Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना बिरामीको उपचार सहज बनाउन कैलालीका सीडीओलाई निर्देशन

कोरोना बिरामीको उपचार सहज बनाउन कैलालीका सीडीओलाई निर्देशन


काठमाडौं ।
कैलालीमा कोरोनाका बिरामीहरूले उपचार नपाएको, शव व्यवस्थापन नभएको जस्ता गुनासो आएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई कोरोनाको उपचार सहज बनाउन निर्देशन दिएका छन् ।

पोखरेलले मंगलबार रिजाललाई टेलिफोन गरी सङ्कटको अवस्था रहेकाले जनताले अनुभूति गर्नेगरी राज्यको उपस्थिति जनाउन, जनताको राहतको महसुस गराउन र सरकारले गरेका निर्णयलाई कार्यान्वयनमा निर्देशन दिएका हुन् ।

मन्त्रिपरिषद्ले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई सदूरपश्चिमको समन्वय गर्नका लागि तोकेको जानकारी गराउँदै उपप्रधानमन्त्री पोखरेलले समस्या परे सिधै आफूलाई अथवा सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सम्पर्क गर्न निर्देशन पनि दिए ।

उपप्रधानमन्त्री पोखरेलले सीमा नाकाको व्यवस्थापन, गेटा मेडिकल कलेजमा निर्माण होल्डिङ सेन्टर र कोरोना विशेष अस्पताल निर्माणका विषयमा भएका प्रगतिका बारेमा पनि सीडीओसँग जानकारी लिएका थिए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले गेटा मेडिकल कलेजमा करिब दुई हजार जना अट्ने होल्डिङ सेन्टर, कोरोना विशेष अस्पताल र आइसोलेसन सेन्टर बनाइरहेको जानकारी दिए । त्यसका लागि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई संयुक्त व्यवस्थापनको जिम्मा दिइएको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री पोखरेलले अक्सिजन ग्यासको दुरूपयोग रोक्नुपर्ने भन्दै धनगढीको अक्सिजन प्लान्टको क्षमता बढाउन आवश्यक परे सीसीएमसीले सहयोग गर्ने बताए । खाद्यान्न तथा अत्यावश्यक सामग्रीको ढुवानीबाहेक सीमामा आवातजावतमा कडाइ र निगरानी गर्न पनि उनले निर्देशन दिए ।

उपप्रधानमन्त्री पोखरेलले केही दिनअघि बाँकेका प्रमुख जिल्ला अधिकारीलाई पनि टेलिफोन गरी कोरोनाका बिरामीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया