Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाको कारण अवस्था थप भयावह, एकै दिन थपिए ७२ सय ११ संक्रमित

कोरोनाको कारण अवस्था थप भयावह, एकै दिन थपिए ७२ सय ११ संक्रमित

४१ जिल्लामा निषेधाज्ञा/कोरोना संक्रमितका लागि सात हजार बेड थप्दै


काठमाडौं ।
नेपालमा कोरोना संक्रमणको कारण अवस्था थप जटिल र भयावह बनेको छ । कोरोना संक्रमण बढ्दै गर्दा विभिन्न जिल्लामा निषेधाज्ञा लगाउन क्रममा पनि वृद्धि भएको छ । यसले देशको समग्र आर्थिक अवस्था पनि थप जटिलतातर्फ मोडिएको छ ।

आइतबार साँझसम्म निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ४१ पुगेको गृह मन्त्रालयले सूचना जारी गरी जनाएको छ । गृह मन्त्रालयका अनुसार बाँके, सुर्खेत, काठमाडौैं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, गुल्मी, प्यूठान, उदयपुर, बझाङ, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी र दैलेख जिल्लाभर निषेधाज्ञा घोषणा भएको छ ।

ताप्लेजुङ, रामेछाप, स्याङ्जा, कालीकोट, मकवानपुर, बाजुरा, गोरखा, काभ्रे, मोरङ, दार्चुला, बर्दिया र बाग्लुङमा भने केही निश्चित स्थानमा मात्र निषेधाज्ञा लगाइएको छ ।

कोरोना संक्रमितको संख्या बढेपछि सरकारले काठमाडौं उपत्यकामा सरकारी र निजी अस्पतालमा कोरोना संक्रमितको उपचारको लागि सात हजार शय्या (बेड) थप गर्ने भएको छ । आइतबारदेखि नै एक हजार बेड थप गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । छ वटा अस्प्तालमा गरी एक हजार बेड थप गरी सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारी र निजी अस्पतालमा थप सात हजार शय्या थप्न थालिएको जानकारी दिए । शय्या थप गरिएपछि सङ्क्रमितलाई उपचार गर्नका लागि सहज हुने छ ।

मन्त्रालयका अनुसार नेपाल प्रहरी अस्पतालमा तीन सय ५०, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, पिपुल्स डेन्टल अस्पताल र सुरेश वाग्ले स्मृति क्यान्सर अस्पतालमा सय÷सय तथा काठमाडौँ मेडिकल कलेज र नेपाल मेडिकल कलेजमा १५०/१५० शय्या थप गरिएको हो ।

ती अस्पतालमा शय्या थप गर्नका लागि मन्त्रालयले यसअघि नै सम्झौता गरिसकेको थियो । काठमाडाँै मेडिकल कलेज, नेपाल मेडिकल कलेज र किष्ट मेडिकल कलेजमा चार/चार सय दरका एक हजार दुई सय शय्या चाँडै बन्ने बताइएको छ ।

मनमोहन मेडिकल कलेजमा तीन सय, खरिपाटीमा दुई सय ५०, पाटनस्थित मानसिक अस्पतालमा २५, पाटन अस्पतालमा तीन सय ५०, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा पाँच/पाँच सय र जनमैत्री अस्पतालमा एक सय २० शय्या बन्नेछन् । सम्झौतानुसार निजी अस्पतालले दुई हजार शय्या बनाउनेछन् । अहिले मुलुकभर १८ हजार नौ सय १७ शय्या छन् ।

आइतबार मात्रै सात हजार दुई सय ११ सङ्क्रमित भएको र २७ जनाको निधन भएको छ । १६ हजार एक सय ४७ पीसीआरमा सात हजार एक सय ३७ र छ सय २३ एन्टिजेन परीक्षणमा ७४ मा सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा तीन लाख ३६ हजार ३० जना सङ्क्रमित भएका छन् ।

आइतबार देखिएका सङ्क्रमितमध्ये सबभन्दा बढी ३० देखि ३९ वर्ष उमेर समूहका एक हजार आठ सय नौ र २० देखि २९ वर्ष उमेर समूहका एक हजार सात सय ६७ रहेका छन् । त्यस्तै नौ वर्ष उमेर समूहका बालबालिका एक सय ६६, १० देखि १९ वर्ष उमेर समूहका चार सय ५७ रहेका छन् ।

सङ्क्रमित निको भई एक हजार छ सय १२ जना घर फर्किएका छन् । अहिलेसम्म दुई लाख ८३ हजार नौ सय ९४ जना निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८४.५ प्रतिशत रहेको छ ।

नेपालमा अहिलेसम्म तीन हजार तीन सय २५ जनाको सङ्क्रमणबाट निधन भएको छ । प्रवक्ता डा. गौतमका अनुसार आइतबार उपत्यकामा तीन हजार पाँच सय ९५ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा दुई हजार सात सय ४४, ललितपुरमा पाँच सय ५० र भक्तपुरमा तीन सय एक सङ्क्रमित भएका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण भएका जिल्ला १२ पुगेका छन् । प्रवक्ताका अनुसार मोरङ, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली छन् ।

आईसीयूमा चार सय ७७ र भेन्टिलेरमा एक सय ३१
यसैगरी सङ्क्रमितमध्ये चार सय ७७ सघन उपचार कक्ष (आईसीयू) र एक सय ३१ भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नंं. १ मा ५४, प्रदेश नं २ मा २४, वाग्मती प्रदेशमा दुई सय ५४, गण्डकी पाँच, लुम्बिनी ७७, कर्णाली ३३ र सुदूरपश्चिम ३० आईसीयूमा रहेका छन् । यस्तै प्रदेश नंं. १ मा १४, प्रदेश नं २ मा २, वाग्मती प्रदेशमा ७७, गण्डकी एक, लुम्बिनी २१, कर्णाली सात र सुदूरपश्चिममा नौ भेन्टिलेटर रहेका छन् ।

कोरोनाबाट संविधानसभा सदस्य चौधरीको निधन
कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट नेकपा एमालेका तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको ४४ वर्षको उमेरमा निधन भएको छ । उनी २०७० सालमा संविधानसभा सदस्य भएकी थिइन् । धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको आइतबार अपराह्न मृत्यु भएको हो । कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । एक्कासि स्वास्थ्यमा देखिएको गम्भीर समस्याका कारण उनको निधन भएको हो ।

वीर अस्पतालको नयाँ भवन कोभिड–१९ अस्पताल बनाउने तयारी
उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँको वीर अस्पतालको नवनिर्मित भवनलाई पाँच सय शय्याको कोभिड–१९ विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्यसचिव शङ्करदास वैरागी, सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग अस्पतालको नवनिर्मित भवनलाई कोरोना भाइरसका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरेका थिए ।

मन्त्री ढकाललाई कोभिड–१९ पोजेटिभ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोभिड–१९ पोजेटिभ देखिएको छ । आइतबार गरिएको स्वाब परीक्षणमा मन्त्री ढकाललाई कोभिड पोजेटिभ देखिएको हो ।

आन्तरिक र भारतसँगको हवाइ उडान बन्द
सरकारले भारतसँगको हवाइ उडान बन्द गरेको छ । आइतबार रातिदेखि नै भारतसँगको हवाइ उडान बन्द गर्ने निर्णय आइतबार नै बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । सरकारले आज सोमबारदेखि नेपालभित्रको आन्तरिक उडान पनि बन्द गरेको छ ।

देशका अधिकांश जिल्लामा निषेधाज्ञा लगाएको कारण आन्तरिक उडान बन्द गरिएको हो । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमण दर उच्च भएको कारण उडान गर्न नदिने माग हुँदै आएको थियो । भारतसँग एयरबबल सम्झौताअनुसार काठमाडौं–नयाँदिल्ली उडान हुँदै आएको थियो ।

पछिल्लो समयमा नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र भारतीय ध्वजावाहक एयर इन्डियाले दैनिक एक/एक उडान गर्दै आएका थिए । अब नेपालबाट भारत र भारतबाट नेपाल आउने सबै उडान बन्द भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया