Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउपप्रधानमन्त्रीद्वारा बाँकेको स्थिति भयावह हुन नदिन निर्देशन

उपप्रधानमन्त्रीद्वारा बाँकेको स्थिति भयावह हुन नदिन निर्देशन


काठमाडौं ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँके जिल्लामा उत्पन्न पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आइतबार सम्पर्क गरी उनले नागरिकको जीवनरक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन समेत दिएका छन् ।

सीसीएमसीका संयोजक समेत रहेका उनले स्थिति भयावह हुन नदिनतर्फ बेलैमा कदम चाल्न निर्देशन दिँदै सीसीएमसीका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुने बताए । कुनै गम्भीर विषय भएमा सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सिधै सम्पर्क गर्न पनि उनले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले बाँके जिल्लाको वस्तुस्थितिका विषयमा जानकारी गराउँदै कोभिडका बिरामीको चाप अस्पतालहरूमा बढिरहेको, अस्पतालमा बेडको अभाव भएको, मेडिकल डाक्टरहरूको अभाव भएको तथा नेपाल मेडिकल कलेज कोहलपुरलाई कोभिड अस्पतालको रूपमा अगाडि बढाउने विषय प्रक्रियामै रहेको जानकारी गराएका थिए ।

उपप्रधानमन्त्री पोखरेलले यी सबै विषयमा तत्कालै सीसीएमसीका तर्फबाट सम्बोधन गरिने बताएका छन् । पोखरेलले कोरोनाका बिरामीको उपचारका लागि पूर्वाधार भएको ठाउँको पहिचान गरी तयारी गर्न, निजी अस्पतालका पूर्वाधारलाई सदुपयोग गर्न, अक्सिजनको पर्याप्त व्यवस्था गर्न समेत प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिएका छन् । साथै उनले नेपाल–भारत सीमा नाकामा होल्डिङ सेन्टरको व्यवस्थापनका विषयमा पनि जानकारी लिएका थिए ।

नेपालगञ्ज पुग्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली
नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकसतिहको टोली सहयोगको लागि नेपालगञ्ज पुगेको छ । प्रतिष्ठानका एनेस्थेसिया तथा क्रिटिकल केयर विभाग प्रमुख डा. प्रवीण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको छ सदस्यीय टोली नेपालगञ्ज पुगेको हो । टोली सोमबारदेखि भेरी अस्पतालको कोभिड वार्डमा खटिने बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहपछि प्रतिष्ठानका छ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोली भेरी अस्पतालमा खटिने भएको हो । इन्चार्ज गिरीसहित टोलीमा डा. अरुण श्रेष्ठ, डा. हरि न्यौपाने, नर्सहरू सुस्मिता खड्का, तेन्जिङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा रहेका छन् । सरकारले कोरोनाको उपचार र व्यवस्थापनका लागि अस्पतालमा इमडी टिम बनाएको छ ।

उक्त टिमले जहाँ अप्ठ्यारो पर्छ त्यहाँ पुगेर सहयोग गर्ने गर्छ । यो टिम निश्चित समयका लागि परिचालन हुनेगरेको छ । डा. गिरीको टोली नेपालगञ्ज रहेर १० देखि १४ दिनसम्म भेरीमा बसेर उपचारमा सहयोग गरिने बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया