Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकुल बजेटको कम्तीमा पनि २० प्रतिशत बजेट शिक्षामा छुट्ट्याउन माग

कुल बजेटको कम्तीमा पनि २० प्रतिशत बजेट शिक्षामा छुट्ट्याउन माग


काठमाडौं ।
नेपाली कांग्रेसले कुल बजेटको कम्तीमा पनि २० प्रतिशत बजेट शिक्षामा छुट्ट्याउन माग गरेको छ । कांग्रेसको शिक्षा विभागले आइतबार एक विज्ञप्ति जारी गरी आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा उक्त माग समेट्न आग्रह गरेको हो ।

नेपालको संविधान २०७२ ले ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ साथै उच्चशिक्षालाई सहज, गुणस्तरीय र पहुँचयोग्य बनाई क्रमशः निःशुल्क बनाउँदै लैजाने’ भन्ने कुरा उल्लेख गरेकोले सोको कार्यान्वयनको लागि कम्तीमा पनि २० प्रतिशत बजेट शिक्षामा छुट्ट्याउनुपर्ने कांग्रेसको माग छ ।

यसैगरी विद्यालय तहमा कार्यरत बालकक्षा शिक्षक तथा विद्यालय कर्मचारीहरूले न्यूनतम पारिश्रमिकमा गुजारा गर्नुपरेकोमा कानुनबमोजिम उचित पारिश्रमिकको व्यवस्था गर्न साथै विद्यालय तहमा रहेका राहत दरबन्दी, साबिक उच्च मावि (अनुदान), अस्थायीलगायतका शिक्षकहरूलाई वैज्ञानिक प्रक्रिया अपनाई एकै प्रकारको शिक्षक दरबन्दी सिर्जना गर्न पनि कांग्रेसले शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकहरूको समस्या समाधान गर्न नेपाली कांग्रेसको नेतृत्वमा रहेको विगतको सरकारले स्वीकृत गरेको एक हजार चार सय २० दरबन्दी कार्यान्वयनमा लगेर आंशिक प्राध्यापकहरूको समस्या पूरा गर्न पनि कांग्रेसले माग गरेको छ ।

यस्तै कांग्रेसले सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक साथै उच्च शिक्षामा अध्यापन गराउने सम्पूर्ण प्राध्यापकहरूलाई यथाशीघ्र कोभिड खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोभिड – १९ को नयाँ भेरियन्टको असर धमाधम देखिइरहेको सन्दर्भमा सम्पूर्ण अभिभावक, विद्यार्थी र शिक्षक वर्गमा स्वास्थ्यको न्यूनतम मापदण्ड अपनाउँदै भर्चुअल माध्ययमबाट शिक्षण सिकाइलाई निरन्तरता दिन पनि कांग्रेसले आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया