Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिभिल सहकारीमा जम्मा भएको अर्बौं रुपैयाँ बेलायत र बेलारूस पठाएको खुलासा

सिभिल सहकारीमा जम्मा भएको अर्बौं रुपैयाँ बेलायत र बेलारूस पठाएको खुलासा

पैसा माग्नेलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइदिने धम्की, ‘प्रधानमन्त्री ओली र मेरो बीचको सम्बन्ध साँढुदाइ/भाइको सम्बन्ध हो’


काठमाडौं ।
सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा सर्वसाधारण बचतकर्ताहरुले जम्मा गरेको अर्बौं रुपैयाँ इच्छाराज तामाङले अवैध रुपमा बेलायत र बेलारुसमा पठाएको खुलासा भएको छ । आफू पनि बेलारुस जानका लागि रकम पठाए पनि राहदानी ‘सिज’ भएको कारण उनी अन्तिम चरणमा आएर उड्न नपाएका हुन् ।

‘सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको रकम तामाङले बेलायत र बेलारुस पठाएका छन् । त्यही भएर उनले निक्षेपकर्तालाई रकम फिर्ता गर्न नसकेका हुन्’, पहिला इच्छारासँग नजिक रहेका तर अहिले रकम फिर्ता नगरेपछि टाढिएका एक निक्षेपकर्ताले आर्थिक दैनिकसित भने, ‘एक मिलियन अमेरिकी डलर अर्थात् करिब दश/बाह्र करोड रुपैयाँ बेलारुस पठाएपछि त्यहाँ नागरिकता पाइन्छ । व्यवसाय गर्न सजिलो हुने भएको कारण इच्छाराजले त्यहाँ रकम पठाए । अहिले रकम फिर्ता माग्न आउनेलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइदिने धम्की दिनथालेका छन् ।’ नेपालमा गरेको आम्दानी यसरी विदेश लैजाने काम नै अवैध हो । त्यही अवैध काम गर्ने इच्छाराजले धम्की दिँदै कसैको पनि पैसा फिर्ता गरेका छनैनन् ।

इच्छाराज आफैँले कसरी सम्पत्ति आर्जन गरे भन्नेमा सम्पत्ति शुद्धीकरणको मुद्दा लगाउनुपर्ने अवस्था छ । तर, उनले सहकारीमा रकम जम्मा गर्नेहरुलाई भने पैसा मागेमा आफू पहुँचमा रहेको कारण सम्पत्ति शुद्धीकरणको मुद्दा लगाउने धम्की दिएका हुन् । इच्छाराजले आफू प्रधानमन्त्री केपी शर्मा ओलीनजिक रहेको भन्दै सहकारीमा रकम जम्मा गरेकाहरुलाई सम्पत्ति शुद्धीकरणको धम्की दिएका हुन् ।

‘पैसा माग्न जानेसँग उनले भेट दिँदैनन् र भित्र बसेर यति धेरै रकम कसरी सहकारीमा राख्न ल्याएको भन्दै सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइदिऊँ भन्दै आफ्ना कर्मचारीमार्फत ती निक्षेपकर्तालाई धम्की दिन्छन् । ‘मैले काठमाडौंकै जग्गा बिक्री गरेर सिभिल सेभिङमा रकम राखेको हो’, एक निक्षेपकर्ताले आर्थिक दैनिकसित भने, ‘पैसा माग्न जाँदा कहिले महिनाको दश हजार लिनु त कहिले सधैं किचकिच गर्नुहुन्छ भने सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइदिन्छु भन्छन् ।’

इच्छाराजले आफ्नो श्रीमती प्रधानमन्त्री केपी शर्मा ओलीको साली भएको कारण आफू र प्रधानमन्त्री ओलीबीच साँढुदाइ/साँढुभाइको नाता रहेको बताउने गरेका छन् । प्रधानमन्त्री कार्यालयमातहत सम्पत्ति शुद्धीकरण विभाग रहेको भन्दै इच्छाराजले सिभिलमा रकम जम्मा गर्ने सबैको विवरण सम्पत्ति शुद्धीकरण विभागमा पठाइदिने भनेर धम्की दिने गरेका हुन् । तामाङले सम्पत्ति शुद्धीकरणको मुद्दाको धम्की दिए पनि कतिपय व्यक्तिले काठमाडौंकै जग्गा बिक्री गरेर पनि सिभिल सेभिङमा रकम जम्मा गरेका छन् ।

सिभिल सेभिङमा रकम जम्मा गरेकाहरुलाई सुन्धाराको सिभिल ट्रेड सेन्टरपछाडिको अपार्टमेन्ट बिक्री गरेर रकम फिर्ता गर्छु भने पनि उक्त अपार्टमेन्ट बिक्री गरेपछि पनि कसैको पनि रकम फिर्ता गरेका छैनन् । करिब तीन अर्ब रुपैयाँ जाने उक्त अपार्टमेन्ट इच्छाराजले करिब एक अर्ब ३५ करोड रुपैयाँमै अजेय सुमार्गीलाई बिक्री गरेका थिए । उक्त अपार्टमेन्ट बिक्री गरेर सर्वसाधारणको अर्बौैँ रुपैयाँ निक्षेप फिर्ता नगरी भाग्नलागेको बेला उनको राहदानी सरकारले सिज गरेको थियो । इच्छाराजले आफ्नो व्यवसाय टाट उल्टिएको बताउने गरे पनि उनी आफैं भने कीर्तिपुरको ट्याङ्लाफाँटमा करिब छ रोपनी जग्गामा घर बनाएर बसेका छन् ।

सर्वसाधारणले घर घेर्ने प्रयास गरे पनि घर घेर्ने काम गरे कसैको पनि पैसा फिर्ता नगर्ने धम्की दिने गरेका छन् । केहीलाई मासिक दश हजारका दरले फिर्ता गर्ने त केहीलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाउने धम्की दिँदै इच्छाराज आफू प्रधानमन्त्रीनजिकको व्यक्ति भएको दाबी गरिरहँदा सर्वसाधारण भने थप मर्कामा परेका छन् । ब्याज राम्रो लिनको लागि सहकारीमा रकम जम्मा गर्नेहरु इच्छाराजले सावाँ नै खाइदिने भएपछि तनावमा छन् । ‘जग्गा बिक्री गरेको पैसा सिभिल सेभिङमा राखेको तर अहिले त पैसा दिने त कुरै छाडौँ पैसा मागेमा सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइदिने भनेर धम्की दिँदै आएका छन्’, एक निक्षेपकर्ताले भने ।

मुलुकको सहकारीसँग सम्बन्धित नियमहरूको धज्जी उडाउँदै एउटै मात्र कम्पनी सिभिल होम्स प्रालिलाई असीमित ऋण प्रवाह गर्दै आएको सिभिल सहकारीको १८औँ वार्षिक प्रतिवेदन (३० पुस २०७५)अनुसार सहकारीले प्रवाह गरेको कुल कर्जा आठ अर्ब १३ करोड ६७ लाख ४६ हजार पाँच सय ७८ रुपैयाँ ४४ पैसामध्ये सिभिल होम्सलाई मात्र २०७५ असार मसान्तसम्ममा मात्र ७ अर्ब एक करोड ३७ लाख ११ हजार २ सय ११ रुपैयाँ ३७ पैसाभन्दा बढी कर्जा दिएको देखिन्छ, जुन कुल कर्जा रकमको ८६.२ प्रतिशत हुन आउँछ ।

होम्सले ब्याज तिर्नसक्ने अवस्था नदेखिँदा हालसम्ममा सावाँ र ब्याज गरी झण्डै ८ अर्ब नाघेको सहजै अनुमान गर्न सकिन्छ जुन रकम सिभिल सहकारीमा जम्मा भएको कुल निक्षेपको बराबरजस्तो हुन आउँछ । ऋण असुली नभएको अवस्थामा सहकारीको बचत तथा निक्षेपकर्ताहरूको रकम समेत फिर्ता भुक्तानी गर्न कठिनाइ उत्पन्न हुने देखिन्छ । सिभिल होम्सका अतिरिक्त सहकारीबाट सिभिल अपार्टमेन्ट प्रालिलाई ३४ करोड ६७ लाख ८० हजार ७ सय ४५ रुपैयाँ ९१ पैसा र सिभिल इस्टेट्स प्रालिलाई ६ करोड ६८ लाख ४६ हजार ४ सय ७ रुपैयाँ ८९ पैसा कर्जा प्रवाह भएको सो प्रतिवेदनले देखाउँछ । यी सबै व्यापारिक संस्थाका प्रमुख स्वयं इच्छाराज तामाङ हुन् ।

सिभिल होम्स प्रालिको आव २०७३/०७४ लेखापरीक्षण भएको वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पुँजी १० करोड र सञ्चित नोक्सानी २ सय ५६ करोड ७६ लाख रुपैयाँ छ । तसर्थ कम्पनीको नकारात्मक नेट वर्थ भएको कारण नगद तथा बैंक मौज्दातसहितको सम्पत्तिबाट समेत उक्त ऋण लगानी रकम असुली हुने सम्भावना एकदम न्यून छ । सिभिल सहकारीको आव २०७४/०७५ को वित्तीय विवरणअनुसार अघिल्लो आ.व.मा प्रवाहित २ करोड ७० लाख कर्जामध्ये दुई करोड सिभिल होम्स प्रालिमा छ । कर्जा र लगानी गरी सो अवधिसम्म कुल ७०३.३७ करोड बराबरको रकम सिभिल सहकारीले सिभिल होम्समा लगानी गरेको देखिन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया