Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योगी व्यवसायीका समस्या समाधान गर्न उच्चस्तरीय द्रुत उद्धार टोली निर्माण

उद्योगी व्यवसायीका समस्या समाधान गर्न उच्चस्तरीय द्रुत उद्धार टोली निर्माण


काठमाडौं ।
निषेधाज्ञामा उद्योग एवं व्यवसायीको समस्या समाधान गर्नका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उच्चस्तरीय -यापिड रेस्पोन्स टिम (द्रुत उद्धार टोली) निर्माण गरेको छ  । मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीका अनुसार उद्योग एवं व्यवसायीले निषेधाज्ञाको समस्या भोग्नुपरेको समस्याको विषयमा उक्त पाँच सदस्यीय उच्चस्तरीय द्रुत उद्धार टोलीलाई जानकारी गराउन सक्नेछन् । उद्योगी एवं व्यवसायीले निषेधाज्ञामा उद्योग सञ्चालन, आयातनिर्यात तथा ढुवानीलगायतको समस्याबारे जानकारी गराएमा सो समूहले समस्या समाधान गरिदिने बताइएको छ ।

उक्त पाँच सदस्यीय टोलीमा आपूर्ति व्यवस्थापनको जिम्मेवारी प्रेमकुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमन सहजताको हकमा जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामग्रीको आपूर्तिको जिम्मेवारी डा. श्रीराम घिमिरे, उत्पादनशील उद्योगको हकमा नरायण प्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा स्वयं डा. रेग्मी रहेका छन् । ९८४१५२६४४१ मा श्रेष्ठलाई, ९८५१ १४०००३ मा दाहाललाई, ९८५१ १५१३४७ मा घिमिरेलाई, ९८५१ २२२०३३ मा दुवाडीलाई र ९८५१ २७४६७४ मा रेग्मीलाई सम्पर्क गरी उद्योगी तथा व्यवसायीहरूले आफ्नो समस्या राख्न सकिन्छ । यद्यपि समूहका सबै सदस्यहरू मन्त्रालयका अधिकारीहरू हुन् ।

उक्त टोलीले अत्यावश्यक दैनिक खाद्यवस्तु तथा सेवा एवं औषधिजन्य मास्क, सेनिटाइजर, अक्सिजन तथा अक्सिजन सिलिण्डर सहज एवं सुपथ मूल्यमा उपलब्ध गराई अभाव हुन नदिने व्यवस्था मिलाउने, अत्यावश्यक वस्तु तथा सेवा एवं हाल अत्यावश्यक वस्तुहरूको रुपमा रहेको औषधिजन्य मास्क, सेनिटाइजर तथा अक्सिजन र अक्सिजन सिलिण्डरको पर्याप्त आपूर्ति व्यवस्था मिलाउन समेत काम गर्दछ । यस्तै उक्त कामका लागि उद्योग/व्यवसायका छाता संगठनहरूले आवश्यक सहयोग र समन्वय गर्ने काम समेत द्रुत उद्धार टोलीले गर्नेछ ।

यसका साथै सरकारले जारी गरेको निषेधाज्ञालाई कडा रुपमा पालना गर्दै दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरू एवं औषधिजन्य वस्तुको नियमित आपूर्ति गरी वितरणको व्यवस्था मिलाउन उद्योगमन्त्री, सचिव, उद्योग/व्यवसायका छाता संगठनहरू र सम्बद्ध निकायका पदाधिकारीहरूसँग संयुक्त छलफल गरी द्रुत उद्धार टोलीलाई उद्योगी, व्यवसायीको समस्या समाधान गर्न, अत्यावश्यक खाद्य वस्तु तथा सेवा एवं औषधिजन्यलगायतको व्यवस्थापन गर्न जिम्मेवारी दिएको हो ।

यता कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भने स्वास्थ्य मापदण्ड अपनाई उद्योगहरू सहजरुपमा सञ्चालन गर्नसक्ने जनाएको छ । केन्द्रका संयोजक डा.खगराज बरालले स्वास्थ्य मापदण्ड अपनाई उद्योग सञ्चालन गर्न सकिने बताए । ‘सरकारले उद्योगधन्दा सञ्चालनमा कुनै रोक लगाएको छैन’, उनले भने, ‘उद्योगधन्दा निर्बाध सञ्चालन गर्दा हुन्छ सरकारले सहयोग गर्नेछ ।’ यस्तै मन्त्रालयले पछिल्लो समय अत्यावश्यक ढुवानी गर्ने सवारीसाधनको लागि पास प्रदान गरी सहजीकरण गरेको पाइन्छ  ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया