Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनववर्षको सुरुवातसँगै विष्णुमती नदी सरसफाइ अभियान सुरु

नववर्षको सुरुवातसँगै विष्णुमती नदी सरसफाइ अभियान सुरु


काठमाडौं ।
नयाँ वर्ष २०७८ को सुरुवातसँगै विष्णुमती नदी सरसफाइ अभियान सुरु गरिएको छ । प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठको विशेष पहलमा शोभा भगवति मन्दिरबाट विष्णुमती नदी सरसफाइ अभियान सुरु भएको छ ।

विष्णुमती वरिपरिको वातावरणलाई स्वच्छ राख्न सरसफाइ अभियान सञ्चालन गरेको श्रेष्ठले बताए । हरेक महिनाको अन्तिम शनिबार विहान ७ बजेदेखि ९ बजेसम्म सरसफाइ अभियान नियमित सञ्चालन हुने उनले बताए । सरसफाइ अभियानमा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, काठमाडौं महानगरपालिका वडा १५ का अध्यक्ष एवं काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोल, कामपा १५ वडा सदस्य मैयाँलक्ष्मी महर्जन, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, स्थानीय संघसंस्था, वाग्मती नदी सरसफाइका अभियन्ता लिलामणी पोखरेल तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिले अझ थप हौसला प्राप्त भएको उनले बताए ।

जीवनमा गरेको अनेकौं क्रियाकलापहरुमध्ये सम्झनलायक एउटा कार्यमा विष्णुमती नदी सरसफाइ पनि हुने बताउँदै नयाँवर्षको सुरुवातमा काठमाडौँ उपत्यकाको सभ्यता, संस्कृति र वातावरणको अभिन्न स्रोत विष्णुमती नदीलाई मृतावस्थामा पुग्नबाट बचाउने सरसफाइ महोत्सवमा सहभागि भएर स्मरणयोग्य कामको थालनी गरेको उनले बताए । उनले भने, ‘यो अभियान जीवनराम श्रेष्ठको मात्र नभइकन विष्णुमती सभ्यतासँग जोडिएको हरेक नागरिकको अभियान हो ।

विष्णुमती खोला प्रदूषित भई धार्मिक एवं सांस्कृतिक कार्यहरुमा असर पर्न गएको छ ।’ खोला प्रदूषित हुँदा स्थानीय वातावरण समेत प्रदूषित भई खोलावरिपरिको स्थानीय नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुँदा विष्णुमती सरसफाइ अभियान हरेक नागरिकको कर्तव्य भएको उनले बताए ।

विष्णुमती नदीको उद्गम स्थल बुढानिलकण्ठस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नजिकै रहेको छ । विष्णुमतीको उद्गम मानिने विष्णुद्वार विष्णुपादुकादेखि टेकु दोभानसम्म फैलिएको विष्णुमती सभ्यताको आफ्नै महत्व, गरिमा, अस्तित्व र धार्मिक, सांस्कृतिक पौराणिक एवं सांस्कृतिक विशेषता रहेको पाइन्छ । काठमाडौँ उपत्यकाको सभ्यता, संस्कृति र वातावरणको अभिन्न स्रोत विष्णुमती नदीलाई मृतावस्थामा पुग्नबाट बचाउन यो अभियान सुरु भएको हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया