बेलायत पठाउने भन्दै राप्रपा नेता लामाद्वारा लाखौं ठगी
काठमाडौं, पुस २९
विदेश पठाउने नाममा ठगी गर्नेमा व्यवसायी मात्र नभएर नेताहरु समेत रहेको पाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटका नेता कमानसिंह लामाले विदेश पठाउने भन्दै आफ्नै जिल्लावासीलाई ठगी गरेका छन् । नुवाकोट मेगाङका ४० वर्षीया धनमाया तामाङ र ३६ वर्षीय कामी लामालाई बेलायत पठाउने भन्दै उनले दुवै जनामार्फत नौ लाखभन्दा बढी रकम लामाले ठगी गरेका छन् ।
उनीहरुलाई बेलायतमा रहेको एक होटलमा काम लगाइदिने भन्दै सात/सात लाख मागेको पीडित तामाङ र लामाले बताए । ‘हामीलाई विशिष्ट समूहसँग बेलायत पठाइदिने भन्दै उनले सात/सात लाख माग गरेका थिए’, लामाले भने, ‘हामीले उनलाई दुई जनाको गरी एकमुष्ट नौ लाख ५२ हजार रुपैयाँ दिएका हौं ।’
‘लामाले विशिष्ट समूह अर्थात् युवराज पारस शाहको साथीहरु बेलायत जान लागेका छन्, सो समूहसँगै आफूहरुलाई बेलायत पठाउने बताएका थिए’, पीडित लामाले भने, ‘बेलायतमा शाहको भान्जाको होटेल रहेको छ, त्यसमा तपाईंहरुले काम गर्न पाउनुहुन्छ भनी हामीलाई सिंहले भनेका थिए ।’
नौ जनाको समूहलाई बेलायत पठाउन लागेको सो समूहमा दुई जना कमी रहेकोले तपाईंहरुलाई बेलायत पठाइदिने भन्दै सिंहले आफूहरुसँग सो रकम लिएको पीडितहरुको भनाइ छ । गत वर्षको मंसिर २२ गते बेलायत उडाउने भन्दै लाखौं रकम लिएका सिंहले हालसम्म तामाङ र लामालाई विदेश पठाउनसकेका छैनन् भने विदेश पठाउने नाममा लिएको रकम समेत फिर्ता गरेका छैनन् । घरको आर्थिक समस्याले गर्दा रामो मुलुक र राम्रो कामको आश देखेर विदेश जानको लागि तयार भएको उनीहरुले बताए । ‘हामीहरुले घर परिवारसँग सल्लाह गरेर घरको आर्थिक समस्या टार्न सकिन्छ कि भनेर विदेश जाने तयारी गरेका थियौँ’, उनीहरुले भने, ‘बाध्यताले गर्दा ऋण काढेर विदेश जान लागेका हौं तर ठगिन पुग्यौं ।’
मंसिर २२ गते बेलायत जानको लागि कागजात नपुगेको भन्दै नेता लामाले केही समयपछि उडाइ दिने भन्दै सम्पर्क गरेको पनि उनको भनाइ छ । ‘तर त्यसपछि क्रमशः एक महिनासम्म भोलि भोलि भनेर उडाउन सकेनन्’, पीडित लामाले भने । बेलायत जान नपाएपछि आफूहरुले सिंहलाई दिएको रकम फिर्ता दिन आग्रह गरेको पीडित तामाङ र लामाले बताए । रकम फिर्ता दिने भन्दै सिंहले आफूहरुलाई बालाजु, बाईसधारालगायतका विभिन्न स्थानमा बोलाएर आफूचाहिँ नआउने गरेको पीडित लामाले बताए ।
‘पैसा फिर्ता पाउने आशामा बालाजु, बाईसधारा क्षेत्रमा रहेका बैंकहरु तथा कयौं स्थानमा लामो समय पर्खिँदा नेता लामा पनि आएनन्, उनका निकटस्थहरु समेत आएनन्’, उनले भने, ‘रकम फिर्ता पाउने आशामा काठमाडौंका विभिन्न स्थान र बैंकमा दिनको १२/१३ घण्टासम्म नेता लामाको रकम दिने आश्वासनमा बसे पनि उनी आएनन् ।’ रकम फिर्ता गर्न कहिले आफू स्वयं आउने त कहिले निकटस्थ व्यक्तिलाई पठाइदिने आश्वासन उनले दिने गरेको पीडितको भनाइ छ ।
सिंहले गत साउको ३ गते पीडितहरुलाई रकम दिने भन्दै नेपाल इन्भेष्टमेन्ट बैंकको चेक दिए पनि बैंकमा जाँदा चेक बाउन्स भएको थियो । उनले भने, ‘लामाले ००१०१०१०३३२२५५ नम्बरको खाता भएको नौ लाख ५२ हजार रुपैयाँकै इन्भेष्टमेन्ट बैंकको चेक दिएका छन् । बैंकमा जाँदा चेक बाउन्स भयो ।’ लगत्तै सिंहलाई सम्पर्क गरे पनि हालसम्म पीडितहरुले कुनै रकम फिर्ता नपाएको उनीहरुको भनाइ छ ।
केही महिनायता भने नेता लामाले पीडित तामाङ र लामा दुवैको फोन नम्बर कालोसूचीमा राखेको उनीहरुको भनाइ छ । यस्तै सिंहले आशिष थापा नामक एक व्यक्तिले रकम दिने भन्दै उनको सम्पर्क नम्बर समेत दिएका थिए । ती व्यक्तिले ‘सिंह (नेता)लाई दुःख नदिनु म तपाईंहरुको समस्या समाधान गर्छु’ भनी फोनमार्फत बताएका थिए । तामाङले भनिन्, ‘तर पछि उनले समस्या समाधानको लागि कुनै पहल गरेका छैनन् ।’ उक्त थापा भन्ने मानिसलाई आफूहरुले नचिन्ने तर उनले आफूहरुलाई सम्पर्क भने गरेको पीडितहरुले बताए । आशिष थापा भनेर हामीलाई फोन सम्पर्क गर्ने ती व्यक्ति को हुन्, नाम पनि वास्तविक हो कि होइन आफूहरुलाई थाहा नभएको पीडितहरुको भनाइ छ ।
यसैबीच सिंहलाई आर्थिक दैनिक प्रतिनिधिले पटक–पटक सम्पर्क गर्न खोज्दा उनको मोबाइलमा सम्पर्क भए पनि फोन भने उठाएनन् । यता पीडितहरु भने पैसा फिर्ता पाउने आशामा काठमाडौंमा बसिरहेका छन् । उनीहरुले आर्थिक रुपमा काठमाडौंमा बस्न निकै कठिन भएको बताएका छन् । ‘हामीहरुको लागि यो निकै ठूलो रकम हो, अरुसँग लिएको ऋण हो’, उनीहरुले भने, ‘हामीले दिएको पैसा फिर्ता मागेका हौं । हामीलाई धेरै पनि चाहेको होइन, थोरै पनि चाहिएको होइन बस हामीहरुले जति पैसा दिएको त्यछि फिर्ता गरे हुन्छ ।’ वैदेशिक रोजगारीको नाममा ठगीमा पर्ने युवाहरुको संख्या मुलुकमा धेरै रहेको पाइन्छ । सरकारले वैदेशिक रोजगारी व्यवस्थित बनाउन नसक्दा युवाहरु ठगिने क्रम आजसम्म रोकिन सकेको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया