Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२० हजार मेट्रिक टन सुपारी आयातको कोटा पाएका पोखरेल धमाधम कोटा बेच्दै

२० हजार मेट्रिक टन सुपारी आयातको कोटा पाएका पोखरेल धमाधम कोटा बेच्दै


विराटनगर।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परिमाणात्मक बन्देजसहित सुपारीको कोटा वितरण गरेको बताए पनि व्यापक आर्थिक चलखेल गरेर विराटनगरका दुई व्यापारीले मात्रै सुपारी आयातको कोटा पाएका छन् । परिमाणात्मक बन्देजसहितको कोटा आफूनिकट व्यवसायीलाई वितरण गरेको सरकारले झापाका ‘सुपारी डन’ भनी चिनिएका व्यवसायी दिपक पोखरेललाई २० हजार मेट्रिक टन सुपारीको कोटा दिएको पाइएको छ । पोखरेलले सरकारसँगको सेटिङमा ठूलो मात्रामा कोटा हात पारेपछि सेटिङको रहस्य बाहिर नआउने सर्तमा आफ्नो नामबाट पाएको कोटा विराटनगरका दुई ठूला सुपारी डनलाई बेचेका छन् ।

उनले आफ्नो कोटामध्ये विराटनगरका ‘सुपारी डन’ भनी कहलिएका व्यवसायी दिनेश राठीलाई दुई हजार पाँच सय मेट्रिक टन र उद्योगी प्रदिप कुमार मुरारकालाई दुई हजार पाँच सय मेट्रिक टन सुपारीको कोटा बिक्री गरेका छन् । यसैगरी उनले झापा जिल्लाका अरु दुई सुपारी व्यवसायीलाई पनि पाँच हजार मेट्रिक टन सुपारीको कोटा बिक्री गरेको स्रोतको दाबी छ । पोखरेलले १० हजार मेट्रिक टन सुपारी आयातको कोटा बिक्री गरेका छन् भने १० हजार मेट्रिक टन सुपारी आयातको कोटा आफैँले राखेका छन् । पोखरेलले सरकारबाट लिएको सुपारी कोटालाई नै अन्य सुपारी व्यवसायीसँग मोटो रकमको चलखेल गरी कोटा वितरण गरेको समाचारस्रोतको दाबी छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीकै हस्तक्षेपबाट उच्च राजनीतिक तहमा सुपारी व्यापारी पोखरेसँग सहमति गरी सीमित व्यापारिक फर्मलाई कोटा दिन वाणिज्य मन्त्रालयको उच्च तहले निर्देशनात्मक दबाब दिएपछि सुपारीको कोटा वितरण भएको थियो । परिमाणात्मक बन्देजसहित आयात खुलाउने निर्णय गरेको सरकारले आफना आसेपासे र नजिकका व्यवसायीलाई फाइदा पुग्ने कोटा प्रणाली वितरण गरेको थियो । आफूहरूले कोटा नपाएपछि एउटा असन्तुष्ट व्यवसायी समूह सुपारी डनको फेहरिस्त सार्वजनिक गर्न उद्धत रहेका दृश्य अहिले विराटनगरमा जताततै देखिन थालिएको छ । पछिल्लो समय सत्तानिकट केही व्यापारीसँगको सेटिङमा कोटा वितरण गरिएको भन्दै व्यापारीहरू उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा व्यवसायी दिपक पोखरेलका विरुद्ध उजुरी नै गरिएको व्यवसायीस्रोतले जानकारी दिएको छ । सरकार आफैँले आयात खुलाएकोमध्ये पछिल्लो समय सुपारीको कोटा सबैभन्दा बढी विवादित बनेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया