Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआवश्यकताका आधारमा आयोजना छनोट गर्न निर्देशन

आवश्यकताका आधारमा आयोजना छनोट गर्न निर्देशन


काठमाडौँ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यकता र औचित्यका आधारमा मात्र आयोजनाहरू छनौट गर्न प्रदेश र स्थानीय तहलाई निर्देशन दिएका छन् ।सामथ्र्यबाहिरका आयोजनाहरू छनौट गर्दा कार्यान्वयनमा समस्या पर्ने र अलपत्र हुने सम्भावना रहेको बताउँदै उनले आयोजनाहरू छनौट गर्दा विशेष ध्यान दिन आग्रह गरे । अन्तरसरकारी वित्त परिषद्को छैठौं बैठकमा अर्थमन्त्री पौडेलले आयोजनाहरू छनौट गर्दा गुरुयोजना, जग्गा, वातावरणीय प्रभाव मुल्यांकन, स्रोत व्यवस्थापन लगायतका आयोजना तयारीका कार्य पुरा हुन जरुरी रहेको बताए ।

संघ, प्रदेश र स्थानीय तहको सरकारको अभ्याससँगै जनतामा विकासका आकांक्षा पनि बढेको र सीमित साधन स्रोत हुँदा अन्तर्विरोध जस्तै देखिए पनि तीन तहका सरकार एकअर्काको विरोधी नभएर परिपूरक भएको बताए । वित्तीय संघीयतालाई समृद्ध पार्न आवश्यक भएको भन्दै यसकार्यमा सहयोग गर्न अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहलाई आग्रह गरे । बैठकमा अधूरा तथा बहुवर्षीय आयोजनालाई उच्च प्राथमिकतासाथ सम्पन्न गर्ने, वित्तीय अनुशासन र कानुनको परिपालन एवं मितव्ययिता कायम गर्ने, तीन तहबीचको वित्तीय प्रतिवेदन प्रणालीलाई एकीकृत गरी गर्ने विषयमा छलफल भएको थियो ।

यस्तै, कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा तीनतहबीच समन्वय र सहकार्य गरी स्रोत साधन र जनशक्तिको व्यवस्थापन गर्ने, योजनाहरूको दोहोरोपन हटाउने, प्रादेशिक र स्थानीय आवश्यकता र प्राथमिकताको क्षेत्रमा स्रोत परिचालन गर्ने विषयमा पनि छलफल भएको थियो । कार्यक्रममा प्रदेश र स्थानीय तहका पदाधिकारीहरूले हालको अनुदान वितरण प्रणालीमा सुधार गर्नुपर्ने विषयमा सुझाव दिएका थिए ।

स्थानीय तहका जनप्रतिनिधिहरूले स्थानीय तहसँगको समन्वयमा आयोजनाहरू छनौट गर्दा त्यस्ता आयोजनाको कार्यान्वयनमा सहजता हुने धारणा व्यक्त गरेका थिए । भर्चुअल माध्यमबाट आयोजना गरिएको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरू, अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, प्रदेशका सचिवहरू, विज्ञ, स्थानीय तहका जनप्रतिनिधिहरूलगायत सहभागी थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया