Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचालक र कामदार मात्रै राखी आपूर्ति व्यवस्था सहज बनाइँदै

चालक र कामदार मात्रै राखी आपूर्ति व्यवस्था सहज बनाइँदै


काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञामा दैनिक अत्यावश्यक उपभोग्य खाद्यवस्तुहरूको आपूर्ति प्रणाली सहज बनाउने भएको छ । यसका लागि ढुवानीकर्ताले प्रमुख जिल्ला अधिकारी र आफ्नो संस्था दर्ता÷आबद्ध भएको संस्थाको प्रमुखलाई सम्बोधन गरी पठाएको पत्रको एक/एक प्रति ढुवानीकर्ता अर्थात् चालक र कामदार कर्मचारीले समेत राख्नुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले निषेधाज्ञामा दैनिक अत्यावश्यक उपभोग्य खाद्यवस्तुहरूको आपूर्ति प्रणाली सहज बनाउनको लागि प्रयोग गरिने सवारीसाधनबारे प्रमुख जिल्ला अधिकारी र आफनो संस्था दर्ता/आबद्ध भएको संस्थाको प्रमुखलाई जानकारी गराई ढुवानी सेवा सहज बनाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । योसँगै अत्यावश्यक उपभोग्य खाद्यवस्तुहरूको आपूर्ति प्रणाली सहज हुने मन्त्रालयले जनाएको छ ।

दैनिक अत्यावश्यक उपभोग्य खाद्य वस्तुहरूको आयात, ढुवानी, सञ्चय र वितरण गर्ने कम्पनी, उद्योग तथा संस्थाहरूले आयात, ढुवानी, सञ्चय र वितरण गर्नका लागि प्रयोग हुने सवारीसाधनको किसिम सहित संलग्न कामदार कर्मचारीहरूको नाम, ठेगाना र मोबाइल नम्बरको विवरण आफ्नो औपचारिक पत्रबाट प्रमुख जिल्ला अधिकारी र आफनो संस्था दर्ता/आबद्ध भएको संस्थाको प्रमुखलाई विद्युतीय माध्यमबाट जानकारी गराई सहज ढुवानी गर्न आग्रह गरेको छ ।

यस्तै मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र आफ्नो संस्था दर्ता/आबद्ध भएको संस्थाको प्रमुखलाई सम्बोधन गरी पठाएको पत्रको एक/एक प्रति चालक र कामदार कर्मचारीले आफ्नो परिचयपत्रसहित साथमा राख्नुको साथै उक्त कार्यका लागि प्रयोग गरिएको सवारीसाधनमा सबैले देख्ने गरी अगाडि भागमा ब्यानर राख्न आग्रह गरेको छ ।

यसैबीच दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरूको ढुवानी सेवाका लागि उपयोग गरिएको सवारीसाधनमा चालक र कामदार कर्मचारीबाहेक अन्य व्यक्ति भने राख्न पाइनेछैन । निषेधाज्ञामा अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधनहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिएपछि ढुवानीमा समस्या देखिएको थियो ।

मुलुकभर कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जिल्ला प्रशासन कार्यालयहरूबाट निषेधाज्ञा आदेश जारी भएकोले सर्वसाधारणलाई दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरूको आयात, ढुवानी, सञ्चय र वितरण गर्ने कार्यलाई नियमित बनाउन नेपाल सरकारका सम्बद्ध निकायहरू तथा निजी क्षेत्रमा संगठित छाता संगठनका प्रमुख तथा प्रतिनिधहरूको संयुक्त छलफलमार्फत मन्त्रालयले उक्त निर्णय गरेको हो ।

निषेधाज्ञामा अत्यावश्यक सामग्री ढुवानी गर्नेलाई प्रहरीले हस्तेक्षप गरेको थियो । बल्खु, कालीमाटीलगायत उपत्यकाको विभिन्न क्षेत्रमा पछिल्ला दिनमा ढुवानीका सवारीसाधन नियन्त्रणमा लिइएको थियो । योसँगै उपत्यका र यसआसपासका क्षेत्रमा अत्यावश्यक वस्तुहरूको ढुवानी तथा आपूर्ति प्रणालीमा समस्या आएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया