Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल–भारत वाणिज्य सन्धि पुनरवलोकनको तयारी

नेपाल–भारत वाणिज्य सन्धि पुनरवलोकनको तयारी


काठमाडौं, पुस २८
नेपाल–भारत वाणिज्य सन्धि बृहत् पुनरवलोकन गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयको प्रगति तथा भावी कार्ययोजना सार्वजनिक गर्ने क्रममा आइतबार उद्योगमन्त्री लेखराज भट्टले नेपाल–भारत वाणिज्य सन्धिको बृहत् पुनरवलोकन गर्न सहसचिवस्तरमा चौथो चरणको वार्ता सम्पन्न गर्ने बताएका हुन् ।
‘केही महिनाभित्रै नेपाल रभारतबीच रहेको वाणिज्य सन्धिको बृहत् पुनरवलोकन गर्न सहसविचस्तरमा चौथो चरणको वार्ता सम्पन्न हुनेछ’, उनले भने, ‘नेपाल–भारत पारवहन सन्धिमा हस्ताक्षर गरिनेछ ।’ नेपाल र भारतले प्राविधिक तहमा अन्तिम रुप दिएको नेपाल–भारत पारवहन सन्धिमा हस्ताक्षर गरिने उनको भनाइ छ ।मन्त्रालयले नेपाल–भारत पारवहन सन्धि नवीकरण भएको जनाएको छ । सचिव वैकुठ अर्यालले पारवहन सन्धिमा आवश्यक नयाँ व्यवस्था गरी नयाँ पारवहन सन्धि गर्न आवश्यक तयारी पूरा भएको बताए ।

नयाँ सन्धि भएसँगै नेपालले भारतले निर्माण गरेको आन्तरिक जलमार्ग प्रयोग गरी आयात तथा निर्यात गर्न सक्नेछ । उनले भने, ‘नेपाली ध्वाजावाहक पानीजहाज भारतीय आन्तरिक जलमार्गमा सञ्चालन हुनसक्ने र आन्तरिक जलमार्गमा साहिबगञ्ज, कालुघाट र वाराणसी टर्मिनलहरुबाट नेपालले व्यापारिक वस्तु ओसारप्रसार गर्न सक्नेछ ।’

भारतसँग रेलसेवा सम्झौताको म्याद पाँच वर्षका लागि नवीकरण भएको उनले बताए । विराटनगर र वीगञ्जदेखि भारतको कलकत्ता, हल्दियासम्म नेपाली रेल सञ्चालन गर्ने सम्बन्धमा दुवै पक्षबीच सैद्धान्तिक सहमति भएको उनले बताए । हाल भारतको एउटा कम्पनीको कार्गो रेलले मात्र नेपालमा कन्टेनर ढुवानी गर्न अनुमति लिएकोमा भारतीय रेल्वेमा दर्ता भएका अन्य आधिकारिक कार्गो रेल सञ्चालकलाई कन्टेनर ढुवानी गर्न अनुमति दिन भारत सकारात्मक भएको छ । यसबाट ढुवानीमा प्रतिस्पर्धा भई लागत सस्तो हुने उनले बताए ।

मन्त्री भट्टले फागुनभित्रै बंगलादेशसँग सचिवस्तरीय वाणिज्य वार्ता हुने, संयुक्त राज्य अमेरिकासँग ‘टेड्र एण्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट’को तयारी गरेको जानकारी दिए । ‘सो सहमतिमा रहेर नेपालले अमेरिकासँग वस्तु निर्यातका लागि वस्तु विकास र निर्यातको क्षमता विकास सम्बन्धमा वार्ता गर्नेछ’, उनले भने, ‘कम्बोडिया र भियतनामसँग टे«ड एण्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट कार्यान्वयनमा लैजान तीन महिनाभित्र वार्ता गर्नेछौँ ।’

निर्यात प्रवर्द्धनको लागि चालू आर्थिक वर्ष (२०७६÷७७) भित्र निकासी गृह सञ्चालनमा ल्याइने बताइएको छ । गृह सञ्चालनसँगै एक प्रकारको वस्तु एकै थलोबाट निर्यात हुने भई निर्यात लागत कम हुने र विश्व बजारमा नेपाली वस्तुको पहुँच वृद्धि हुनेछ । नेपाल व्यापार एकीकृत रणनीतिले पहिचान गरेका वस्तुबाहेक ठूलो मात्रामा निर्यात हुनसक्ने वस्तु तीन महिनाभित्र पहिचान गरी तिनको प्रवद्र्धन गर्ने तथा निकासीमा दिइँदै आएको प्रोत्साहन अनुदानको पुनरवलोकन गरी नगद तथा गैरनगद प्रोत्साहनको वस्तुपरक विधि तयार पार्ने मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले बताए ।

उनले मन्त्रालयले विराटनगरमा निर्माण भएको एकीकृत जाँच चौकी (आईसीपी) माघ महिनाभित्र सञ्चालनमा ल्याइनेछ भने नेपालगञ्जमा एकीकृत जाँच चौकी (आईसीपी) को निर्माणकार्य सुरु गरेको बताए । मन्त्रालयले चालू आवभित्र दोधार चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको आवश्यक तयारी पूरा गरी अर्को आव (२०७७÷०७८) मा निर्माण सुरु गरिने जनाएको छ भने विभिन्न वस्तुहरुमा लाग्ने भन्सार महसुल पुनरवलोकन गर्न अर्थ मन्त्रालयसँग समन्वय गरिनेछ । अर्थ मन्त्रालयसँग समन्वय गरी बजारमा बिक्री हुने वस्तुहरुको कारोबार मूल्यको अनुगमन गरिनेछ ।

चितवनको लोथर र झापाको चारआलीमा गरी पहिलो चरणमा एक लाख ४० हजार किलोलिटर क्षमताको पेट्रोलियम भण्डारणको निर्माण सुरु गर्ने तथा अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको अध्ययन तीन महिनाभित्र सम्पन्न गरी अर्को आर्थिक वर्षमा पाइपलाइन निर्माणकार्य अघि बढाइने भएको छ ।

मंसिर ५ गते उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री भट्टले पछिल्लो समय मन्त्रालयले उखु किसानहरुको बक्यौता भुक्तानी गर्नका लागि सरकारले वातावरण बनाएको, औद्योगिक व्यवसाय विधेयक दुवै सदनबाट पारित गरेको, फलाम खानी स्थापना गरेको लगायतको प्रगति गर्न मन्त्रालय सफल भएको बताए । गोरखकाली रबर उद्योगका अवकाश प्राप्त कर्मचारीहरुको व्यवस्थापन, धौबादी फलाम कम्पनी लिमिटेड स्थापना, पेट्रोलियम ड्रिलिङ गर्ने स्थान निर्धारण गर्ने काममा प्रगति भएको उनले बताए । उनले भने, ‘नेपालको आर्थिक सूचकांक विकास समेत राम्रो बनेको छ ।’

वाणिज्य तथा आपूर्तितर्फ भने सेफगार्डस, एन्टी डम्पिङ तथा काउन्टरभेलिङ सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६ मा कार्यान्वयनमा आएको, नियमावली मस्यौदा तयार गर्ने क्रममा रहेको, निकासी पैठारी विधेयक मन्त्रिपरिषदमा विचाराधीन रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो एक दशकमा २० दशमलव ४ प्रतिशतले बढेको व्यापारघाटा चालू आवको पाँच महिनामा अघिल्लो आवको सोही अवधिको तुलनामा ६ दशमलव ३ प्रतिशतले घटेको तथा आयात ४ दशमलव ३ प्रतिशतले घट्दा निर्यात २७ प्रतिशतले वृद्धि भएको बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया