Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाबाट एकै दिन ५५ जनाको मृत्यु

कोरोनाबाट एकै दिन ५५ जनाको मृत्यु


काठमाडौं ।
नेपालमा कोरोना संक्रमणबाट एकै दिन ५५ जनाको मृत्यु भएको छ । यो संख्या अहिलेसम्मकै उच्च हो । कोरोना संक्रमितहरुलाई अक्सिजनको अभाव हुँदै गर्दा मृत्यु हुनेहरुको संख्यामा पनि वृद्धि हुनथालेको छ । यद्यपि सरकारले अक्सिजनको व्यवस्था गर्नसकेको छैन । सरकारले अक्सिजनका लागि विदेशको मुख ताके पनि अहिलेसम्म ल्याउनसकेको छैन । नेपालको दक्षिण छिमेकी भारतमै अक्सिजनको अभावमा दैनिक हजारौंको मृत्यु भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि सोमबार मात्र ३७ जना र आइतबार २७ जनाको मृत्यु भएको थियो । मृतकको संख्या बढेपछि काठमाडौंमा शव व्यवस्थापनमा समेत समस्या देखिएको छ । काठमाडौंमा वाग्मतीको किनारमा खाली ठाउँमा चिता बनाएर नेपाली सेनाले शव जलाउन थालेको छ । मृतकको संख्या वृद्धि हुँदै गएमा सामूहिक अन्त्येष्टिबाहेक अर्को विकल्प पनि सेनासँग हुनेछैन ।

नेपालमा मंगलबारसम्म तीन हजार चार सय १७ जनाको कोरोनाको कारण मृत्यु भएको छ । २०७८ सालको वैशाख महिना लागेपछि मात्रै तीन सय ५९ जनाको मृत्यु भइसकेको छ । मंगलबार देशभर सात हजार छ सय ६० जनामा कोरोनामा संक्रमण भएको छ । त्यसमध्ये काठमाडौं उपत्यकामा एकै दिन तीन हजार आठ सय ९३ जनामा कोरोना थपिएका छन् । तीमध्ये काठमाडौं जिल्लामा मात्रै दुई हजार सात सय ७९ जनामा कोरोना लागेको छ । त्यस्तै, ललितपुरमा पाँच सय १३ जना र भक्तपुरमा छ सय एक जनामा कोरोना लागेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया