Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसार्वजनिक क्षेत्रमा आंशिक प्रतिबन्ध

सार्वजनिक क्षेत्रमा आंशिक प्रतिबन्ध


काठमाडौं ।
संघीय राजधानी काठमाडौंलगायत देशका सहरी क्षेत्रमा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले विभिन्न सार्वजनिक क्षेत्रमा आंशिक प्रतिबन्ध लगाएको छ । सहरी क्षेत्रका विद्यालय, कलेज, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्बल, हेल्थ क्बल, सार्वजनिक बसलगायतका व्यवसायको साथै राजनीतिक कार्यक्रम र धार्मिक स्थलमा पनि सरकारले आंशिक प्रतिबन्ध लगाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संक्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी आंशिक प्रतिबन्ध लगाएको हो । काठमाडौंलगायत केही शहरी क्षेत्रका विद्यालयहरू वैशाख महिनाभर बन्द गरिएको छ । विद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गर्नुपर्ने सरकारले निर्णय गरेको छ ।

सरकारले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका महानगरपालिका, नगरपालिका, विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका, इटहरी, धरान, जनकपुर, हटौँडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका, मेची नगर, बिर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर तथा भीमदत्तनगर नगरपालिकामा रहेका शैक्षिक संस्था, विद्यालय, इन्स्टिच्युट, तालिम केन्द्रलगायतलाई यही वैशाख मसान्तसम्म भौतिकरूपमा उपस्थित नभई भर्चुअल तथा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाई सञ्चालन गर्ने आदेश जारी गरेको मन्त्रिपरिषद् बैठकपछि सरकारले सार्वजनिक गरेको निर्णयमा उल्लेख गरिएको छ ।

मन्त्रिपरिषद्का अनुसार विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षा भने जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन हुनेछन् । सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, डान्स क्लब, हेल्थ क्लब, जिम खाना, पौडी पोखरी, फुटसल, आमसभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितका खेल र मानिसको भीडभाड हुने सबै प्रकारका कार्य पनि वैशाख मसान्तसम्म बन्द गरिएको सरकारले जनाएको छ ।

यस्तै, धार्मिक आस्थाको केन्द्र मानिने मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी वैशाख मसान्तसम्म नित्यपूजा, ध्यान र प्रार्थना मात्र गर्न पाउने, एक पटकमा २५ जनाभन्दा बढी हुन नहुने, सामाजिक दूरी अवलम्बन गर्ने गरी शपिङ मल, डिपार्टमेन्टल स्टोर सञ्चालन गर्ने, मास्क र साबुनपानीको व्यवस्था व्यवस्थापकले नै गर्नुपर्ने, मेला, जात्रा, पर्व, विवाहलगायत धार्मिक अनुष्ठान र मलामीलगायत धार्मिक तथा परम्परागत कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन । विवाहको लगन सुरु हुनै लाग्दा सरकारले तोकेको यस्तो मापदण्डको कारण विवाहपछिका भोजहरू प्रभावित हुनेछन् ।

विवाह वा व्रतबन्धका लागि पार्टी प्यालेसको प्रयोग गर्नुपर्दा स्थानीय प्रशासनको पूर्वस्वीकृति लिनुपर्ने, सभा, सम्मेलन, गोष्ठी, तालिमलगायत क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्नुपर्ने, भौतिक रूपमा उपस्थित भई गर्नै पर्ने भएमा बढीमा २५ जना मात्र उपस्थित हुनुपर्ने सरकारी निर्णयमा उल्लेख गरिएको छ ।

यस्तै, सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोका र भित्र सेनिटाइजरको अनिवार्य व्यवस्था गर्ने, चालक र सवारी चालकले मास्क अनिवार्य लगाउनुपर्ने, सवारीसाधनलाई दैनिक निसङ्क्रमण गर्नुपर्नेछ ।

हवाईजहाजका चालक र यात्रुलाई अनिवार्य मास्क, जहाज र झोलालाई स्यानिटाइज गर्नुपर्ने, कार्यालय र पसलमा सेनिटाइजरको व्यवस्था अनिवार्य गर्ने, कुनै व्यक्तिले मास्क नलगाई आएमा व्यवस्थापकले १० लिई मास्क प्रदान गर्नुपर्ने, मास्क नलगाउने व्यक्तिलाई कार्यालय प्रवेशमा रोक लगाउने आदेश जारी गरिएको छ ।

यस्तै होटेल तथा रेष्टुरेन्टले बिहान ८ देखि बेलुका ८ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सेवा दिनुपर्ने, अन्य समयमा होम डेलिभरी गर्नुपर्ने, राष्ट्रिय राजमार्गमा सञ्चालित होटेल तथा रेष्टुरेन्टले जनस्वास्थ्यका मापदण्ड पालना गरी भीडभाड हुन नदिने व्यवस्था मिलाउने, नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणाली लागू गर्न व्यवस्था मिलाउने, नियमित सञ्चालन हुने स्वास्थ्य संस्था स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्नेछ ।

यस्तै, नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थामा सेवा तथा कार्यको लागि विद्युतीय भुक्तानी प्रणाली लागू गर्न सहजीकरण गर्नुपर्ने भएको छ भने सेवा शुल्क र महसुल अग्रिह वा एकमुष्ट रुपमा बुझाउन चाहनेलाई सोबमोजिम गर्नसक्ने गरी व्यवस्था मिलाउनुपर्ने सरकारले निर्णय गरेको छ ।

थप एक हजार २८१ जनामा कोरोना पुष्टि
सोमबार थप एक हजार दुई सय ८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ८५ हजार नौ सय पुगेको छ । थप सात हजार एक जनाको पीसीआर परीक्षण गर्ने क्रममा एक हजार दुई सय ८१ जनामा तथा पाँच सय ४७ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २३ लाख ५२ हजार पाँच सय दुई जना पुगेको छ ।

हाल ८१ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका छ सय ३४ जना रहेका छन् । काठमाडौँ पाँच सय पाँच, ललितपुर ९७ तथा भक्तपुरमा ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हालसम्म दुई लाख ७५ हजार पाँच सय ५५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई सय ५५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर चार हजार ५६ सक्रिय सङ्क्रमित रहेका छन् । हाल सात हजार दुई सय ५४ सङ्क्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो समय आठ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ९१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया