Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘कोभिडपछिको अर्थतन्त्र झनै खराब’

‘कोभिडपछिको अर्थतन्त्र झनै खराब’

अर्थतन्त्र उकास्न सार्कका देशहरूको साझा नीतिमा जोड


काठमाडौं ।
कोभिड–१९ को दोस्रो लहरले नेपालको साथै समग्र दक्षिण एसियाकै अर्थतन्त्र झनै खराब हुने आकलन गरिएको छ । चाँडै यसको संकेत देखिने भन्दै यस क्षेत्रका अर्थमन्त्रीहरूले चिन्ता व्यक्त गरेका छन् । नेपालका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक परिदृश्यमा देखिने चुनौतीलाई समाधान गर्न यस क्षेत्रका देशहरूबीच साझा नीति र रणनीति आवश्यक रहेकामा समेत जोड दिएका छन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अर्थमन्त्रीहरूको अनौपचारिक बैठकलाई बुधबार सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिडले गर्दा पर्यटन, अन्य सेवाहरू र उत्पादन क्षेत्रमा गम्भीर असर पुगेको भन्दै साझा नीति र रणनीतिमा जोड दिएका हुन् ।

कोभिड–१९को महामारीले स्वास्थ, शिक्षा र मानवजीवनका समृद्धिका समग्र पक्षलाई निरन्तर प्रताडित बनाइरहेको उल्लेख गर्दै उनले जीवन र जनजीविकालाई बचाउन विश्वव्यापी ऐक्यबद्धता, सामूहिक प्रयत्न र सहयोग अपरिहार्य भएको बताएका हुन् ।

‘आर्थिक पुनरुत्थानको गतिलाई दीगो बनाउनको लागि साझा उद्देश्य र लक्ष्यसहित एकसाथ भएर हामी सबैले काम गर्नुपर्ने समय आएको छ’, अर्थमन्त्री पौडेलले भने, ‘रोजगारी सृजना र स्वदेशी उत्पादनमा अधिकरुपमा केन्द्रित भई आर्थिक क्रियाकलापहरू विगतभन्दा राम्रो निर्माणका लागि आवश्यक सहजीकरण गर्न आवश्यक नीति तथा रणनीति एकसाथ तय गर्नुपर्नेछ ।’

सार्क क्षेत्रले बजार र अर्थतन्त्रबीचको गहिरो अन्तराबद्धताको माध्यमबाट क्षेत्रीय समृद्धि हासिल गर्नसक्ने थुप्रै सम्भावना बोकेको भन्दै अर्थमन्त्री पौडेलले छोटो समयमा नै आर्थिक पुनरुत्थान गर्न सक्नेमा आशावादी रहेको धारणा समेत व्यक्त गरे ।

‘कोभिड–१९ को विस्तारित प्रभावले व्यक्तिको आम्दानी तथा रोजगारीमा व्यापक कटौती, व्यवसायमा ह्रास र मागमा आएको शिथिलतामा प्रतिविम्बित भएको देखिन्छ’, अर्थमन्त्री पौडेलले भने, ‘यसैगरी समावेशी वृद्धि, मानव विकास र गरिबी निवारणका प्रयासहरूमा चुनौती थपिदिएको छ ।

गरिब एवं जोखिम समूह बढी प्रभावित भएको देखिँदा यसले असमानताको खाडललाई अझ फराकिलो बनाउँदै लाने जोखिम विद्यमान छ । यसको समाधानका लागि सबै एकजुट हुनु आवश्यक छ ।’

अर्थमन्त्री पौडेलले समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारीको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नुपरेको भन्दै अर्थतन्त्रको उत्थानशीलता कायम गर्दै परिस्थितिलाई हरसम्भव वशमा राख्ने प्रयत्नका बाबजुद चुनौतीहरू धेरै रहेको बताए ।

अन्तर्सम्बन्धित वर्तमान विश्वका सबै ठाउँका सबै व्यक्ति सुरक्षित भएको सुनिश्चित गर्नु आवश्यक भएको धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले जनस्वास्थ्यमा आएको यस्तो संकटपूर्ण समयमा जीवन बचाउने खोपलाई विश्वकै अत्यावश्यक साझा वस्तुको रुपमा लिइनुपर्नेमा जोड दिए । उनले खोपको आपूर्तिमा सबै देशले सहजरुपमा पहुँच कायम गर्न सक्ने र खरिद गर्नसक्ने अवस्था सुनिश्चित गर्न अपरिहार्य भएको बताए । खोप उत्पादक देशहरूले मूल्यवृद्धि गरिरहेको बेला अर्थमन्त्री पौडेलले सबै देशले खोप खरिद गर्नसक्ने हुनुपर्नेमा जोड दिएका हुन् ।

कोभिड–१९ विरूद्धको खोपको उत्पादन र आपूर्तिका लागि भारत सरकारप्रति आभार प्रकट गर्दै अर्थमन्त्री पौडेलले त्यसले सार्क क्षेत्रभित्र खोप अभियान शीघ्ररुपमा सञ्चालन गर्ने प्रयासलाई सम्भव बनाएको धारणा समेत राखे ।

एसियाली विकास बैंकको ५४औँ वार्षिक बैठकको अवसरमा भर्चुअल माध्यमबाट सार्क अर्थमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरूको बैठक भएको हो । बैठक अर्थमन्त्री पौडेलको अध्यक्षतामा भएको अर्थमन्त्रीको सचिवालयले बुधबार जारी प्रेस नोटमा जनाइएको छ ।

अर्थमन्त्री पौडेलले कोभिड–१९ महामारीको सामना गर्न तथा आर्थिक प्रवद्र्धन लगायतमा विकासोन्मुख सदस्य देशहरूलाई वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराएकोमा एसियाली विकास बैंकलाई धन्यवाद दिए ।

बैठकलाई अफगानिस्तानका अर्थमन्त्री मोहम्मद खालिद पाइन्दा, बंगलादेशका अर्थ मन्त्रालयका अतिरिक्त सचिव मोहम्द खैरुजामन मोजुम्दर, भुटानका अर्थशास्त्र मामिलाका महानिर्देशक लेकजाङ दोर्जी, भारतका आर्थिक मामिला विभागका सचिव अजय सेठ, मालदिभ्सका अर्थमन्त्री इब्राहिम अमिरले सम्बोधन गरेका थिए ।

यस्तै पाकिस्तानका वित्त विभागका अतिरिक्त अर्थसचिव अविस मन्जुर सुम्राज्य, श्रीलंकका मुद्रा तथा पुँजीबजार र सार्वजनिक संस्थान सुधारका राज्यमन्त्री अजित निभर्त काब्राल, एसियाली विकास बैंकका उपाध्यक्ष सिसिन छनले सम्बोधन गरेका थिए ।

सार्कका महासचिव इसाला रुवान वीराकुन र एसियाली विकास बैंकका आर्थिक अनुसन्धान तथा क्षेत्रीय सहयोग विभागका प्रमुख अर्थशास्त्री यासुकी सावदाले कोभिड–१९ बाट आर्थिक पुनरुत्थान : समावेशी तथा उत्थानशील आर्थिक वृद्धि विषयमा छुट्टाछुट्टै प्रस्तुति गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया