Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबिहीबारदेखि अन्तर्राष्ट्रिय उडान पनि बन्द

बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान पनि बन्द


काठमाडौं ।
कोरोना संक्रमण रोक्नको लागि भन्दै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायिक उडान बन्द गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि आन्तरिक उडान बन्द भएको छ भने बिहीबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द हुँदै छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीले मन्त्रिपरिषद्को निर्णयबमोजिम आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान बन्द गर्न लागिएको बताए । ‘कोरोना संक्रमणलाई ध्यान दिँदै अन्तर्राष्ट्रिय र आन्तरिक उडान बन्द गरेका हौँ’, प्रवक्ता अधिकारीले आर्थिक दैनिकसँग भने, ‘कोरोना महामारीको चेन ब्रेक गर्नको लागि सरकारले पछिल्लो निर्णय लिएको हो ।’

मन्त्रिपरिषद्को निर्णयअनुसार ‘आन्तरिक र अन्तर्राष्ट्रिय उडानको हकमा वैशाख २० गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म नियमित आन्तरिक हवाइ उडान स्थगन गर्ने, वैशाख २३ गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय हवाइ उडान स्थगन गर्ने, आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति जारी गर्नुपर्ने, चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने/जाने यात्रुहरूको बारकोड र फोटोसहितको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ।’

यस्तै ‘स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटेलमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्ने गरी नेपाल भारतबीच कायम एयर बबल सुविधाअन्तर्गतका दुईतर्फी उडानहरू हप्ताको दुईवटामा सीमित गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले होटेल क्वारेन्टाइनमा बसे नबसेको दैनिक अनुगमन गरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन गर्ने।

होटेल क्वारेन्टाइनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापदण्ड पालना नगरेको र क्वारेन्टाइनमा नबसेको पाइएमा संक्रामक रोग ऐन, २०२० बमोजिम मुकरर अधिकारीसमक्ष कारबाहीको लागि लेखी पठाउने र कुनै पनि उडानमा पीसीआर पोजेटिभ भएका यात्रुलाई बोर्डिङ पास दिई यात्रा गराएमा सो उडानका सबै यात्रुको क्वारेन्टाइन खर्च सम्बन्धित एयरलाइन्सले व्यहोर्ने व्यवस्था गर्ने’, मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

उनले उद्धार, कार्गो तथा चार्टर्ड विमान अर्थात् स्वास्थ्य सामग्रीलगायतका आवश्यक सामग्री लिएर आउने उडान भने हुने बताए । ‘आपत्कालीन विमानको हकमा रोकिने कुरा भएन यद्यपि चार्टर्ड तथा स्वास्थ्य सामग्रीलगायत अति आवश्यक सामग्री लिएर आउने विमानले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नेछन्’, प्रवक्ता अधिकारीले भने ।

यस्तै मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुरुप नेपाल–भारत उडान भने साताको दुईवटा हुने जनाएको छ। प्रवक्ता अधिकारीले नेपाल–भारत एयरबबलमार्फत हुने उडान भने साताको दुईवटा उडान हुने बताए । यसअघि भने नेपाल–भारतका दुई मुलुकका नागरिकलाई मात्र उडान भर्न दिने एयर–बबल अवधारणालाई नेपाल सरकारले दुई मुलुकबीचको उडानलाई निरन्तरता दिएको थियो ।

भारतमा कोरोना संक्रमण दर सुनामीसरह फैलिँदा पनि सरकारले नेपाल–भारत उडानलाई नियमित राखेको थियो । गत मंसिर दोस्रो साता भारतको आग्रहमा नेपालले दुई मुलुकका नागरिक मात्र आउजाउ गर्न नेपाल–भारत उडान खुला गरेको थियो । नेपालमा पनि कोरोना संक्रमणदर दिनहुँ बढेको छ । यसले कोरोना रोकथामलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले काम गर्नु आवश्यक छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया