Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजस्व छली गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर

राजस्व छली गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर


काठमाडौ ।
राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मुल्य अभिवृद्धि कर (मु.अ.कर) प्रयोग गरी राजस्व छली गर्ने न्यु राहुल मोवाइल सेन्टर र ब्याहुत ट्रेडर्स विरुद्ध मुद्दा दायर गरेको छ । विभागका अनुसार उक्त दुई वटा फर्महरुले ३० करोड २८ लाख दुई हजार पाँच सय ५३ रुपैयाँ छली गरेका थिए । विभागले उक्त रकम विगो असुल गरी फर्मका कारोवार संचालक÷प्रोप्राईटर तथा बैक खाता संचालकहरुलाई जरिवाना र कैद मागदावी गरि गत चैत २५ र २६ गते उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगंज र उच्च अदालत पाटन, हेटौडा इजलासमा मुद्दा दर्ता गरेको छ ।

विभागले मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ५ बस्ने न्यु राहुल मोवाईल सेन्टर हेटौडाको प्रोप्राईटर काजल केशरी र चितरंजन प्रसादबाट १२ करोड ३५ लाख २५ हजार २२ रुपैया विगो असुल गरी जरिवाना र कैद मागदावी गरि चैत २६ गते उच्च अदालत पाटन, हेटौडा इजलासमा मुद्दा दर्ता गरेको हो । न्यु राहुलका प्रोप्राईटर काजल केशरी र चितरंजन प्रसादले मालबस्तु गैर विजक (लुज विल) मार्फत हाईटेक ईन्टरनेशनल प्रा.लि. सँग खरिद गरी उक्त मालवस्तु खरिदको विवरण लुकाई छिपाई बिक्री गर्दा समेत विजक जारी नगरी र गैर विजक (लुज विल) जारी गरी कानुन विपरित छुट्टै खाता तयार गरी कारोवारलाई नदेखाई मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको विभागले जनाएको छ ।

विभागका अनुसार उनीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी आयकर तर्फ एक करोड ३० लाख ९६ हजार ३१ रुपैया र मू.अ.कर तर्फ ११ करोड चार लाख २८ हजार नौ सय ९१ रुपैया राजस्व चुहावट गरेको थिए । यस्तै विभागले विरगंज महानगरपालिका वडा नं. १२ रानिघाट घर भएका ब्याहुत ट्रेडर्स विरगंजका प्रोप्राइटर अनिल कुमार कलवारबाट १७ करोड ९२ लाख लाख ७७ हजार पाँच सय ५१ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई चैत २५ गते उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगंजमा मुद्दा दर्ता गरेको हो ।

ब्याहुत ट्रेडर्स प्रोप्राईटर अनिल कुमार कलवारले पनि मालबस्तु गैर विजक (लुज विल) मार्फत हाईटेक ईन्टरनेशनल प्रा.लि. सँग खरीद गरी उक्त मालवस्तु खरिदको विवरण लुकाई छिपाई बिक्री गर्दा समेत विजक जारी नगरी कानुन विपरित छुट्टै खाता तयार गरी कारोवारलाई नदेखाई गर्नुपर्ने भन्दा घटी कारोवार गरेको भन्ने गलत र झुठ्ठा विवरण पेश गरी मू.अ.करमा दर्ता समेत नगरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको विभागले जनाएको छ ।

उनले मूल्य अभिवृद्धि कर तर्फको १५ करोड ९७ लाख ५४ हजार चार सय ४६ रुपैयाँ र आयकर तर्फको एक करोड ९५ लाख २३ हजार एक सय पाँच रुपैयाँ राजस्व चुहावट गरेको विभागले जनाएको छ । दुबै कम्पनीका संचालक र कारोबारी विरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) तथा सोही ऐन (पहिलो संशोधन – २०७६) को दफा २३(१), २३(१)को खण्ड (घ) र २३(४) वमोजिम विगो रकम असुल उपर गरी जरिवाना र कैद सजाय माग दावी गरि विभागले मुद्दा दर्ता गराएको हो ।

त्रिपुरेश्वरको ओम सर्जिकलद्धारा एक करोड राजस्व छली : काठमाडौ महानगरपालिका –११, त्रिपुरेश्वर स्थित ओम सर्जिकल कन्सर्न प्रा.लि.ले एक करोड भन्दा बढी राजस्व छलि गरेको पाईएको छ । राजस्व अनुसन्धान विभागले ओम सर्जिकलका संचालक दल बहादुर भण्डारी तथा भन्सार प्रतिनिधि रामबाबु जमकटेल सहित चार जनाको आपसी मिलेमतोमा एक करोड छ लाख ७२ हजार नौ सय नौ रुपैयाँ एकासी पैसा राजस्व छलि गरेको जनाएको छ ।

विभागले उनीहरुविरुद्ध उक्त रकम विगो जफत एवं असुल गरी जरिवाना र कैद सजाय मागदावी गरि विहीबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । प्राप्त सवै सवुद प्रमाणबाट ओम सर्जिकलका संचालक भण्डारी तथा भन्सार प्रतिनिधि जमकटेलले आपसी मिलेमतोमा न्यूनतम मूल्यको गलत कागजात तयार गरी सोही बमोजिम वास्तविक भन्दा फरक मालवस्तु भन्सार घोषणा गरी आंफुहरुलाई फाईदा र सरकारलाई हानी पु-याउने मनसाय तथा योजनाका साथ कार्य गरी राजस्व चुहावट गरेकोले मुद्दा दायर गरेको विभागले जनाएको छ ।

विभागका अनुसार उनीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ को खण्ड (क), (ख), (च) र (छ) बमोजिम राजस्व चुहावट गरेकोले सोही ऐनको दफा २(छ१) बमोजिम एक करोड छ लाख ७२ हजार नौ सय नौ रुपैयाँ एकासी पैसा विगो कायम गरी सोही ऐनको (पहिलो संशोधन –२०७६) को दफा २३(१), २३(१) को खण्ड (ख), २३(२) र २३ (४) वमोजिम विगो रकम जफत एवं असुल उपर गरी जरिवाना र कैद सजाय मागदावी उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरिएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया