Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनर्भिक हस्पिटलद्वारा क्यान्सर उपचारको लागि नेपालकै ठूलो ट्यूमर बोर्ड गठन

नर्भिक हस्पिटलद्वारा क्यान्सर उपचारको लागि नेपालकै ठूलो ट्यूमर बोर्ड गठन


काठमाडौं ।
विभिन्न खालका क्यान्सरको सबैखाले उपचार विधि र पद्धति विकासमा लागिपरेको नर्भिक इन्टरनेशनल हस्पिटलमा सम्भवतः नेपालकै ठूलो ट्यूमर बोर्ड गठन भएको छ । क्यान्सरबाट प्रभावित बिरामीहरूको उपचारमा सम्भावित सबै विकल्पहरू खोज्ने तथा विदेशकै स्तरीय उपचार सेवा दिने उद्देश्यले नर्भिकमा विशेषज्ञ चिकित्सकहरूको सहभागितामा ट्यूमर बोर्ड गठन भएको हो ।

क्यान्सरका बिरामीलाई सम्भावित उत्तम उपचार विधिमा समावेश गर्ने हेतुले गठित ट्यूमर बोर्डमा हाल २३ जना विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको छ । बोर्डको आकार बढाउँदै लगिने अस्पतालले जनाएको छ। यस्तो अभ्यास युरोप/अमेरिकाका स्तरीय अस्पतालहरूमा समेत हुने गर्छ । बोर्डमा नर्भिकका अन्कोलोजिस्ट, प्याथोलोजिस्ट, ग्यास्ट्रोलोजिस्ट, गाइनेकोलोजिस्ट, जनरल तथा जीआई सर्जन, पेड्राटिसियन, न्यूरोलोजिस्टलगायतका विशेषज्ञ चिकिसत्कहरूको सहभागिता छ । यस्तो टिममा अस्पतालको प्रशासन, व्यवस्थापनबाट समेत प्रतिनिधित्व हुने गर्छ ।

कुनै फरक खालको क्यान्सरको बिरामीको समस्या तथा त्यसको सही उपचार विधिको पहिचानका लागि समेत यस्ता खाले बोर्डमा छलफल हुने गर्दछ । बोर्डमा सहभागी विभिन्न विशेषज्ञ डाक्टरहरूको राय भिन्न–भिन्न आउने भएकोले यस्तो समस्याको उपचारमा सबैभन्दा उत्तम विधिमा जान सकिने चिकित्सकहरू बताउँछन् । नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाका अनुसार बोर्डमा सहभागी विशेषज्ञहरूले कुनै बिरामीको सही उपचार योजनाको विषयमा साप्ताहिक रूपमा छलफल गर्ने गर्दछन् ।

कुनै एक विशेषज्ञले हेरिरहेको केसलाई सामूहिकरूपमा हेर्ने गरिन्छ र उपचार विधिलाई अझ गुणस्तरीय बनाउने कोसिस गरिन्छ । बोर्डमा कुनै बिरामी, उसको समस्या, भइरहेको उपचार विधि, उसका विभिन्न मेडिकल रिपोर्टहरूको विषयमा समेत छलफल हुने डा. झा बताउँछन् ।
सो क्रममा कुनै पनि क्यान्सरका बिरामीमा पहिचान भएको ट्यूमरको ग्रेडिङको विषयमा छलफल गरिन्छ । सोसँगै उपयुक्त उपचार विधिको विषयमा समेत बोर्डले निर्णय लिने गर्छ ।

‘विश्वमा हरेक दिन ट्यूमर तथा क्यान्सरको उपचारको विषयमा रिसर्चहरू भइरहेका हुन्छन् । विभिन्न इन्भेस्टिगेसनबाट फरक–फरक रिजल्टहरू पनि आइरहेका हुन्छन् ।’ डा. झाले भने– ‘उपचारका विधिहरू पनि नयाँ–नयाँ आइरहेका हुन्छन् । अन्य देशमा अभ्यासमा ल्याइने आधुनिक विधिहरूलाई कसरी भित्र्याउने, वा त्यस्तै ढंगले कसरी यहाँ उपचार गर्न सकिन्छ भन्नेजस्ता विषय पनि बोर्डमा छलफल हुन्छ ।’

क्यान्सरको उपचारमा विशेष गरी मेडिकल अन्कोलोजिस्ट (औषधिको मदतबाट क्यान्सरका बिरामीको उपचार गर्ने व्यक्ति), सर्जिकल अन्कोलोजिस्ट (सर्जरीबाट क्यान्सरको उपचार गर्ने चिकित्सक) र रेडिएसन अन्कोलोजिस्ट (रेडिएसनको मदतले क्यान्सरको उपचार गर्ने चिकित्सक) को मुख्य भूमिका हुन्छ । बोर्डमा पनि यस्ता विज्ञको सहभागिता गराउने चलन छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया