्मचारीहरुको पनि मिलेमतोले गर्दा सरकारी जग्गा मिच्न दलालहरुलाई अझ सहज भएको एक स्थानीयले बताए । चूडामणि गौतमले चन्द्रागिरि वडा नम्बर ३ स्थित आयल निगमभन्दा तल खोलाको सरकारी जग्गा २६ फिट मिचेर धमाधम पर्खाल खडा गरेका थिए । पर्खाल निर्माणको बेलामा मौन रहेको नगरपालिकाले अहिले अख्तियारले कारबाही गर्ने संकेत पाएपछि दलालले बनाएको संरचना भत्काइदिएको छ ।

जग्गा दलाल चूडामणिले सरकारी जग्गा मिचेर जथाभावी प्लटिङ्ग गरी कित्ता नम्बर ७०, २७७, ६६, ६७, ६८, ७३, ७७, ६६८, ६६७, ९९८१, ४४४, ३३८, ४३६, ३१३, २७९, २६०, ४३७, ४३९, ३२५, २६६, २६४, ३२७, ३२८, ३५५, २५३, ३२९, ३२१, ३२२, २७४, २६९, २७१, २६७, २७६, २७२, २५८, २४७, २५० र २५१ बेचिसकेका छन् । उक्त जग्गा पाँच वर्षअगाडि जथाभावी कित्ताकाट गरेर नक्सामा बाटो समेत नराखी घडेरी खरिदकर्तालाई झुक्याएर बेचिएको हो ।

यस्तै लिला विक्रम थापाले कित्ता नम्बर ८१, ७८३, ७८४, ७९२, ७९१, ७९३, ७७८, ७६८, ७७०, ८९६, ८९५, ८९७, ८५३, ९२६, ९२७, ९२४, ९२५, ९२३, ९००, ८९९, ९०१ र ८९८ बेचेका छन् । उक्त कित्ताकाट गरिएका जमिन राजकुलो (सरकारी) मिचेर प्लटिङ्ग गरिएको थियो । पछिल्लो समय सरकारी जग्गा र खोला मिच्ने कार्यले वडा नम्बर ३ सँगै वडा ७ मा पनि मौलाएको छ । यहाँका त्रिवेणी घाममा रहेको खोला मिची भूमाफियाहरुले प्लटिङ्ग गर्ने अभियानलाई निरन्तरता दिइरहेको स्थानीयहरुले आरोप लगाएका छन् । हाल जग्गा प्लटिङ्गका नाममा चन्द्रागिरि नगरपालिकाका अन्य स्थान मातातीर्थ, थानकोटलगायतका स्थानहरुमा पनि लुट मच्चाउने कार्यले तीव्रता पाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया