Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनक्कली पीसीआर रिपोर्ट लिई विदेश उड्नलागेका एक सय ७२ जना फर्काइए

नक्कली पीसीआर रिपोर्ट लिई विदेश उड्नलागेका एक सय ७२ जना फर्काइए


काठमाडौँ ।

कोभिड–१९ को पीसीआर रिपोर्ट नक्कली लिई विदेश उड्नलागेका नेपाली, भारतीय र पाकिस्तानी नागरिकलाई त्रिभुवन विमानस्थलबाट फिर्ता पठाइएको छ । विमानस्थल अधिकारीहरूका अनुसार नक्कली पीसीआर रिपोर्ट लिएको आशंकामा नेपाली, भारतीय र पाकिस्तानी नागरिक गरी एक सय ७२ जनालाई प्रहरीले विदेश जान रोकेको हो । विदेश जान लागेको नेपाली नागरिकले सूरिया हेल्थकेयर प्रालिबाट नक्कली पीसीआर रिपोर्ट लिएको आशांका गरिएको छ । जाँच पास गरी बोर्डिङ पास लिइसकेका एक सय २२ जनालाई रोकेको विमानस्थलका सूचना अधिकारी तेज बहादुर पौडेलले बताए । जाँच पास गरी बोर्डिङ पास लिइसकेका सलाम एयरका ३२ जना, जजिरा एयरका ३६ जना र एयर अरेबियाका ५४ जना गरी एक सय २२ जना यात्रुलाई डिपार्चर हलबाट नियन्त्रणमा लिइएको थियो ।

यता अध्यागमन विभागले विदेश उड्न लागेको नेपाल, भारत र पाकिस्तानी नागरिकलाई रोकिएको जानकारी दिएको छ । प्रहरीले दिएको जानकारीअनुरुप सिनामंगलमा रहेको सूरिया हेल्थकेयरले विदेश जानलागेका युवाहरूको नक्कली पीसीआर रिपोर्ट बनाइदिएको भनेसँगै अध्यागमनले समेत विदेश जाने लागेका युवाहरूमा कडाइ गरेको बताएको छ । यसैबीच, पछिल्लो समय विभागले भारतीय नागरिकको हकमा भारतीय दूतावासले जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओस) आधारमा मात्र विदेश जाने दिने गरेको विभागका प्रवक्ता भंकनाथ ढकालले बताए । ‘भारतीयको संख्या उल्लेखनीय रुपमा बढेको छ, एनओसीको आधारमा उड्न दिने गरेका छौँ’, उनले भने, ‘नेपालीलाई पनि भारतबाट उड्नुपर्दा एनओसी आवश्यक पर्छ ।’

भारतमा कोरोना बढेसँगै भने भारतबाट विदेश उड्नको लागि केही भिसामा रोक लगाइएको थियो । खुला सिमानाको कारण भारतबाट उड्न रोक लगाएसँगै उनीहरू नेपालबाट विदेश जानको लागि आएको हुनसक्ने आशंका छ । पछिल्लो समय नेपालस्थित भारतीय दूतावास, लैनचौरमा एनओसी लिने भारतीयहरू समेत बढेपछि अब भारतीयलाई विदेश
जान त्यो पनि नचाहिने व्यवस्थागरिएको छ । दैनिक तीनदेखि चार सय जनासम्म आउने गरेको दूतावासले जानकारी दिएको छ ।

नक्कली पीसीआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित सुरिया हेल्थकेयर प्रालि र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका आठ जना कर्मचारीहरूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि आवश्यक पर्ने पीसीआर रिपोर्ट नेपाल सरकारले तोकेभन्दा अत्यधिक रकम लिई स्वाबको नमूना समेत नलिई १÷२ घण्टाभित्रमा नै नक्कली पीसीआर रिपोर्ट उक्त ठाउँबाट दिने गरेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

तर, सुरिया हेल्थकेयरका अधिकारीहरूले भने प्रहरीसमक्ष परीक्षण गर्दा आउने नतिजाअनुरुप नै रिपोर्ट दिने गरेको दाबी गरेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क स्थापना गरेको थियो ।यस्तै हेल्थ डेस्क प्रभावकारी नभएको भन्दै आलोचना समेत भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय मुलुकमा कारोना भाइरसको नयाँ प्रजाति ‘युके भेरियन्ट’ देखिएको थियो भने उक्त भाइरस देखिँदैमा आत्तिनुपर्ने अवस्था नरहेको बताइएको छ । पीसीआर गलत भएकै कारण हवाइ यात्रा गर्दा एयरलाइन्सहरू समेत समस्यामा पर्ने गरेको छ ।

आठ जना पक्राउ
नक्कली पीसीआर रिपोर्ट बनाउने कार्यमा संलग्न आरोपमा काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित सुरिया हेल्थकेयर प्रालि र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका आठ जना कर्मचारीहरूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्ने झापा गौरादह नगरपालिका–७ घर भएका ४५ वर्षीय प्रकाश रायमाझी भन्ने चित्र बहादुर रायमाझी, ललितपुर इमाडोल बस्ने सप्तरी राजविराज नगरपालिका–१३ घर भएका ३२ वर्षीय प्रमोद कुमार यादव, महोत्तरी गौशाला नगरपालिका–१ बस्ने ५० वर्षीय प्रदिप कुमार गिरी, काठमाडौं सिनामंगल बस्ने महोत्तरी सोनाम गाउँपालिका–६ घर भएका २५ वर्षीय अमन कुमार यादव, काठमाडौं अनामनगर बस्ने मोरङ विराटनगर महानगरपालिका–३ घर भएका ३२ वर्षीय वजेश पोख्रेल, काठमाडौं बानेश्वर बस्ने महोत्तरी गौशाला नगरपालिका–१ घर भएका २२ वर्षीय बादल मिरिङ छिङ, काठमाडौं चावहिल बस्ने दोलखा बैतेश्वरी नगरपालिका–५ घर भएका २२ वर्षीय सरोज क्षेत्री र ललितपुर धापाखेल बस्ने सप्तरी मध्यपुरा गाउँपालिका–१ घर भएका ४४ वर्षीय डा. खेलानन्द प्रसाद रहेका छन् ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेभन्दा अत्याधिक रकम लिई स्वाबको नमूना समेत नलिई १÷२ घन्टा भित्रमा नै नक्कली पिसिआर रिपोर्ट उक्त ठाउँबाट दिने गरेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

मेरिट मल्टी केयरका एजेन्टहरूले सेवाग्राहीसँग पिसिआर परीक्षण शुल्क प्रतिव्यक्ति नौ हजार रुपैयाँ लिई सुरिया हेल्थकेयरको मिलेमतोमा स्वाब परीक्षण नै नगरी रिपोर्ट बनाइदिने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । सुरिया हेल्थकेयरबाट चार थान नक्कली परीक्षण रिपोर्ट तथा कम्प्युटरलगायतका उपकरण समेत बरामद गरी थप अनुसन्धान कार्यको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रतिनिधिको रोहबरमा सुरिया हेल्थकेयर हाललाई बन्द गरिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया