Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन करोड लागतमा अत्याधुनिक रिसोर्ट सञ्चालन

तीन करोड लागतमा अत्याधुनिक रिसोर्ट सञ्चालन


दोलखा ।
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर १ कुथलीमा स्वीमिङ पुल र कालिज फार्मसहित तीन करोड लगानीमा नयाँ रिसोर्ट सञ्चालनमा आएको छ । जिल्लाकै सुविधासम्पन्न शुभलक्ष्मी रिसोर्ट नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि सञ्चालनमा आएको छ ।

रिसोर्टमा नयाँ वर्षको दिन बुधबार सयौं आन्तरिक गेस्ट तथा पर्यटको घुइँचो लागेको थियो । कुथलीमा ५० रोपनी जग्गामा उक्त रिसोर्ट बनाइएको हो । पहिलो दिन नै आठ सय पर्यटकले रिसोर्टको अवलोकन गरेको रिसोर्ट सञ्चालक अमृत बुढाथोकीले जानकारी दिए । रिसोर्टमा फोटो खिच्ने तथा रिसोर्टवरपर बनाइएका अती आकर्षक संरचना तथा प्राकृतिक सुन्दरतासँग रमाउने आन्तरिक पर्यटकको घुइँचो लागेको थियो । सञ्चालक बुढाथोकीले ग्रामीण महिला कृषि फार्ममार्फत सो रिसोर्ट सञ्चालनमा ल्याएको बताए । सुरुमा एक करोड ५० लाखको स्टमेट बनाएर निर्माण सुरु गरिएको भए पनि काम गर्दै जाँदा तीन करोड पुगेको उनले बताए ।

कृषि र पर्यटनलाईसँगै जोड्ने उद्देश्यका साथ रिसोर्टभित्रै कालिज फार्म समेत सञ्चालनमा ल्याएको उनको भनाइ छ । सदरमुकाम चरीकोट बजारदेखी नौ किलोमिटर टाढा उत्तरी प्रवेशमार्ग सिगंटी सडकको कुथली खोला नजिकै रिसोर्ट खोलिएको छ । यहाँ आउने ग्राहकहरूलाई भाले र पोथी कालिजको मासु स्वाद चखाउने उद्देश्यका साथ कालिज फार्म सञ्चालनमा ल्याएको बुढाथोकीले बताए । रिसोर्टमै बुढाथोकीले ट्राउट माछा समेत पालेको बताए । रिसोर्टभित्र आउने ग्राहकहरूलाई स्वीमिङसहित कालिजको मासु, लोकल कुखुरा र ट्राउट माछा खान पाउने छन् ।

गाउँमा बाँझो रहेको पाखोबारीलाई सदुपयोग गरी बुढाथोकीले रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । गाउँघरमा रहेको पाखोबारीलाई सदुपयोग हुने र दोलखामै केही नयाँ काम हुने भएकोले पनि रिसोर्ट सञ्चालनमा ल्याएको उनले बताए । २५ वटा भन्दा बढी कोठा रहेको सो रिसोर्टको विभिन्न साइटमा क्याम फायर बस्ने छुट्टै घर बनाइएको छ । रिसोर्ट आंशिकरूपमा सञ्चालन आए पनि अझै केही आकर्षक र महत्वपूर्ण संरचना निर्माण भइरहेकाले केही दिनमै निर्माण सकेर औपचारिकरूपमा रिसोर्ट सञ्चालनमा आउने उनको भनाइ छ । रिसोर्ट पूरै सञ्चालनमा आएपछि करिब एक दर्जन मानिसले रोजगार पाउने उनले बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया