Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनागरिक एपको शुभारम्भ

नागरिक एपको शुभारम्भ


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बहु सुविधासम्पन्न मोबाइल प्रणाली नागरिक एपको आइतबारबाट औपचारिक शुभारम्भ गरेका छन् । चौथो सूचना प्रविधि दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट प्रधानमन्त्री निवास बालुवाटारबाटै यसको शुभारम्भ गरेका हुन् ।

सम्भव भएका सबै सरकारी सेवालाई एउटै एप्सबाट दिलाउने उद्देश्यको यो एप गत माघ २ गतेदेखि बेटा भर्सनको रुपमा सुरु भएको थियो । बेटा भर्सनमै यो एप पाँच लाख २५ हजारभन्दा बढीले डाउनलोड गरेकोमा एक लाख ९१ हजारभन्दा बढी प्रयोगकर्ता दर्ता भइसकेका छन् ।

यसै अवधिमा तीन हजार जनाले नागरिक एपबाटै पुलिस क्लियरेन्स रिपोर्ट र १० हजार जनाभन्दा बढीले प्यान नम्बर लिइसकेका छन् । कार्यक्रममा कुनै पनि सेवा लिन नागरिकता, सबन्धित कागजात र फोटो लिएर सरकारी कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्न एवं छुट्टाछुट्टै वेबसाइट तथा एप प्रयोग गर्दा झन्झटिलो हुने भएका कारण एकीकृत रुपमा सेवा प्रवाह गर्न नागरिक एप ल्याएको जानकारी दिइएको थियो ।

नागरिक एप प्रणालीमा सम्बद्ध व्यक्तिका नागरिकता, राहदानी र मतदाता परिचयपत्रजस्ता आधारभूत विवरणहरु छन् । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषमा रहेको आफ्नो विवरण हेर्न सकिने सुविधा पनि यसमा छ । सरकारले जनताका गुनासा सुन्न सञ्चालन गरेको हेलो सरकारको सुविधा पनि छ । एसएलसी र प्ल–सटु तहका शैक्षिक विवरणसमेत एपमा रहनेछन् ।

पछिल्लो समय स्वास्थ्य बीमाकोे सुविधा पनि यसमा थपिएको छ । नागरिक एपको बेटा संस्करण सार्वजनिक भएदेखि नै स्थायी लेखा नम्बर लिन सकिने सुविधा रहेकोमा यसैबाट पुलिस क्लियरेन्स रिपोर्ट समेत दिन थालिसकिएको छ । प्रधानमन्त्रीले आइतबारबाटै सुरु गरिएको एप्सबाटै क्युआर कोड प्रयोग गरी बैंक खाता खोल्न सकिने प्रणालीको समेत सुरुवात गरेका छन् । उनले सो एपमार्फत आफ्ना विवरण पठाई नेपाल बैंक लिमिटेडमा आफ्नो खाता खोलेर यसको सुरुवात गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सूचना प्रविधिको प्रयोगले सार्वजनिक सेवा प्रवाहदेखि सामाजिक अन्तक्र्रिया समेतमा आधारभूत परिवर्तन आएको बताए । सेवालाई पेपरलस र फेसलेस (आफैं पुग्नुपर्ने झन्झटबाट मुक्त) बताउने भनाइ उनको भनाइ थियो । यसअघिको बेटा संस्करणमै उत्साह पूर्ण सहभागिता रहेको पनि प्रधानमन्त्रीले उल्लेख गरे ।

आगामी दिनमा अन्य सरकारी सेवा समेत एपमा थपिने बताउँदै उनले यसबाट सार्वजनिक सेवालाई भ्रष्टाचारमुक्त र जवाफदेही बनाउन समेत मद्दत गर्ने पनि बताए । ‘समृद्ध नेपालको आधार सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूलनाराका साथ मनाइएको सूचना प्रविधि दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उदाहरणीय काम गरेका सुधिर पराजुली, कुसुम लामा, हुआवे नेपाल र महालेखा नियन्त्रकको कार्यालयलाई यस वर्षको सूचना प्रविधि पुरस्कार दिइएको थियो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार

तपाईको प्रतिक्रिया