Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्णय कार्यान्वयनसँगै बिचौलिया हट्ने, तरकारी सस्तो हुने अपेक्षा

निर्णय कार्यान्वयनसँगै बिचौलिया हट्ने, तरकारी सस्तो हुने अपेक्षा

किसानहरूले थाहा नपाउँदा स्टल माग गर्न आएनन् : सूचना अधिकारी श्रेष्ठ


काठमाडौं ।
काठमाडौं उपत्यकामा खपत हुने तरकारीको मुख्य स्रोत केन्द्र कालीमाटी तरकारी बजार हो । बिचौलियाका कारण कालीमाटी तरकारी बजारबाट काठमाडौं उपत्यकाबासीले महंगो मूल्यमा तरकारी खरिद गर्नुपरेको छ भने उत्पादनकर्ता अर्थात् किसानहरूले कहिले पनि तरकारीको उचित मूल्य पाउनसकेका छैनन् । जसले गर्दा खरिद मूल्य र बिक्री मूल्यबीचको अन्तर निक्कै फराकिलो हुँदा बिचौलिया मोटाउने तथा किसान र खरिदकर्ता भने मारमा पर्दै आएका छन् ।

यसैबीच अबदेखि कालीमाटी तरकारी बजारमा किसान आफैँले होल्डिङ -यार्ड (स्टल) लिन सक्ने भएका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गरेको पछिल्लो निर्णयअनुरुप किसानलाई स्टल दिन लागिएको हो । ‘चैत १८ देखि कालीमाटी तरकारी बजारमा किसान आफैँले स्टल लिन सक्नेछन्’, समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘अहिलेको लागि १२ वटा स्टल व्यावसायिक किसानहरूलाई दिनलागेका हौँ । हामीले ठूलो परिमाणमा अर्थात् होलसेल तरकारी व्यापारीका लागि सो स्टल दिनलागेका हौँ ।’

कालीमाटी तरकारी बजार स्थापना भएदेखि नै स्थानीय अर्थात् काठमाडौं उपत्यकासहित उपत्यकानजिकका जिल्लाबाट आएका किसानहरूलाई स्टल उपलब्ध गराउँदै आइएको छ भने होलसेल व्यवसायीलाई भने अबदेखि स्टल दिन लागिएको हो । सोसँगै मोफसलका व्यावसायिक किसानहरूले आफ्नो उत्पादन आफैँ बेच्न सक्नेछन् । उनीहरूको लागि समितिले बिहान र दिउँसो समय निर्धारण गरेको छ ।

‘मोफसलबाट तरकारी ल्याउने किसानको हकमा भने बिहान ५ बजेदेखि १० बजेसम्म र बेलुका अर्थात् दिउँसो ३ बजेदेखि बेलुकासम्मको समय निर्धारण गरेका छौँ’, सूचना अधिकारी श्रेष्ठले भने, ‘उनीहरूले ठूलो परिमाणमा अर्थात् धेरै किलोग्राम तथा टनमा बिक्री तथा वितरण गर्ने अपेक्षा लिएका छौँ ।’

व्यावसायिक किसानलाई स्टल उपलब्ध गराएसँगै बिचौलियाहरू हट्ने समितिको अपेक्षा छ । बिचौलियाकै कारण तरकारी महँगो भएको गुनासो सुनिँदै आएको बताउँदै समितिका एक अधिकारीले भने, ‘बिचौलिया हावी भएका कुरालाई हामी पनि स्वीकार गर्छौँ । त्यसैले अबको उद्देश्य भनेको तरकारीमा बिचौलियामुक्त बनाउनु हो ।’ यस्तै श्रेष्ठले पनि तरकारीमा रहेको विभिन्न प्रकारको बिचौलियामुक्त बनाउने उद्देश्यअनुरुप नै समितिले पछिल्लो निर्णय गरेको बताए ।

यस्तै स्टल प्रयोग गरेबापत किसानले रकम तिर्नुपर्ने हुन्छ । दुई सय टन तरकारी ल्याउँदा चार सय रुपैयाँ लाग्छ भने त्योभन्दा माथि भने प्रतिकिलो २० रुपैयाँ लाग्नेछ । कालीमाटी तरकारी बजारले उपत्यकाको करिब ७० प्रतिशत मागलाई धान्दै आएको समितिले जानकारी दिएको छ ।

समितिका अनुसार कालीमाटी तरकारी बजारमा पाँच सय स्टल छन् भने ती स्टलहरू व्यक्ति, सहकारीलगायत विभिन्न संघ/संस्थाले प्रयोग गरिरहेका छन् । सीमित व्यक्ति, सहकारीले समितिबाट सस्तो भाडामा लिएका स्टलहरू भाडामा लगाउने प्रचलनले गर्दा बजार समस्याग्रस्त रहेको पाइन्छ ।

समितिमार्फत १५ देखि २० हजार मूल्यमा भाडामा लिने दोस्रो व्यक्तिलाई ९० हजारदेखि एक लाखसम्म भाडामा दिने चलनले गर्दा तरकारीको मूल्य सदैव उच्च हुने गरेको पाइन्छ । काठमाडौं उपत्यकासहित धादिङ, नुवाकोट, मकवानपुर, काभ्रेपलाञ्चोक, तराईका जिल्ला र भारतबाट कालीमाटीमा तरकारी आउने गरेको छ ।

समितिले भोलिका दिनमा स्टल माग भएमा संख्या थप गरिने बताएको छ । स्टल दिने विषय कार्यान्वयनमा आए पनि किसानसम्म सो जानकारी नपुग्दा स्टल माग गर्ने व्यावसायिक किसानहरू भने नआइसकेको सूचना अधिकारी श्रेष्ठको भनाइ छ । ‘भोलिका दिनमा थाहा भई उनीहरू स्टल लिने विषयमा समिति ढुक्क छ’, उनले भने, ‘यदि माग बढेमा त्यसलाई सम्बोधन गर्न हामी तत्पर छौँ ।’

यसैबीच श्रेष्ठले हाल भने भारतीय तरकारी आइरहेको बताए । ‘हिउँद सिजनमा स्वदेशकै तरकारीले पुग्ने भए पनि वर्षे सिजनअघि भने भारतीय तरकारीको भर पर्नुपरेको छ’, उनले भने, ‘यो वर्ष वर्षा हुन नसकेको कारण स्वदेशमा उत्पादन हुने तरकारीमा कमी आएकोले गर्दा आयात गर्नुपरेको अवस्था छ ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया