Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकैलालीमा धानको बीउको मूल्य तोकियो

कैलालीमा धानको बीउको मूल्य तोकियो


टीकापुर ।

कैलालीमा धानको बीउको मूल्य निर्धारण गरिएको छ । बर्खे धानखेती गर्न किसानका लागि उन्नत तथा गुणस्तरीय धानको बीउको मूल्य निर्धारण गरिएको हो ।यस वर्ष उन्नत जातको मोटा धानको बीउ प्रतिकिलो ६० रूपैयाँ र मसिनो ६५ रूपैयाँ कायम गरिएको बीजवृद्धि कृषक सहकारी संस्था जानकी गाउँपालिका मुनुवाका प्रबन्धक गोविन्द रावतले बताए । ‘किसानलाई खेती गर्दा मूल्यमा एकरूपता होस् र ठगिनबाट जोगिउन् भनी हामीले यस वर्ष मूल्य निर्धारण गरेका छौँ’, उनले भने, ‘मूल्य समयमै तोकिएमा किसानले बजारमा गुणस्तरहीन धानको बीउ खरिद गर्नुपर्दैन । गुणस्तरीय धानको बीउ प्रयोग गरेमा उत्पादन पनि बढी लिन सकिन्छ ।’

राष्ट्रिय बीउ उत्पादक संघ कैलाली र कञ्चनपुरको गत चैत २१ गते बसेको बैठकले दुवै जिल्लामा लागू हुनेगरी धानको बीउको मूल्य निर्धारण गरेको हो । उत्पादन क्षेत्रमा लागेका र क्रियाशील बीउ उत्पादक सहकारीलाई मान्य हुने गरी संघले उन्नत बीउसँगै प्रमाणित मोटा धानको बीउ प्रतिकिलो ६८ रूपैयाँ र मसिनो ७० रूपैयाँ निर्धारण गरेको छ । यस्तै मूल बीउ मोटा प्रतिकिलो ७० रूपैयाँ र मसिनो ७५ रूपैयाँ निर्धारण गरेको छ । यसरी निर्धारण गरिएको मूल्य सबैलाई मान्य हुनेगरी निर्धारण गरिएको मूल्य कार्यान्वयन गरिरहेको धनसिंहपुर सहकारी संस्थाका प्रबन्धक मुना घर्तीमगरले बताइन् । ‘मूल्य निर्धारण हुँदा एकरूपता मात्र होइन, किसानलाई सजिलो पनि हुन्छ ।

किसानले सहकारी तथा सहकारीले वितरण गरेका स्थानबाट खरिद गर्न पाउँछन्’, उनले भनिन्, ‘गुणस्तरीय तथा उन्नत बीउको प्रयोगले उत्पादन बढ्ने भएकाले किसान नयाँ उन्मोचित उन्नत बीउको प्रयोग गर्न थालेका छन् ।’किसानले प्रयोग गर्ने धानको बीउको जात एकै भए पनि कृषक सहकारी र कम्पनीअनुसार फरक रहने भएकाले किसान ठगीमा नपरुन् भनेर यसरी मूल्य निर्धारण गरिएको बताइन्छ । यसरी निर्धारण गरिएको धानको बीउको मूल्य गत वर्षभन्दा केही महङो छ ।

गत वर्षभन्दा यस वर्ष धानको बीउ प्रतिकिलो पाँच रूपैयाँका दरले बढेको छ । यस वर्ष सरकारले निर्धारण गरेको मूल्यभन्दा बीउ उत्पादक सहकारी र कम्पनीले १५ प्रतिशत बढी मूल्य तिरेर किसानबाट धान खरिद गरेकाले केही महँगो भएको नमूना बहुउद्देश्यीय सहकारीका अध्यक्ष जीतबहादुर चौधरीले बताए । ‘हामीले धानको बीउ खरिद गर्दा नै महँगोमा खरिद गरेका थियौँ । हामीले सरकारले तोकेको मूल्यमा १५ प्रतिशत बढी रकममा किसानबाट खरिद ग¥यौँ’, उनले भने, ‘त्यसलाई हेर्दा अहिले बीउको मूल्य खासै महँगो होइन ।’ कैलाली र कञ्चनपुरमा गरी अहिले ३५ वटा बीउ उत्पादक कृषि सहकारी र कम्पनी छन् ।

तीमध्ये कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा गरी ११ वटा बीउ उत्पादक सहकारी र कम्पनी छन् । टीकापुर जानकीमा अहिले एक हजार दुई सय ४७ मेट्रिक टन धानको बीउ मौज्दात रहेको र अहिले ग्रेडिङ कार्य भइरहेको छ । ‘यतिखेर धानको बीउ ग्रेडिङ कार्य चलिरहेको छ । अबको केही दिनमा बीउ बिक्री सुरु हुन्छ’, चौधरीले भने, ‘यहाँको बीउ नेपालका धेरैजसो जिल्लामा जान्छ । हामीले बीउमा कैलाली जिल्लालाई आत्मनिर्भर बनाउने गरी काम गरिरहेका छौँ ।’

कैलाली जिल्लाको टीकापुर र जानकीमा रहेका बीउ उत्पादक सहकारीलाई यहाँ सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले समेत सघाउँदै आएको छ । सिँचाइ आयोजनाले बीउ उत्पादन, कृषि औजार, सहकारीका भवन निर्माणजस्ता कार्यमा अनुदान र सहयोग गर्दै आएको छ ।आर्थिक दैनिक


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया