Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसत्ताको आडमा सिभिल सहकारीमा इच्छाराजको लुट

सत्ताको आडमा सिभिल सहकारीमा इच्छाराजको लुट


काठमाडौं ।
सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा सर्वसाधारण बचतकर्ताहरुले खाइनखाइ गरी जम्मा गरेको बचत रकम आफूले सञ्चालन गरेको सिभिल ग्रुपका आधा दर्जन बढी विभिन्न कम्पनीको नाउँमा नियमविपरीत कर्जा लिएर त्यसको सावाँ ब्याज केही नतिरी ब्रह्मलुट मच्चाउँदै आएका इच्छाराज तामाङले पारिवारिक ग्राण्ड डिजाइनमा बचतकर्ताहरुलाई बिचल्ली पारेका छन् । उनले सत्ता र शक्तिको दुरुपयोग गरेर यसरी ब्रह्मलुट मच्चाउँदै आएका हुन् ।

आफूलाई व्यवस्थित आवास हाउजिङमा अग्रणीको रुपमा प्रस्तुुत गर्दै आएको सिभिल होम्स टाट पल्टेको तथ्य होम्स यसको प्रमुुख ऋणदाता सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड (सिभिल सहकारी)का आर्थिक दस्तावेजहरुले देखाएका छन् ।

कुुनै पनि कम्पनीको आर्थिक अवस्था उसले वार्षिक रुपमा प्रकाशित गर्ने लेखापरीक्षण भएको वासलातले देखाउँछ । आर्थिकरुपमा राम्रो कम्पनी हुनको लागि वासलातमा सम्पत्ति र दायित्वको सन्तुुलन आवश्यक हुन्छ । सम्पत्तिभन्दा दायित्व बढी भएको खण्डमा कम्पनीको वासलात ऋणात्मक हुुन जान्छ जसलाई अंग्रेजीमा नेगेटिभ ब्यालेन्स सिट भनिन्छ, जुुन राम्रो होइन । त्यसो त नेगेटिभ ब्यालेन्स सिट हुुँदैमा कम्पनी डुब्यो भन्ने होइन । कम्पनीका सुरुका वर्षहरुमा प्रायः यस्तो देखिन्छ । तर कम्पनीको प्रक्षेपित आम्दानी, कार्यक्रम, नोक्सानीको परिमाण आदिको विचार गर्नुपर्ने हुन्छ ।

डेढ दशकभन्दा अघि इच्छाराज तामाङद्वारा प्रवद्र्धित सिभिल होम्स प्रालिले कहिले नाफा कमाउन नसकेको कुुरा कम्पनीको वार्षिक वासलातले देखाउँछ । २०७४ असार मसान्तसम्मको वासलातले कम्पनीको सम्पत्ति एक अर्ब १६ करोडजति देखाउँछ । त्यसपछि यसको सम्पत्तिमा बढोत्तरी भएको बुुझिँदैन । मुलुकको सहकारीसँग सम्बन्धित नियमहरूको धज्जी उडाउँदै एउटै मात्र कम्पनी सिभिल होम्स प्रालिलाई असीमित ऋण प्रवाह गर्दै आएको सिभिल सहकारीको १८औँ वार्षिक प्रतिवेदन (३० पुस २०७५) अनुसार सहकारीले प्रवाह गरेको कुल कर्जा आठ अर्ब १३ करोड ६७ लाख ४६ हजार ५ सय ७८ रुपैयाँ ४४ पैसामध्ये सिभिल होम्सलाई मात्र २०७५ असार मसान्तसम्ममा मात्र ७ अर्ब १ करोड ३७ लाख ११ हजार २ सय ११ रुपैयाँ ३७ पैसाभन्दा बढी कर्जा दिएको देखिन्छ । जुन कुल कर्जा रकमको ८६.२ प्रतिशत हुन आउँछ ।

होम्सले ब्याज तिर्नसक्ने अवस्था नदेखिँदा हालसम्ममा सावाँ र ब्याज गरी झण्डै ८ अर्ब रुपैयाँ नाघेको सहजै अनुमान गर्न सकिन्छ जुन रकम सिभिल सहकारीमा जम्मा भएको कुल निक्षेपको बराबरजस्तो हुन आउँछ । ऋण असुली नभएको अवस्थामा सहकारीको बचत तथा निक्षेपकर्ताहरूको रकम समेत फिर्ता भुक्तानी गर्न कठिनाइ उत्पन्न हुने देखिन्छ । सिभिल होम्सका अतिरिक्त सहकारीबाट सिभिल अपार्टमेन्ट प्रालिलाई ३४ करोड ६७ लाख ८० हजार ७ सय ४५ रुपैयाँ ९१ पैसा र सिभिल इस्टेट्स प्रालिलाई ६ करोड ६८ लाख ४६ हजार ४ सय ७ रुपैयाँ ८९ पैसाा कर्जा प्रवाह भएको सो प्रतिवेदनले देखाउँछ । यी सबै व्यापारिक संस्थाका प्रमुख स्वयं इच्छाराज तामाङ हुन् ।

सिभिल होम्स प्रालिको आव २०७३/०७४ लेखापरीक्षण भएको वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पुँजी १० करोड र सञ्चित नोक्सानी २ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ छ । तसर्थ कम्पनीको नकारात्मक नेटवर्थ भएको कारण नगद तथा बैंक मौज्दातसहितको सम्पत्तिबाट समेत उक्त ऋण लगानी रकम असुली हुने सम्भावना एकदम न्यून रहेको छ ।

सिभिल सहकारीको आव २०७४/०७५ को वित्तीय विवरणअनुसार अघिल्लो आवमा प्रवाहित २ करोड ७० लाख कर्जामध्ये २ करोड सिभिल होम्स प्रालिमा गरिएको छ । कर्जा र लगानी गरी सो अवधिसम्म कुल ७ अर्ब ३ करोड ३७ लाखबराबरको रकम सिभिल सहकारीले सिभिल होम्समा लगानी गरेको देखिन्छ ।

सामान्यतया ऋणात्मक वासलात भएको कम्पनीलाई बैंक तथा वित्तीय संस्थाहरू कर्जा प्रवाह गर्न हिच्किचाउँछन् । सिभिल होम्सको सन्दर्भमा सम्पत्तिभन्दा कैयौं गुणा ऋण भएबाट उसले कुनै पनि वित्तीय संस्थाबाट कर्जा पाउने अवस्था छैन । फलस्वरूप विगत ६/७ वर्षदेखि नै ऊसँग कुनै परियोजना छैन । न कर्जा तिर्नको लागि सम्पत्ति छ, न त नगद प्रवाह गर्नसक्ने कुनै परियोजना नै । यस्तो अवस्थामा सिभिल होम्स प्रालि सैद्धान्तिक रूपमा टाट पल्टिसकेको छ । यसको तात्पर्य हो – होम्सलाई ऋण दिने सिभिल सहकारीका हजारौँ निक्षेपकर्ताहरूको बचत पूरै जोखिममा परेको छ ।

यसको अर्को पक्ष के छ भने सिभिल सहकारीले आफ्ना निक्षेपकर्ताहरूलाई दिनुपर्ने ब्याज रकम दैनिक करिब ३५ लाख हुन आउँछ । तर सबैभन्दा ठूलो ऋणी सिभिल होम्सका प्रमुख इच्छाराज तामाङ आफूले तिर्नुपर्ने ब्याज तिर्दैनन् । फलतः निक्षेपकर्ताहरूलाई ब्याज तिर्न पनि सोही अनुपातमा थप निक्षेप भित्र्याउनुपर्ने बाध्यतामा सिभिल सहकारी छ । यसका लागि विगतमा अति आकर्षक ब्याजदर र ठूलो रकम निक्षेप राख्न ल्याएमा रकमअनुसार सुनका सिक्का समेत दिने प्रलोभन देखाई दिनहुँ सर्वसाधारणलाई फसाउने र लुट्ने काम समेत भएको हो । यस्तो क्रम धेरै अघिदेखि चल्दै आएको भए पनि नियमनकारी निकायहरू कानमा तेल हालेर बस्नु रहस्यमय छ ।

यसरी पसिना बगाएर जनताले बचत गरेको रकम लुट्ने त्यसैको प्रयोग गरी राजनीतिक सम्पर्क स्थापित गर्दै शक्ति आर्जन गर्ने, कर्मचारीलाई प्रभावित पार्ने र मिडियालाई आफूअनुकूल बनाई सुरक्षित रहने हतकण्डा यस प्रकरणका नाइकेहरूले अपनाइरहेको प्रष्ट हुन्छ । किनभने सिभिल होम्स र सिभिल सहकारीले वर्षोँदेखि मच्चाइरहेको यो ब्रह्मलुटको विषयमा आमसञ्चारमाध्यमहरूमा खासै चर्चा पाइँदैन ।

सिभिल होम्स प्रालिका अध्यक्ष इच्छाराज तामाङ र सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ नाताले भाञ्जीज्वाइँ र मामाससुरा हुन् । अझ केशवलाल श्रेष्ठ सिभिल होम्सका सञ्चालक समेत हुन् । कुनै बेला २/४ लाखदेखि २/४ करोडको अनियमितता भएको भनी सहकारीका सञ्चालकहरू भागेको, दण्डित भई जेल गएको प्रशस्त दृष्टान्त हुँदाहुँदै यसरी निर्धक्कसँग जनता लुट्न सफल भइरहेका ज्वाइँ ससुराको अभीष्ट कतै राज्यको आड भरोसामा नै पूरा भइरहेको त छैन भन्ने आभाष हुनपुगेको छ । तामाङको कीर्तिपुर ट्याङ्लाफाँटस्थित विशाल क्षेत्रमा निर्मित भवन र श्रेष्ठको बालाजुमा रहेको आवास रोक्का गरेर भए पनि निक्षेप तथा बचतकर्ताहरूको घाउमा मल्हम लगाउने दायित्व नियामक निकायको हो ।

सिभिल होम्सको २०७४ असार मसान्तसम्मको वासलातअनुसार ८६ करोड ३९ लाख ३७ हजार ८ सय ७७ रुपैयाँ अग्रिम बुकिङबापत रकम लिएको देखिन्छ । विगत ६/७ वर्षयता कुनै परियोजना नभएको कम्पनीले कहाँको घर उपलब्ध गराउने भनी यत्रो रकम लियो ? पुराना परियोजनाहरूबाट लिएको भए अहिलेसम्म घर नपाई फछर्यौट नभएकाको हकमा त सरासर ठगी भयो । आफ्ना परियोजना नै नभई सिभिल होम्सका घरहरू भनी देखिने विज्ञापनहरू अर्को आश्चर्यका विषय हुन् । यस्ता क्रियाकलापहरू पूर्णतः गैरकानुनी र सर्वसाधारणलाई गुमराहमा पारी पैसा कमाउने धन्दा मात्र हुन् भन्न गाह्रो छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया